स्कुटी गाइड

काठमाडौँ — बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली, सनी, स्कोर मन्दिर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्ट, गीता भवन र घण्टाघर धरानमा घुम्नैपर्ने स्थानहरू हुन् । यी धार्मिक तथा पर्यटकीय क्षेत्रहरू ‘नाइन्ट प्वाइन्ट’ का रूपमा चल्तीमा छन् । यी सबै स्थान दुई–तीन घण्टामै सरर स्कुटरमै घुम्न सकिन्छ ।

स्कुटी गाइड

त्यसका लागि चिटिक्क स्कुटर र गल्र्स गाइड तयार छन् । मूल्य पनि चर्को छैन । एक हजार रुपैयाँमा स्कुटरमा बसेर गल्र्स गाइडबाट जानकारी सुन्दै नाइन प्वाइन्टको चक्कर लगाउन पाइन्छ ।


खाद्य उत्पादक कम्पनीको मार्केटिङमा तीन वर्ष काम गरेकी २५ वर्षीया नीलम खड्का अहिले पार्ट–टाइमर गल्र्स गाइड हुन् । ‘मार्केटिङको अनुभवले पनि स्कुटी गाइडको काम गर्न सजिलो बनाएको छ,’ उनले भनिन्, ‘पहिला नचिनेका मान्छेलाई घुमाउन अलि अप्ठ्यारो लागेको थियो । तर, अहिले सबै ठीक छ । आफ्नो ठाउँका बारेमा जानकारी दिँदै पर्यटकलाई घुमाउन राम्रो लागिरहेको छ ।’
उनीसहित ६ जनालाई सेक्षा होटलले तालिम दिएर स्कुटी गल्र्स गाइडका रूपमा तयार गरेको हो । जेठदेखि कार्यरत उनीहरू पर्यटक आएका बेला बिहान ७ देखि १० बजेसम्म घुमाउँछन् । उनीहरू पर्यटकलाई घुमाउन सधैं त्यति व्यस्त पनि हुँदैन । त्यसैले उनीहरू अरू बेला आ–आफ्नै काम गरिरहेका हुन्छन् । नयाँ काम गर्न पाउँदा उनीहरू
खुसी छन् ।


होटल म्यानेजमेन्ट एन्ड टुरिजममा १२ कक्षाको परीक्षा दिएयताको फुर्सदमा सान्चेस लिम्बू पनि स्कुटी गाइड बनेकी छन् । ‘फुर्सदको समय सदुपयोग गरिरहेकी छु,’ २३ वर्षीया उनले भनिन्, ‘सानैदेखि नयाँ ठाउँ घुम्ने रहर थियो । स्कुटी गाइडको योजना नौलो लाग्यो र स्वीकार गरिहालें । अहिले स्कुटरमा पर्यटकलाई घुमाइरहेकी छु ।’ धरान भन्नेबित्तिकै जो कोही पनि आउन इच्छुक देखाउने गरेकाले पनि यस क्षेत्रमा स्कुटी गाइडको करियर राम्रो भएको उनले बताइन् ।


पर्यटन क्षेत्रमा महिलाको सहभागिता कम भएको अवस्थामा स्कुटी गाइडको अभियानले रोजगारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरिएको सेक्षा होटलकी सञ्चालक एलिना मगरले बताइन् । उनका अनुसार शोभा सुवेदी, सान्चेस सुब्बा, रूपा राई, नीलम खड्का, इशा श्रेष्ठ र दुर्गा मगर स्कुटी गाइडका रूपमा कार्यरत छन् । ‘धरान आउने पर्यटक छोटो समयमा सबै ठाउँ कसरी घुम्ने भन्ने समस्याको समाधान गरिदिएको छ,’ मगरले बताइन् ।
– सुम्निमा चाम्लिङ

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?