नेपाल चिनाउने एआई

ई–एग्रोभेट प्रयोग गरी बोटबिरुवामा लागेका रोग र त्यसको समाधान पत्ता लगाउन सकिन्छ । यसको क्यामरा इन्टरफेसका मद्दतले बोटको छिप्पिएको वा बिग्रिएको भागको फोटो खिचेपछि माइक्रोसफ्टको क्लाउड कम्प्युटिङ सेवा एज्योरमा अपलोड हुन्छ ।
विभु लुइटेल

काठमाडौँ — नेपाली विद्यार्थीहरु इडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठको टिम ‘सोचवेयर’ ले बनाएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप्लिकेसन ‘ई–एग्रोभेट’ माइक्रोसफ्ट इमेजिन कप २०१८ मा उत्कृष्ट ठहरियो ।

अमेरिकामा माइक्रोसफ्ट हेडक्वाटर्सको हलभित्र विभिन्न देशबाट पुगेका सयौं प्रतिस्पर्धी खचाखच भरिएका थिए । सबैको लक्ष्य एउटै थियो– माइक्रोसफ्ट इमेजिन कपको विजेता बन्ने । सबैले आफ्ना परियोजनाबारे बेलिविस्तार लगाइसकेपछि उद्घोषक बोले, ‘द विनर अफ आर्टिफिसियल इन्टेलिजेन्स क्याटेगोरी इज... ।’ सबै प्रतिस्पर्धीको मुहारमा एक प्रकारको बेचैनी स्पष्ट देखिन्थ्यो । यस्तो माहोलमा एसीयुक्त हल भए पनि सबैको निधारबाट चिट्चिट् पसिना बग्नु स्वाभाविक थियो । अनि उद्घोषक चिच्याए, ‘नेपाल π’ नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका इडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठलाई सुरुमा त विश्वास गर्नै गाह्रो पर्‍यो तर २५ जुलाई २०१८ को वास्तविकता त्यही थियो ।


यी तीनका लागि नेपालदेखि अमेरिकासम्मको यात्रा सहज भने थिएन । यसका लागि उनीहरूले निकै मिहिनेत गर्नुपर्‍यो । गत वर्ष काठमाडौंमा आयोजित इमेजिन कपमा नेपाली संस्करणको विजेता टोलीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाउने भनिएको थियो । यिनको टोली सोचवेयरले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप्लिकेसन ‘ई–एग्रोभेट’ उत्कृष्ट पाँचमा परेको थियो । मिलन थापा भन्छन्, ‘हामीले हार मानेनौं । अर्को वर्ष जित्ने संकल्प गर्‍यौं ।’

Yamaha


उनीहरूले निर्माण गरेको मोबाइल एप्लिकेसन ई–एग्रोभेट प्रयोग गरी बोटबिरुवामा लागेका रोग र त्यसको समाधान पत्ता लगाउन सकिन्छ । यसको क्यामरा इन्टरफेसका मद्दतले बोटको छिप्पिएको वा बिग्रिएको भागको फोटो खिचेपछि माइक्रोसफ्टको क्लाउड कम्प्युटिङ सेवा एज्योरमा अपलोड हुन्छ । त्यहाँ रहेका हजारौं तस्बिरसँग तुलना गरेपछि एप्लिकेसनले रोग र त्यसको रोकथाम विधिबारे सुझाव दिन सक्छ । नेपालजस्तो कृषिप्रधान देशमा कृषि र प्रविधि दुवैलाई अघि बढाउन यसले सहयोग पुर्‍याउने इडा बताउँछिन् ।
टिम सोचवेयरको यो पहिलो परियोजना भने होइन । यसअघि यिनले यही ढाँचामा ‘मसरुमेसन’ एप्लिकेसन निर्माण गरिसकेका छन् । च्याउ रोपिएको ठाउँको तापमान रेकर्ड गरी नियन्त्रण गर्न, कृषकलाई रोग नियन्त्रण विधि सिकाउन र च्याउ खेतीका क्रममा अत्यावश्यक पर्ने कार्य सम्झाउने एप्लिकेसन यिनले केही वर्षअघि निर्माण गरेका थिए । तर, च्याउ खेती गर्नेभन्दा अन्य किसानका संख्या धेरै भएकाले त्यो परियोजनालाई बीचमै छोड्नु पर्‍यो ।


गत वर्ष राष्ट्रिय प्रतिस्पर्धाको उत्कृष्ट पाँचमा मात्र पुगेका सोचवेयरले यसपालि पहिलो हुने सपना बुनेका थिए । तर, यो साल प्रतियोगिता नै भएन । इच्छुकले सिधै माइक्रोसफ्टको वेबसाइटमा आफ्नो परियोजना दर्ता गरे पुग्ने भयो । सोचवेयरले त्यही गर्‍यो । दर्ता गरेको केही दिनमै सो परियोजना एसियाली स्तरमा प्रतिस्पर्धाका लागि योग्य भएको इमेल आयो । कार्यपत्र बुझाएर परियोजना सोचवेयरले दर्ता गरे पनि एप्लिकेसन पूरा गरिएको थिएन । आइडिया उत्कृष्ट भएका भरमा सोचवेयरको छनोट भएको थियो । एसिया लेभलको प्रतिस्पर्धा हुन बाँकी रहेको पन्ध्र दिनमा दिन–रात, भोक–तिर्खा नभनी एप्लिकेसन निर्माण पूरा गरिएको थियो ।


क्वालालम्पुरमा भएको १५ टिमको प्रतियोगिताबाट ‘वल्र्ड फाइनल्स’ मा नेपाल र श्रीलंका छनोट भए । धेरै वर्ष अध्ययन–अनुसन्धानपछि बनाइएका एआईका उच्चस्तरीय च्याटबोट र अन्य सुविधाजन्य एप्लिकेसनलाई उछिन्दै नेपालमा निर्मित यो कृषिमैत्री एप्लिकेसन एसियाकै उत्कृष्ट बन्यो ।


अमेरिकामा तय भएको वल्र्ड फाइनल्सका बेला त्रिभुवन विश्वविद्यालयको बोर्ड परीक्षा परेले उनीहरू समस्या परे । शिशिर सुनाउँछन्, ‘परीक्षा पछि दिए पनि हुन्छ । तर, यस्तो मौका घरीघरी आउँदैन । अमेरिका जानुबाहेक मसँग अरू विकल्प नै थिएन, देश चिनाउने योजस्तो राम्रो अवसर विरलै पाइन्छ ।’ उनले परीक्षा दिएनन्, बाँकी दुई पनि फेल भए । तर उनीहरू आ–आफ्ना कलेजमा सम्मानको पात्र बनेका छन् ।


वल्र्ड फाइनल्सको एआई विधामा ई–एग्रोभेटले जित्ने आशा कमै थियो । हात नभएका व्यक्तिका लागि बनाइएको एआई जडित स्मार्ट आर्म, बच्चा किन रोइरहेको छ भनी उसको अनुहार हेरेर पत्ता लगाउने एआई उपकरण, थ्रीडी कलर एक्सरे, आवाज सन्तुलन गरी सुन्न मिल्ने हियरिङ एडजस्ता एप्लिकेसनसँग ई–एग्रोभेटको प्रतिस्पर्धा थियो । तर, १५ हजार अमेरिकी डलरको उक्त पुरस्कार सोचवेयरका तीन युवाले पोल्टामा पारे ।


पुरस्कार जितेपछि उनीहरूलाई चुनौती पनि थपिएको छ । ‘सुरुमा त सबै ब्याकपेपर पूरा गर्नु छ,’ इडा सुनाउँछिन्, ‘त्यसपछि यस एप्लिकेसनलाई थप सुदृढ बनाएर धेरै बोटबिरुवाका डाटा थप्दै जानु छ । अनि, किसान–किसानको घरदैलोमा ई–एग्रोभेटको उपयोगिता र प्रयोग गर्ने विधि सिकाउनुपर्ने छ । सबै किसानका हातमा मोबाइल फोन नहुनु अर्को चुनौती हो । त्यसका लागि उसले प्रयास गरिरहेको छ ।


बोटबिरुवाको डाटा संकलन गर्न अर्को झन्झट छ । ‘खाद्य तथा कृषि संगठनले संकलन गरेको डाटा त छ । तर, हामीले खोजेका सबै पक्ष त्यसमा समेटिएका छैनन्,’ शिशिरले दुखेसो पोखे । तर, उनी हार मान्नेवाला छैनन् । कृषि मन्त्रालय तथा अन्य स्थानीय कृषि निकायमा एप्लिकेसन प्रदर्शनी गर्न लगेका बेला धेरैले पत्याएनन् । कारण, मानिसले गर्न नसक्ने काम एउटा मोबाइल उपकरणले गर्न सक्छ भन्ने कसैलाई लागेको थिएन । तर, केही बोटबिरुवामा यसको सफल परीक्षण भइसकेपछि हाललाई भने त्यहाँका प्रमुख यस एप्लिकेसनप्रति सकारात्मक देखिएका छन् । एप्लिकेसनको सार्थकता सिद्ध गर्न चुनौतीको थुप्रो नै छ । तर भन्छन्, ‘सहज छैन । तर, असम्भव पनि छैन ।’

twitter : @LuitelBibhu

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सगरमाथा र शेर्पाहरू

केही सहयोग चाहियो भने अपरिचित मानिससमेत तयार हुने । त्यस्ता मानिस र समाज सायदै भेटिन्छ । मलाई त अर्कै दुनियाँमा पुगेजस्तो भयो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतकी १७ वर्षीया शिवांगी पाठकले चार महिनाअघि विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । यी कान्छी आरोहीका नेपाल अनुभवबारे सुरेशराज न्यौपाने लेख्छन् :

घाँटीमा रुद्राक्षको माला । ‘काठमाडौंको पशुपतिनाथ मन्दिरको प्रसाद’ कुराकानीको सुरुमै आफूले लगाएको माला देखाउँदै उनले भनिन् । भारतको हरियाणा, हिसारकी शिवांगी पाठक । कसरी गाँसियो १७ वर्षीय भारतीय किशोरीको नेपाल र काठमाडौंसँग सम्बन्ध ?


शिवांगीमा सानैदेखि अरूभन्दा केही फरक गर्ने रहर थियो र केही साहसिक पनि । हिमाल चढ्ने काम सबैभन्दा फरक र साहसिक लाग्न थाल्यो उनलाई । विस्तारै हिमालका बारेमा चासो दिन थालिन् । त्यसमा आधारित सिनेमाहरू खोज्दै हेर्न थालिन् । तब बल्ल उनले थाहा पाइन्, हिमालहरूको त आरोहण पनि हुन्छ भन्ने । ‘तेन्जिङ र हिलारीका बारे पनि थाहा पाएँ । त्यसपछि त मनमा एउटा अठोट नै बनाएँ एभरेस्ट चढ्ने,’ उनले सम्झिइन् । अनि उनले आफ्नो निष्कर्ष सुनाइन्– बाआमालाई सगरमाथा चढ्ने ।


न हिमाल चढेको अनुभव छ न कुनै तालिम । एकैपटक विश्वको सबैभन्दा अग्लो हिमाल चढ्ने छोरीको कुरा सुनेर उनीहरूलाई पत्याउन गाह्रो भयो । सुरुमा सम्झाए र हप्काए पनि । तर, बाबुआमाको केही लागेन, शिवांगीले जितेरै छाडिन् । मंसिर २०७३ को उक्त निर्णयसँगै सुरु भयो ‘मिसन सगरमाथा’ । त्यतिबेलासम्म उनीसँग आरोहणको आधारभूत ज्ञानसमेत थिएन । त्यसैले उनी दार्जिलिङ, सिक्किम, जम्मु–कश्मीर, लद्दाकलगायतका ठाउँहरूमा तालिम लिन पुगिन् ।


करिब दुई वर्षको तयारीपछि शिवांगी गत वर्ष १८ चैतमा काठमाडौं ओर्लिइन् । काठमाडौं पुगेको केही दिनमै आरोहणसम्बन्धी एजेन्सीले उनका लागि दुई जना शेर्पा खटाइदियो दावा र नोर्बु । सगरमाथा चढ्ने मिति तय भयो, ३१ वैशाख २०७५ । आरोहणबारे जिज्ञासा राख्नासाथ उनको मुहारमा बेग्लै खुसी झल्कियो । लुक्ला विमानस्थल विश्वकै सबभन्दा डरलाग्दो भन्नेचाहिँ सुनेकी थिइन् उनले । लुक्लामा अवतरण गर्दाको अनुभवले त्यस्तै भएको उनले सुनाइन्, ‘जहाजले ग्राउन्ड छोएर केहीबेर गुडेपछि सिधै भित्तामा ठोकियो जस्तो भयो । तर, अचानक अर्कोतर्फ मोडिँदा निकै खुसी भएँ ।’


लुक्लामा दुई दिन बसेपछि शिवांगीको टिम उकालो लागे । बाटोमा पर्ने नाम्चे बजार र त्यहाँको सम्पन्नता देखेर उनलाई अहिले पनि ईष्र्या जाग्छ, ‘त्यति उचाइमा पनि त्यस्तो सुन्दर र विकसित सहर । त्यहाँ नपाउने कुरा के पो छ होला र १ त्यस्तो उचाइमा पनि हरेक सुविधा ।’ त्यसैगरी आधारशिविरतर्फ उक्लिँदाका रमाइला क्षणहरू सम्झिँदा पनि शिवांगीलाई अहिले बेग्लै आनन्द मिल्छ, ‘एउटा बेग्लै र सुन्दर दुनियाँ ।’


तर, खुम्बु आइसफल तरिसक्दा केही असहज परिस्थिति सिर्जना भयो । पहिलो शिविर पुग्दा नपुग्दै उनलाई असहज हुन थाल्यो । कमजोरी त आधारशिविर छाडेदेखि नै सुरु भएको थियो । ‘त्यतिबेला मेरा सपना हेर्दाहेर्दै टुट्न थाले भन्ने अनुभूति भएको थियो । माथि उक्लिएँ भने बाँचेर फर्कने सम्भावना थिएन । यति नजिक आएर पनि फर्किउँ कसरी ? त्यस्ता प्रश्न मनमा खेल्न थालेको थियो’ उनले भनिन् । बिरामी भएपछि एजेन्सीले पनि फिर्ता हुन भनिसकेको थियो । तर, शेर्पा ‘दाइ’ हरूलाई ‘बहिनी’ को आत्मविश्वासमाथि भरोसा थियो । उनीहरूले शिवांगीकै लागि पहिलो शिविरमै एक दिन आराम गर्ने निर्णय गरे र शिखरमा पुग्ने मिति एक दिन पर सारे । भोलिपल्ट उनको स्वास्थ्यमा निकै सुधार भयो । त्यसपछि उनीहरू जोस–जाँगरसहित अगाडि बढे ।


१ जेठ, आरोहणको निर्णायक दिन । त्यस दिन बिहान ६:४० बजे शिवांगीको टोली तेस्रो शिविरबाट माथि उक्लियो । उनीहरू चौथो शिविर पुग्दा साँझको साढे ६ बजिसकेको थियो । २ जेठ २०७५ बिहान ८:२१ बजे शिवांगीले बुनेको आफ्नो खुसीका लागि केही फरक गर्ने सपना साकार भयो । साथै त्यही क्षणमा उनी भारतकी सबैभन्दा कान्छी सगरमाथा आरोही पनि बनिसकेकी थिइन् । ‘मेरो जीवनको एउटा ठूलो लक्ष्य र सपना साकार भएको क्षण थियो त्यो,’ आरोहणका तस्बिरहरू पल्टाउँदै भनिन् ।


शिखरमा पुग्नासाथ सबैभन्दा पहिले आफ्नो देशको झन्डासँग र पछि दावा र नोर्बुले ल्याएको नेपालको झन्डा लिएर फोटो खिचाएकी थिइन् । अनि नियाल्न थालिन् वरिपरि । ‘समुद्रमा जता हेर्‍यो त्यतै समुद्र देखिएजस्तै त्यहाँबाट हेर्दा चारैतिर हिमालै हिमाल । सानादेखि ठूलासम्म । मनास्लु, कञ्चनजंघा,’ करिब ४० मिनेट शिखरमा बस्दाको क्षण सम्झँदै भनिन्, ‘ल्होत्से त छेउमै रहेछ । यसो हेर्दा उफ्रिएर त्यहाँ जाउँजस्तो, त्यति नजिक ।’


सगरमाथा शिखरमा पुग्नुभन्दा पनि ओर्लनु थप कठिन मानिन्छ । उनलाई त्यस्तै भयो । अक्सिजनको सिलिन्डर रित्तिँदै थियो । शरीर कमजोर बन्दै गएको थियो । चाँडोभन्दा चाँडो उनीहरूलाई चौथो शिविर पुग्नु थियो । हिलारी स्टेप सुनेजस्तै गाह्रो लाग्यो उनलाई । ‘त्यतिबेला मलाई निकै डर लागेको थियो । जिउँदै फर्किन सक्दिन भन्ने भएको थियो तर, सकिनसकी दावा दाइलाई पछ्याएँ,’ उनले सम्झिइन्, ‘चौथो शिविर पुगेपछि मात्र ढुक्क भएँ ।’


करिब दुई महिनापछि स्वदेश फिर्दा शिवांगीसँग सगरमाथा आरोहणको कीर्तिमानसँगै नेपालसँग जोडिएका अन्य थुप्रै लोभलाग्दा ‘याद’ हरू पनि साथमा थिए । नेपालको प्राकृतिक सुन्दरता, काठमाडौं सहर र शेर्पा ‘दाइ’ हरूबाट विशेष रूपमा प्रभावित भएको शिवांगी स्विकार्छिन् । उनलाई दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेको केही घण्टामै काठमाडौंले लोभ्याउन थालिसकेको रहेछ । गुडगाँवकी यी किशोरी त्यसअघि न कहिल्यै नेपाल गएकी थिइन् न उनलाई नेपाल र काठमाडौंका बारेमा खासै जानकारी नै थियो । कतिसम्म भने उनलाई नेपालमा पाउन गाह्रो हुन्छ। त्यसैले चाहिने जति सबै सामान लिएर जानुसमेत भनिएको रहेछ । ‘म त चकित भएँ । पर्वतारोहणसम्बन्धी सामानहरू त त्यहाँ नपाउने केही रहेनछ । त्यो पनि एकसे एक अन्तर्राष्ट्रिय ब्रान्डका । मूल्य पनि उस्तै । किन होला नेपालका बारेमा त्यस्तो गलत प्रचार गरिएको ?’ उनले आश्चर्य व्यक्त गरिन् ।
ठमेलको बसाइ र पशुपतिनाथ दर्शनको क्षणलाई पनि उनी जीवनकै अविस्मरणीय मान्छिन् । ‘भगवान्कै समीपमा पुगेजस्तो । जताततै पूजा भइरहेको । भक्तजनहरूको भीडा । मन्दिरको अगाडि रहेको भगवान् शिवको बाहन नन्दीको ठूलो मूर्ति देखेर निकै रमाइलो लाग्यो,’ आफूले लगाएको रुद्राक्ष देखाउँदै भनिन् । यसबाहेक काठमाडौंको ‘कुल’ साँझले पनि उनलाई बेग्लै आनन्द दिएछ । दरबार मार्गमा राति अबेरसम्म पनि निष्फिक्री सयर । महिला र युवतीहरू मध्यरातमा पनि निर्बाध ढंगले घुमिरहेको देखेर उनलाई सुरुमा त विश्वास नै भएन । त्यस्तो लाग्नु स्वाभाविक पनि थियो । किनकि उनको देश भारत अझ दिल्लीमा त्यसरी हिँड्ने कल्पना पनि गरिँदैन । गाडीको हर्न पनि करिब शून्य बराबर ।


‘केही सहयोग चाहियो भने अपरिचित मानिससमेत तयार हुने । त्यस्ता मानिस र समाज सायदै भेटिन्छ,’ शिवांगीले नेपाल अनुभव सुनाइन्, ‘मलाई त अर्कै दुनियाँमा पुगेजस्तो भयो ।’ आरोहणका तस्बिर केलाउने क्रममा आफ्ना शेर्पा दाइहरूप्रति मात्र होइन, सम्पूर्ण शेर्पाहरूप्रति आफ्नो श्रद्धा र सम्मान रहेको उनले बारम्बार दोहोर्‍याइन् ।


‘सगरमाथा चढ्नका लागि त उहाँहरू भगवान्को दूत नै हो । आरोहण गर्न सक्ने र नसक्ने उहाँहरूकै हातमा हुन्छ । उहाँहरूमा जसरी भए पनि सफल होस् भन्ने भावना रहेको पाइयो,’ आफ्नो सफलताको श्रेय शेर्पाहरूलाई दिँदै भनिन्, ‘२० केजी बढीको भारी बोकेर सामान्य अवस्थाजस्तै हामीसँग बोलिरहेका थिए। मैले त तपाईंहरू मान्छे होइन, अर्कै ग्रहको प्राणी भन्थें ।’
दावा र नोर्बु दुई ‘दाइ’ को साथ त उनका लागि विशेष रह्यो । उक्लँदै जाँदा उनी कहिलेकाहीँ हतास पनि भइन् । तर, दावा र नोर्बुले शिवांगीको हौसलालाई डगमगाउन दिएनन् । पहिलो शिविरमा बिरामी हुँदा शेर्पा दाइहरूले गरेको हेरचाह त उनी कहिल्यै भुल्न नसक्ने बताउँछिन् । ‘त्यतिबेलामा निर्णय लिन कम्ती गाह्रो थिएन । तर, उहाँहरूले मलाई हरेस खान दिनुभएन ।’ शिवांगीले सुनाइन्, ‘त्यो बेला दाइहरूले मेरो आमाकै भूमिका निभाउनुभयो ।’


‘आफ्नी बहिनी र छोरीलाई जस्तै ख्याल गर्नुहुन्थ्यो । मलाई राति निद्रा लागेन भने आमाले जस्तै सुताउनु हुन्थ्यो,’ उनले भनिन् । उक्लिँदै जाँदा शिवांगीलाई खान मन लाग्न छाडेको थियो । तर, दाइहरूले उनलाई फकाएर हुन्छ कि थर्काएर सकेसम्म खुवाउने कोसिस गर्थे । उकालो हिँड्दा प्यास लागेपछि चिसो पानी पिउन खोज्दा बिरामी परिन्छ भनेर उनलाई हप्काउँथे उनीहरू ।


पहिलो शिविरमा छुटेका सामान लिनका लागि दावा र नोर्बुलाई फेरि माथि उक्लिनुपर्ने भएपछि आधारशिविरबाटै छुट्टिनुपर्‍यो यी ‘दाजु–बहिनी’ लाई । किनकि शिवांगीको काठमाडौं फर्कने कार्यक्रम यसअघि नै तय भइसकेको थियो । एकाएक छुट्टिनुपर्दा तीनै जनाका गह भरिएर आए । ‘आफ्ना अभिभावकबाट छुट्टिएको जस्तो भयो मलाई,’ शिवांगीले भनिन्, ‘खोइ के मोहनी लगाए नेपाल, नेपाली र शेर्पा दाइहरूले ? बारम्बार गइरहुँजस्तो लाग्छ ।’ उनले नेपालकै अर्को शिखर धौलागिरि आरोहणको योजना बुन्न थालिसकेकी छन् ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT