कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विदेशीमाझ बालगोपाल

काठमाडौँ — बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप २०१८ मा दक्षिण एसियाली सात देशले प्रतिस्पर्धा गरिरहेका छन् । यसमा सहभागी सात देशका प्रशिक्षक कस्ता छन् त ? हिमेश वज्राचार्य लेख्छन् :

विदेशीमाझ बालगोपाल

बालगोपाल महर्जन नेपाल
साफ च्याम्पियनसिप २०१८ मा सहभागी जति पनि टिम छन्, त्यसमध्ये नेपाल छाडेर सबैका प्रशिक्षक विदेशी छन् । खालि नेपालकै मात्र स्वदेशी । यी भाग्यमानी प्रशिक्षक हुन्, बालगोपाल महर्जन । उनको नाममा रहेको छ, नेपालले हात पारेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता सोलिडारिटीकप । जापानी प्रशिक्षक ग्योतुकी कोजुले टिम सम्हाल्ने स्थिति नरहेपनि बालगोपालले अवसर पाएका हुन् । राष्ट्रिय टिमका पूर्वखेलाडी तथा कप्तान यी प्रशिक्षक लामो समयदेखि कुनै न कुनै रूपमा नेपाली फुटबलसँग आबद्ध छन् । उनका लागि यसपल्टको साफ च्याम्पिनयसिप व्यक्तिगत रूपमा ठूलो उपलब्धि हो, मुख्य प्रशिक्षक हुन पाउनु ।


जेमी डे बंगलादेश
सबैभन्दा हाई प्रोफाइल प्रशिक्षकमा पर्छन्, बंगलादेशका जेमी डे । कुनै समय उनलाई इंग्लिस फुटबलकै भविष्य मानिएको थियो र उनले यू–१८ स्तरसम्म इंग्ल्यान्डको प्रतिनिधित्व पनि गरे । उनले आर्सनलसँग पनि अनुबन्ध गरे । पछि उनले आफ्नो खेल जीवनलाई त्यसरी अगाडि बढाउन सकेनन्, जसरी उनको अपेक्षा थियो । पछि प्रशिक्षक भए र अहिले बंगलादेशी टिमका प्रमुख छन् । इंग्ल्यान्डका केही तल्लो डिभिजनका क्लब हेरेर उनी बंगलादेश आएका हुन्, मे महिनायता । साफ च्याम्पियनसिपमा बंगलादेशका लागि राम्रो गर्नु नै उनको एक मात्र उद्देश्य रहनेछ, यसमा दुई मत छैन ।


जोस एन्टोनियो पाकिस्तान
निकै अनुभवी छन्, पाकिस्तानका प्रशिक्षक जोस एन्टोनियो । यसअघि उनले साउदी क्लब अल–अहिल सम्हालेका थिए । यसअघि इक्वेडर र ब्राजिलका क्लब पनि सम्हालिसकेका छन् । पछिल्लो अप्रिलमा मात्र उनलाई पाकिस्तानी टिमको जिम्मा दिइएको थियो र यो आफैंमा निकै महत्त्वाकांक्षी थियो । पाकिस्तान साढे दुई वर्षपछि औचापरिक रूपमा विश्व फुटबलमा फर्केको थियो र यसैका लागि टिम तयारीको जिम्मा पाएका हुन्, एन्टोनियोले । उनको एउटा चर्चित भनाइ बाहिर आएको छ, ‘मेरो पहिलो उद्देश्य भन्नु नै खेलाडीलाई फुटबल खेल्न सक्छु भन्ने विश्वास जगाउनु हो ।’


ट्रेभर मोर्गन, भुटान
अर्का अनुभवी प्रशिक्षकमा पर्छन्, भुटानका ट्रेभर मोर्गन । उनले धेरै फरक–फरक क्लब सम्हालेका छन्, जस्तो इंग्लिसदेखि अस्ट्ेर्रलिया, भारत, सिंगापुर, मलेसिया र हङकङसम्म । अहिले भने उनको जिम्मेवारीमा छ, भुटानको । उनै भाषामा भुटानी टिम सम्हाल्ने निर्णय धेरै अर्थमा रोमाञ्चित छ । खेलाडी छँदा औसत मोर्गनले सुरुमा भारतको इस्ट बगाल पनि सम्हालेका थिए । दुई फरक अवसरमा पश्चिम बंगालको यस चर्चित क्लब हेरेका छन्, उनले । निकै छिटो छिटो बोल्न रूचाउन मोर्गनको दाबी छ, भुटानी फुटबलले विस्तारै राम्रै प्रगति गरिरहेको छ र चाँडै यो राम्रै शक्ति बन्ने छ, दक्षिण एसियामा ।


स्टेफेन कन्सटाइनटिन, भारत
कुनै समय नेपालकै प्रशिक्षक थिए, यी आर्सनल समर्थक स्टेफेन कन्सटाइनटिन । उनले पनि धेरै देशका टिम सम्हालिसकेका छन् । भारतमा भने उनी लामो समयदेखि प्रशिक्षक छन्, सन् २०१५ देखि । उनी नेपालको प्रशिक्षक हुनु पाउनुलाई आफ्नो खेल जीवनकै सबैभन्दा निर्णायक मोड मान्छन् । अहिले भने उनी भारतका हाई प्रोफाइनल प्रशिक्षक हुन् । उनको नेतृत्वमा भारतले राम्रै प्रगति पनि गरेको छ, विश्व फुटबल । विशेषत: फिफा वरीयतामा भारतको प्रगति उल्लेखनीय छ । भारतले अब उनकै नेतृत्वमा सन् २०१९ को एसियाकप खेल्नेछ, जुन भारतीय फुटबलका लागि ठूलो परीक्षा सावित हुनेछ ।


निजाम पेकर अली, श्रीलंका
कुनै समय श्रीलंकाली फुटबलमा राम्रै चहलपहल हुन्थ्यो र टिमको प्रदर्शन पनि ठीकै हुन्थ्यो । तर पछिल्लो समय श्रीलंकाली फुटबल ओरालो लागेको छ । यसबाट मुक्ति दिलाउने प्रयासमा छन्, निजाम पेकर । सन् २०१८ को सुरुमा उनले श्रीलंकाली टिम हेर्न थालेका हुन् र यसक्रम उनको पहिलो ठूलो प्रतियोगिता रहेको छ, यही साफ च्याम्पिनसिप २०१८ । श्रीलंका आउन अगाडि उनी बंगलादेशमै थिए र उनले केही ठूला क्लब सम्हाले । यसपल्ट भने उनको चुनौती धेरै छन्, श्रीलंकाली फुटबललाई कसरी माथि उठाउने भनेर । बंगलादेशमा श्रीलंकाको प्रदर्शनले उनको भविष्य धेरै हदसम्म निर्धारण गर्नेछ ।


पेटर सेगरट, माल्दिभ्स
दक्षिण एसियाली फुटबललाई नजिकबाट हेर्ने अवसर पाएका प्रशिक्षकमा पर्छन्, क्रोएसियामा जन्मेर जर्मन बनेका पेट सेगरटको । पछिल्लो समय माल्दिभ्स फुटबलले राम्रै प्रगति गरेको छ, तर यसमा उत्तिकै अवरोध पनि आउने गरेका छन् । आजभोलि माल्दिभ्सको फुटबलमा आन्तरिक कलह व्यापक छ । यसैबीच उनले टिम सम्हालेका छन्, मार्चयता । जर्जिया र अफगानिस्तानको राष्ट्रिय टिम हेरिसकेका सेगरटका लागि पनि ठूलो परीक्षाका रूपमा रहेको छ, साफ च्याम्पियनसिप २०१८ । उनको लक्ष्य नै हो, माल्दिभ्सको फुटबलमा फेरि पुराना सम्झनालायक दिन फर्काउने ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?