पाइलाको फड्को

दरबारमार्गको नौलो रेस्टुराँका वेटर रोबोट र दरबारमार्गकै एसबीआई बैंकमा आगन्तुकलाई स्वागत गर्न राखिएका रोबोटको केही समययता निकै चर्चा भइरहेको छ । तिनको निर्माण यही पाइला टेक्नोलोजीले गरेको हो ।
विभु लुइटेल

काठमाडौँ — पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीद्वारा स्थापित ‘पाइला’ ले रोबोट उत्पादन गरेर स्थानीय बजारमा ल्याइसकेको छ । विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा पनि प्रतिस्पर्धा गर्दैछ ।

कला क्षेत्रमा काम गर्ने स्टार्टअपदेखि नेपालमा उपलब्ध स्रोत–साधन प्रयोग गरी सामान उत्पादन गर्नेसम्मका दर्जनौं कम्पनीले अन्तर प्रेरणाद्वारा अघिल्लो साता आयोजित सिर्जनशील बिजनेस प्रतियोगितामा सहभागिता जनाएका थिए । सबै एकसेएक अब्बल, सबैका परियोजना विश्व बजारमा तहल्का पिट्ने खालका थिए । यसमाझ परियोजनामध्ये पाइला टेक्नोलोजी सर्वोत्कृष्ट ठहरियो । विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा प्रतिस्पर्धा गर्नेछ ।


दरबारमार्गको नौलो रेस्टुराँका वेटर रोबोट र दरबारमार्गकै एसबीआई बैंकमा आगन्तुकलाई स्वागत गर्न राखिएका रोबोटको केही समययता निकै चर्चा भइरहेको छ । तिनको निर्माण यही पाइला टेक्नोलोजीले गरेको हो । उच्चस्तरीय रोबोट हेर्दा लाग्न सक्छ, वर्षौंको अनुभवले खारिएका वैज्ञानिकको हात यसमा छ । तर, यसका पछाडि दुई वर्षअघि मात्र पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका केही होनहार युवा छन् । यिनले निरन्तरको मिहिनेत र लगनबाटै अनुभवीसरह आफूलई सिद्ध गरिदिएका छन् ।

Yamaha


‘क्याम्पसको क्यान्टिनमा खाजा खाँदा आएको आइडियालाई वास्तविकतामा परिणत गरेका हौं,’ दुई वर्षअघि स्थापित पाइलाका सञ्चालकमध्ये एक दीपकमल भुसाल बताउँछन् । पुल्चोक क्याम्पसमा छुट्टै रोबोटिक्स क्लब नै छ । यहाँ उपलब्ध सीमित स्रोत–साधन प्रयोग गरी विद्यार्थी आफैं सिक्दै रोबोट बनाउँछन् ।


कोही विदेश जाने क्रममा थिए त कोही ठूल्ठूला कम्पनीमा जागिर खोजिरहेका थिए । आर्टिफिसियल इन्टलिजेन्स (एआई) र रोबोटिक्सको नशाजस्तै भइसकेको सात जना युवाले भने विदेशलाई विकल्पका रूपमा कहिल्यै देखेनन् । अनि, नेपालमा धराशायी अवस्थामा रहेको रोबोटिक्स क्षेत्रमा कसैले जागिर दिन्छ भन्ने पनि थिएन । त्यसैले आफ्नै कम्पनी खोले । हालसम्म पाइलाले रोबोटिक्सका विभिन्न आयामका अध्ययन–अनुसन्धानमा एक करोडभन्दा बढी खर्च गरिसकेका छन् । दीपकमल भन्छन्, ‘अहिलेसम्म नाफा त भएको छैन । तर, आस मारिहाल्ने अवस्था पनि छैन ।’


एसबीआई बैंकमा रहेको ‘परी’ नामक रोबोटले ढोकाबाट पस्नेबित्तिकै जोकोहीलाई पनि नमस्कार गर्छ, निस्कन लागेकालाई धन्यवाद ज्ञापन गर्छ । यतिमात्र नभएर त्यसमा जडित स्क्रिनको प्रयोग गरी बैंकिङका विधि जान्न सकिन्छ । नौलो रेस्टुराँमा रहेको ‘जिन्जर’ नामक रोबोटलाई पाइलाका अर्का संस्थापक विनय राउत विश्वकै उत्कृष्ट वेटर रोबोट भन्न रुचाउँछन् । उनी अरूको रेस्टुराँमा रोबोट परीक्षण गर्न आइपर्न सक्ने कठिनाइबारे पहिले नै सजग थिए । त्यसैले जिन्जरको सफल परीक्षण गर्न यिनले नौलो रेस्टुराँ खोलेका हुन् । पाइलाका अन्य संस्थापक विश्वकै पहिलो नागरिकता प्राप्त ह्युमनोइड रोबोट सोफियामा प्रयोग भएका प्रविधिबारे पनि जानकार छन् । विनय भन्छन्, ‘सोफियामा नौलो प्रयोग गरिएको उसको छाला र अनुहारका भावमात्र हुन् ।’ सोफियाभन्दा जिन्जर धेरै हिसाबले स्मार्ट रहेको उनको जिकिर छ ।


खिचापोखरीस्थित केकेएफसी रोबोट वेटर प्रयोग गर्ने नेपालकै पहिलो रेस्टुराँ हो । तर, ती रोबोट नेपालमा बनेका नभई चीनबाट मगाइएका हुन् । त्यहाँको प्याङ्गोलिन रोबोटिक्स कम्पनीले विश्वभर वेटर रोबोटलगायत अन्य रोबोट निर्यात गर्छ । पाइलाका नीरज बस्नेत भन्छन्, ‘अब हामी पनि छिट्टै अन्तर्राष्ट्रिय बजारमा जाँदै छौं । त्यति बेला प्याङ्गोलिन नै हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी होला ।’


पाइलाका अन्य परियोजना पनि छन् । अन्य बैंकसँग मिलेर यिनले परीभन्दा पनि राम्रा गुणस्तरका अन्य रोबोट ल्याउँदै छन् । विभिन्न कम्पनीका फेसबुक पेज तथा वेबसाइटका लागि बहुभाषी च्याट बोटमा पनि काम गर्दै छन् । आउने दस वर्षमा पाइलालाई कहाँ देख्नुहुन्छ ? ‘चीन, भारत, अमेरिकालगायत विश्वका ठूल्ठूला देशमा पाइलाका शाखा हुनेछन् । सुन्दा महत्त्वाकांक्षी सुनिएला । तर, हामीले पहल गरिसकेका छौं,’ दीपकमलको जवाफ प्रस्टै थियो ।

twitter : @LuitelBibhu

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिक्स प्याक एब्स

अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ ।
हेमन्त श्रेष्ठ

काठमाडौँ — व्यायाम गर्नेहरूमाझ एउटा भनाइ छ– ‘सबैसँग ‘सिक्स प्याक एब्स’ हुन्छ । तर शरीरमा भएको बोसो भरिएर नदेखिने हुन्छ, यो देखाउन इच्छाशक्ति हुनेले शारीरिक अभ्यासका साथै व्यायाम गर्न जरुरी छ ।’

इतिहासको कालखण्डमा दुई व्यक्तिका बीचमा लडिने कुस्ती जसलाई ‘मल्ल युद्ध’ का नामले पनि चिनिन्छ । त्यसका लागि प्रतिस्पर्धीबीचमा बलिष्ठ र खाइलाग्दो शरीर बनाउने चलन रहेको पाइएको छ । समयक्रममा यो परिमार्जन हुँदै आयो । आधुनिक युगमा सुगठित शरीरका साथै पेटमा ‘सिक्स प्याक एब्स’ निकाल्न तम्सिने युवा पुस्ता प्रशस्त भेटिन थालेका छन् । हलिउड फिल्म उद्योगमा एक जमानाका चर्चित टर्मिनेटर फिल्म सिरिजका अभिनेता आर्नोल्ड स्वार्जनेगर र रेम्बो सिरिजका सिल्भेस्टर स्टालिनका फ्यानहरू तिनको जस्तो आकर्षक शरीर बनाउन लालायित हुन्थे । पछि यस्तो मोह भारतीय फिल्म उद्योग बलिउड हुँदै नेपालकै कलिउडमा समेत भित्रियो । बलिउडमा त पछिल्लो पुस्ताका अधिकांश कलाकारले सिक्स प्याक एब्सको ‘ट्रेन्ड’ नै बसाए ।


नेपालमा राणा कालको जगजगीका बेला पनि सहिद धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यक्तिगत व्यायाम प्रशिक्षक रहेको बताइन्छ । धर्मभक्तको जति पनि तस्बिरहरू
देख्ने गरेका छौं, तिनमा देखिएको उनको सुगठित शरीर यसको ऐतिहासिक प्रमाण हुन सक्छ । उनको स्मृतिमा हरेक वर्ष शारीरिक सुगठन प्रतियोगिता धर्मश्री हुने गरेको छ ।


सुगठित शरीर बनाउन लालायित हुने अहिलेका पुस्ता सम्भव भएसम्म समय व्यवस्थापन गरेर जिमखाना धाउने गर्छन् । अचेल पेचिलो सवाल उठ्ने गरेको छ– जिमखाना धाउँदैमा आफूले भनेजस्तो शरीर कहाँ बन्छ ? विगत ११ वर्षदेखि ललितपुरको ताल्छीखेलस्थित रेज फिटनेसमा व्यायाम सिकाउँदै आएका काजीमान मगरातीका अनुसार नियमित शारीरिक व्यायामसँगै खानपान र त्यसबेला अपनाइने जीवनशैलीले समेत प्रभाव पार्छ । देखासिकी भन्दा पनि नियमित रूपमा व्यायाम गरी स्वस्थ खानपानका साथै अनुशासित जीवनशैलीले शारीरिक क्षमतामा प्रभाव पार्ने उनको ठम्याइ छ ।


‘अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ । त्यसका लागि उचित खानपानसँगै नियमित कसरत जरुरी छ,’ मगरातीले भने ।

सुगठित शरीरलाई देखाउने प्रतिस्र्धाका रूपमा बडीबिल्डिङ च्याम्पियनसिप नियमित भइरहेका छन् । राष्ट्रिय नाचघरमा दुईदिने तेस्रो मिस्टर काठमान्डु बडीबिल्डिङ तथा लेडिज फिटनेस च्याम्पियनसिप शनिबार सम्पन्न भयो । यसमा २१ वर्षसम्मकाले जुनियरको स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यस्ता प्रतियोगिताले युवा पुस्ताको ध्यान आकृष्ट पार्ने गरेको छ । यसपालि मिस्टर काठमाडौंमा विसन गुरुङ र लेडिज फिटनेसमा शोभा मानन्धरले बाजी मारे । जुनियरमा किशोर कार्कीले सफलता हात पारे । मिस्टर काठमाडौंमा ७४, लेडिज फिटनेसमा ५ र जुनियरमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगिता तयारीका लागि मिहिनेत त छँदै छ, त्यसका लागि समेत धेरै रकम खर्च हुने गरेको प्रतियोगितामा सहभागीहरूले बताए । बडीबिल्डिङ खेलकुदमा पनि खासै प्राथमिकतामा पर्दैन । त्यसैले बडीबिल्डिङलाई राज्यले पनि उपेक्षा गरेको बताइन्छ । यसमा लगानी गर्न सके युवा पुस्ता स्वस्थ हुनेसँगै उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता पनि दिलाउन सक्छन् ।

twitter : @sthemanta

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT