कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

थ्रीडी प्रिन्टिङमा आशा

हेलो शुक्रबार

काठमाडौँ — कम्प्युटर र प्रिन्टर निर्माणमा अनुभव हासिल गरेको कम्पनी एचपीले यसै साता आफ्नो नयाँ थ्रीडी प्रिन्टर सार्वजनिक गरेको छ । यो छिटो र सस्तो पर्ने गरी मेटल प्रयोग गरी विभिन्न उपकरण उत्पादनका लागि सहयोगी हुने कम्पनीले जनाएको छ । यो प्रिन्टर कस्तो हुनेछ ?

थ्रीडी प्रिन्टिङमा आशा

पछिल्ला वर्ष थ्रीडी प्रिन्टिङको विषयलाई लिएर ठूलो चासो छ किनकि मानिसको अपेक्षा छ कि यसले मानिसलाई सहज हुने गरी ठूला–ठूला सामग्रीहरू उत्पादन गर्न सक्छ । यसको लागत र समय निकै कम हुनेछ । तर, मानिसको यो अपेक्षा अहिलेसम्म पूरा भइसकेको छैन किनकि चलनचल्तीका अधिकांश थ्रीडी प्रिन्टरले प्लास्टिकबाट स–साना सामान डिजाइन मात्रै गरिरहेका छन्, त्यो पनि महँगो लागत र ढिला गरी ।


कम्प्युटर र प्रिन्टर उत्पादनमा अनुभवी कम्पनी एचपीले यसै साता थ्रीडी प्रिन्टिङको भविष्यप्रति केही आशावादी बनाएको छ । अब साइन्स फिक्सनमा उल्लेख गरेजस्तै एचपीले आफ्नो नयाँ थ्रीडी प्रिन्टर सार्वजनिक गरेको छ– मेटल जेट । कम्पनीको दाबीअनुसार काम भए एचपीको यो थ्रीडी प्रिन्टरले अब चाँडै नै उद्योगले जसरी केही ठूला सामान उत्पादन गर्नेछ, त्यो पनि ‘मास प्रडक्सन स्केल’ मा । अर्थात् एचपीको प्रिन्टर अब सानोतिनो उद्योगले जसरी काम गर्न सक्नेछ त्यो पनि समय र लागत कम हुने गरी ।


कम्पनीले मेडिकल र कारका पार्टपुर्जा उत्पादक कम्पनीसँग मिलेर मेटल जेट थ्रीडी प्रिन्टर बनाएको हो । यसकारण यसै प्रिन्टरबाट उत्पादित कारका सामान र मेडिकल उपकरणका पार्टपुर्जा देख्न धेरै वर्ष कुर्नुपर्ने छैन तर केही महिना भने पक्कै प्रतीक्षा गर्नुपर्ने हुन्छ । एचपीका अनुसार उसको नयाँ थ्रीडी प्रिन्टर आगामी वर्षदेखि बजारमा आउनेछ, सीमित मात्रामा । बजारमा यसको व्यापक उपस्थिति भने सन् २०२० तिर मात्रै देखिने कम्पनीले जनाएको छ ।


एचपीले यसअघि जेट फ्युजन नामक थ्रीडी प्रिन्टर उत्पादन गरेको थियो जसले प्लास्टिकबाट सामग्रीहरू ठूलो परिमाणमा बनाउन सक्थ्यो । नयाँ प्रिन्टरले भने स्टिलको प्रयोग गरी सामग्रीहरू उत्पादन गर्न सघाउनेछ । एचपीले पार्माटेक र जीकेएन कम्पनीसँगको सहकार्यमा मेटल जेट प्रिन्टर सार्वजनिक गरेको हो । पार्माटेकले मेडिकल उपकरणको निर्माण गर्दै आएको छ भने जीकेएनले भने मोटर र जहाजका पार्टपुर्जा उत्पादन गरिरहेको छ । जीकेएनले चर्चित मोटर कम्पनीका लागि पार्टपुर्जा बनाइरहेको छ । यी कम्पनीहरूको सहकार्यका कारण एचपीको थ्रीडी मोटर प्रिन्टरबाट उत्पादित सामग्रीहरू चाँडै परीक्षणका लागि कार र मेडिकल उपकरणको प्रोटोटाइपमा प्रयोग हुने अनुमान गरिएको छ ।


एचपीले मेटल जेटबाट मोटरको पार्ट्स उत्पादनका लागि जर्मन कार निर्माता भक्सवागनसँग पनि सम्झौता गरिसकेको छ । सम्झौताअनुसार भक्सवागनले सम्भवत: सन् २०२५ सम्ममा आफ्ना केही कारमा परीक्षणका रूपमा थ्रीडी प्रिन्टरमार्फत प्रिन्ट गरिएको केही पार्टपुर्जा प्रयोग गर्न सक्छ । साथै, कम्पनीले जोन्सन एन्ड जोन्सन मेडिकल डिभाइस निर्मातासँग पनि परीक्षणका रूपमा उपकरण निर्माण गर्ने सम्झौता गरेको छ । परीक्षणअनुसार यसै प्रिन्टरमार्फत स्वास्थ्यकर्मीले प्रयोग गर्ने कैंचीलगायतका उपकरण निर्माण गरिनेछ ।


आकारमा ठूला र एकै पटक ठूलो परिमाणमा उत्पादन गर्न सक्ने थ्रीडी प्रिन्टर किन पनि आवश्यक छ भने यसले मेसिन वा मानिसले उत्पादन गर्ने खालका भन्दा फरक उपकरणको निर्माणमा ठूलो सहयोग पुर्‍याउन सक्छ । जस्तो कि कुनै उपकरण बलियो तर हलुका खालका आवश्यक पर्छ भने थ्रीडी प्रिन्टिङ त्यस्ता उपकरण उत्पादनमा महत्त्वपूर्ण सहयोगी बन्न सक्छ ।


आफूले थ्रीडी प्रिन्टिङका लागि फरकखाले प्रविधि अवलम्बन गरेकाले यो पहिलेका भन्दा बढी सस्तो र छिटो हुने एचपीको दाबी छ । मेटल जेटमा उसले बाइन्डर जेट प्रिन्टिङ नामक प्रविधि प्रयोग गरेको छ । हेर्दा वासिङ मेसिनजस्तो देखिने यो प्रिन्टरले मेटल पाउडरको तहलाई छरेर सामान बनाउन सहयोग गर्छ ।

[email protected]

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?