कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नयाँ क्याप्टेन

कलाकारबाट काम लिने सूत्र थियो, सिनियरलाई सम्मान गर्ने र नयाँलाई सिकाउने । यो सूत्र धेरै हदसम्म सफल भयो ।

काठमाडौँ — नेपाली फिल्म उद्योगमा महिला निर्देशकको रिक्तता छ । त्यसलाई पूर्ति गर्न आइपुगेका छन्, रेनशा बान्तवा राई र संगीता श्रेष्ठ । यी दुई निर्देशकबारे गोकर्ण गौतम लेख्छन् :

नयाँ क्याप्टेन

इन्टु मिन्टु लन्डनमा ४ असोजमा प्रदर्शन हुँदै छ, त्यसको एक साता पछि कथा काठमाडौं । फिल्म त अरु पनि आउँदैछन् तर यहाँ यी दुईलाई मात्र उल्लेख गर्नुको कारण छ । त्यो हो, दुवै फिल्मका निर्देशक महिला हुन् । इन्टु मिन्टु लन्डनमालाई रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन् भने कथा काठमाडौंलाई संगीता श्रेष्ठले । रोचक पक्षचाहिँ दुवैको यो डेब्यु फिल्म हो ।


हामीकहाँ मात्र होइन, संसारकै फिल्म उद्योगमा पुरुषको दबदबा छ । महिला निर्देशक नगन्य नै छन् । हामीकहाँ विस्तारै बदलाव देखिन थालेको छ । व्यावसायिक रेकर्ड राख्न सफल फिल्म छक्का–पञ्जा र छक्का–पञ्जा– २ को निर्देशक महिला नै हुन्, दीपाश्री निरौला । गत वर्ष झरना थापा निर्देशित ए मेरो हजुर– २ पनि हिट भयो । यही लिगेसीलाई निरन्तरता दिने संकेत मिलेको छ, रेनशा र संगीताले । उनीहरूका फिल्मले पर्याप्त ‘हाइप’ बटुलिरहेका छन् । रेनशा हाँस्दै भन्छिन्, ‘अब त मलाई महिला निर्देशककै बेला आएजस्तै लाग्छ । हामी गरेरै देखाउँछौं ।’


धेरैलाई हेक्का नहोला, रेनशा नेपाली फिल्मकी ‘ट्रेन्ड–सेटर्स’ कोरियोग्राफर हुन् । उनले मेरो एउटा साथी छ बाट हिरो–हिरोइनका पहिरन, नाच्ने शैलीदेखि खिच्ने तरिकासम्ममा नयाँपन भित्र्याइन् । यसपछि उनको व्यस्तता बढिहाल्यो । खासगरी गीतलाई कथाको भावअनुसार खिच्न र भव्य देखाउन माहिर मानिन्छिन् उनी । त्यसैले हुनुपर्छ, छोटै समयमा उनले आफूलाई महँगो र व्यस्त कोरियोग्राफरका रूपमा स्थापित गरिन् । फिल्म निर्देशनको जोसचाहिँ कहाँबाट पलायो ? इन्टु मिन्टु लन्डनमाको प्रचारप्रसारमा व्यस्त रेनशाले सुनाइन्, ‘एक दशक कोरियोग्राफी गरेपछि निर्देशन गर्ने आँट आयो । क्यामरा र कलाकारमैत्री भएकाले त्यति गाह्रो भएन ।’


तैपनि रेनशालाई डर थियो, सवा दुई घण्टाको फिल्म खिच्दा पट्यार पो लाग्ने हो कि ? दृश्य खिच्दा गीत खिचेझैं मज्जा नआउला कि ? तर प्रशस्त गृहकार्य र आत्मविश्वासले यो भयलाई चिर्‍यो । उनले ५०–६० जनाको छायाँकन युनिटलाई सम्हाल्दै आफूले चाहेजस्तो काम लिन सफल भइन् । उनको फिल्ममा पुराना कलाकारदेखि नवनायक धीरज मगरसम्मले अभिनय गरेका छन् । कलाकारबाट काम लिने उनको सूत्र थियो, सिनियरलाई सम्मान गर्ने र नयाँलाई सिकाउने । यो सूत्र धेरै हदसम्म सफल भएको र सशक्त अभिनय लिन सकेको अनुभव सुनाउँछिन् उनी । भन्छिन्, ‘खासमा मेरा लागि पनि यो फिल्म सिकाइ प्रक्रिया नै थियो । तैपनि लामो समय गृहकार्य गरेकाले सेटमा सहज भयो ।’ यस फिल्मको अधिकांश दृश्य लन्डनमा खिचिएको छ ।


इन्टु मिन्टु लन्डनमा रोमान्टिक ड्रामा हो । अरू फिल्मभन्दा त्यस्तो फरक केही छैन, लभस्टोरी नै हो । ‘तर माया उही भए पनि फरक शैलीमा देखाएकी छु । पात्रहरूको ‘लभ जर्नी’ रोचक छ,’ ‘उडायो हावाले...’ र ‘लन्डनमा...’ गीतले चर्चा कमाएपछि उत्साहित रहेकी रेनशा भन्छिन्, ‘मलाई दर्शकको दया होइन, माया चाहिएको छ ।’ उनले फिल्मको बजेटचाहिँ खुलाउन चाहिनन् ।


संगीतासँग टेलिभिजनको अनुभव छ । एक दशकयता कान्तिपुर टेलिभिजनमा आबद्ध छिन् । पहिले प्रस्तोता थिइन्, अहिले कार्यक्रम निर्माता । उनले ७० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेकी छन् । कान्तिपुर टेलिभिजनकै लागि कथा प्रेमका नामक १३ वटा सर्ट फिल्म बनाइन् । आधा घण्टामा एउटा कथा देखाउँथिन् । त्यसपछि नै हो, उनी फिचर फिल्म निर्देशनमा आकर्षित भएकी । सुरुमा प्रस्ताव आए पनि निर्देशन गरिनन् । ‘नेपाली फिल्म र मेकिङलाई नजिकबाट बुझ्नै बाँकी थियो । त्यसैले फिल्मसम्बन्धी कार्यक्रम चलाउन थालें । जसले ममा आत्मविश्वास र फिल्मकर्मीसँग सम्पर्क बढायो,’ उनले भनिन् ।


कथा काठमाडौंमा कलाकारको डफ्फा नै छ । प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइरालादेखि सन्ध्या केसीसम्म । तर बजार होइन, कथाकै मागअनुसार कलाकार रोजेको बताउँछिन् संगीता । फिल्ममा तीन फरक कथा छन् तर चरित्रहरू एकअर्कामा सम्बन्धित छन् । सबै कलाकारसँग पहिलेदेखि चिनजान थियो, चरित्र बुझाइन्, वर्कसप पनि गराइन् । छायाँकन पनि छुट्टाछुट्टै गरियो । यसो गर्दा कलाकारको समय मिलाउन र सोचेजस्तो काम लिन सजिलो भएको उनको अनुभव छ । सुटिङ सकिएपछि पोस्ट प्रोडक्सनमा केही समय लिइन् । कारण उही, सकेसम्म अब्बल र निपुण काम गर्ने । पटकथासमेत आफंै गरेकी संगीता भन्छिन्, ‘हतारमा गर्दा बिग्रिएला भनेर ढिला भए पनि काम राम्रो होस् भन्नेतिर लागें ।’


ट्रेलर र गीतमा समाविष्ट प्रियंका र प्रमोदको अन्तरंग दृश्यले कथा काठमाडौं र संगीताको आलोचना नभएको होइन तर यसलाई स्वाभाविक मान्छिन् उनी । उनको भनाइमा यो पात्रअनुरूप नै छ । ‘कथामा अल्झिएका प्रेम’ नामक पुस्तककी लेखिका संगीता भन्छिन्, ‘हामीले भल्गर होइन, कलात्मक रूपमा खिचेका छौं, त्यो पनि स्क्रिप्टको आवश्यकताअनुसार नै । फिल्म हेरेपछि त्यो प्रस्ट हुन्छ ।’

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?