१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नयाँ आइफोनमा के छ ?

हेलो शुक्रबार

काठमाडौँ — आइफोन एक्सपछि कुन मोडल सार्वजनिक होला ? नयाँ आइफोन कस्तो होला भन्ने उपभोक्ताको उत्सुकता तोड्दै आइफोन निर्माता एप्पलले अघिल्लो साता आफ्नो तीन नयाँ मोडल सार्वजनिक गर्‍यो । एप्पलले आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर नाम दिएर नयाँ आइफोन सार्वजनिक गरेको हो ।

नयाँ आइफोनमा के छ ?

आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको फिचरहरू समान रहे पनि स्क्रिनको आकारमा भने भिन्नता छन् । एप्पलले तुलनात्मक रूपमा सस्तो मूल्यमा आइफोन एक्सआर पनि सार्वजनिक गरेको छ ।अघिल्लो वर्ष एप्पलले आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्स सार्वजनिक गरेको थियो । यस वर्ष एप्पलले तीन आइफोनलाई दिएको फरक नामसँगै आइफोनको नामसँग जोडिएर आउने अंकको सिरिजको पनि अन्त्य भयो । डिजाइन, फिचर र स्क्रिन साइजका हिसाबले यी अघिल्ला आइफोनका मोडलहरूभन्दा भिन्न हुनेछन् । सार्वजनिक भएका तीन आइफोनका विशेषता :

ठूला स्क्रिन
आइफोन एक्स म्याक्समा सबैभन्दा ठूला ६.५ इन्चको डिस्प्ले रहनेछ । आइफोन एक्सएसमा भने अलि सानो ५.८ इन्चको डिस्प्ले हुनेछ । आइफोन एक्सआरको स्क्रिन ६.१ इन्चको छ । आइफोन एक्सआर मूल्यका हिसाबले प्रयोगकर्तालाई सस्तो पर्न आउँछ । एक्सएस र एक्सएस म्याक्समा सुधारिएको ओलेड डिस्प्ले प्रयोग गरिएको छ भने आइफोन एक्सआरमा सुधारिएको एलसीडी डिस्प्ले रहनेछन् ।

प्रोसेसर
तीनै आइफोनका मोडलमा ए ट्वीवेल्भ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ । अघिल्लो वर्ष सार्वजनिक गरिएको तीन आइफोनमा प्रयोग गरिएको ए एलेभेन बायोनिक प्रोसेसरको तुलनामा यसले बढी कार्यसम्पादन गर्न सक्छ । यो ७ नानोमिटर आकारमा ६ कोर भएको पहिलो प्रोसेसर पनि हो । यसमा दोब्बर कार्यसम्पादन गर्न सक्ने कोर रहनेछन् भने चार वटा किफायती कोर रहनेछन् । उच्च क्षमता दिने र किफायती गराउने कोरहरूको संयोजनले आवश्यक पर्दा मोबाइलको गति उच्च पार्ने र अन्य बेला ब्याट्री बचाउन उपयोगी हुन्छन् । अघिल्ला प्रोसेसरभन्दा यो दसौं गुणा छिटो हुने एप्पलको दाबी छ ।

फेस आईडी छिटो
नयाँ आइफोन मोडलका फेस आईडीले छिटो काम गर्ने एप्पलको दाबी छ । नयाँ प्रोसेसर र सुधारिएको क्यामराका कारण यो सम्भव भएको हो । अघिल्लो आइफोन एक्समा एप्पललाई टच आईडी हटाएर फेस आईडीको सुरुवात गरेको थियो । तर, कतिपयले आफ्नो फोन खोल्ने बेलामा ढिलाइ र झन्झट पनि बेहोर्नुपरेको थियो । नयाँ मोडलका आइफोनमा यो समस्या नहुने एप्पलले भनेको छ ।

क्यामरा
आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्समा अघिल्लो वर्ष आइफोन एक्समा प्रयोग भएकै क्यामराको रिजोलुसन भए पनि नयाँ आइफोनको फोटोको गुणस्तर भने सुधारिएको हुने एप्पलको दाबी छ । वाइड एंगल र टेलिफोटो सेन्सरइमेज सिग्नल प्रोसेसरसँग मिलेर फोटोको गुणस्तरमा सुधार ल्याउने बताइएको छ । क्यामरामा भएको एचडीआर फिचरले कलर, छायाजस्ता आकृतिलाई बढी प्राकृतिक बनाउन सघाउनेछन् ।

क्यामराको पोट्रेट मोडमा पनि सुधार गरिएको जनाइएको छ । आइफोनको नयाँ मोडलबाट पोट्रेट डीएसएलआरकै गुणस्तरमा हुने दाबी एप्पलको छ । खिचिएको फोटो सम्पादन गर्दा फोटोको डेप्थ मिलाउन पनि सहयोग गर्नेछ । यो अन्य स्मार्टफोनको क्यामराको तुलनामा नयाँ फिचर हुनेछ । आइफोन एक्सआरको रेअर क्यामेरामा भने एउटा मात्रै लेन्स रहनेछ । तैपनि, यसले गुणस्तरीय फोटोमा सम्झौता नगर्ने एप्पलको दाबी छ । आइफोन एक्सआरमा पनि पोट्रेट मोडको सुविधा रहनेछ ।

ब्याट्री
स्मार्टफोनको प्रयोगमा ब्याट्रीको टिकाउ सधैं समस्या हुने गर्छ । नयाँ आइफोनमा ब्याट्री केही सुधारिएको हुने एप्पलले जनाएको छ । आइफोन एक्सएसमा यसअघिको आइफोन एक्समा भन्दा आधा घण्टा बढी ब्याट्री टिक्ने बताइएको छ । आइफोन एक्सएस म्याक्समा आइफोन एक्सको तुलनामा डेढ घण्टा बढी ब्याट्री टिकाउ हुने जनाइएको छ । आइफोन एक्सआरमा भने आइफोन एट प्लसको तुलनामा डेढ घण्टा बढी ब्याट्री टिकाउ हुनेछ । ठूला स्क्रिन भएर पनि ब्याट्रीको टिकाउमा गरिएको सुधार आइफोनको विशेषता हो ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?