कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दुई घण्टामुनि कहिले ?

हिमेश

काठमाडौँ — यसलाई विश्व खेलकुदकै सबैभन्दा ठूलो उपलब्धि मान्न थालेको छ । कम्तीमा यो पछिल्लो दशकको त सबैभन्दा ठूलो उपलब्धि हो नै । नहोस् पनि किन र ? केही वर्ष अगाडिसम्म पनि यस्तो हुन सक्नेछ भनेर कमैले विश्वास गरेका होलान् । प्रसङ्ग हो, केन्याली म्याराथन धावक इलिड किपचोगेको ।

दुई घण्टामुनि कहिले ?

उनलाई विश्व म्याराथनमा देखिएका अहिलेसम्मकै सबैभन्दा अब्बल दर्जाका म्याराथन धावक भन्न सुरु भएको छ । उनले हालै म्याराथनमा नयाँ विश्व कीर्तिमान बनाएका छन् र बर्लिन म्याराथनमा भएको यो कीर्तिमान आफैंमा अविश्वसनीय छ ।

बर्लिन म्याराथन किपचोगेले २ घण्टा १ मिनेट र ३९ सेकेन्डमा दौडिए । साँच्चै सुरुमा यो समयभित्र कसैले म्याराथन दौडिन सक्छ भन्दा अचम्म मान्नुपर्ने हुन्छ । बीबीसी स्पोर्ट्सकै भाषामा भन्नुपर्दा ट्ेरडमिलमा औसत १३ माइलको गति राख्दा कस्तो हुन्छ ? यो त सामान्य नै हुन सक्छ, तर दौडिनुपर्‍यो, दुई घण्टा र केही मिनेट ।

अनि कसैले सय मिटर १७.२ सेकेन्डभित्र दौडिँदा कस्तो हुन्छ ? यो त निकै ढिला पो भयो । तर यसलाई पनि दुई घण्टा र केही मिनेट कायम राख्नु पर्‍यो नि । अझ ठ्याक्कै भन्दा २ घण्टा १ मिनेट र ३९ सेकेन्ड । यो दुवै हिसाब किताबमा टिक्न सक्ने विरलै होला । धेरै त केही मिनेट पनि टिक्न सक्ने छैनन् । तर यही काम किपचोगेले भने मज्जाले गर्न सक्छन् । त्यो पनि उनले यो काम लगातार गरिरहेका छन् । विश्व म्याराथनमा यति धेरै प्रभुत्व कायम गर्ने एक खेलाडी सुन्न पाइएको थिएन । यसलाई म्याराथनमा उनको वर्चस्व भने हुन्छ ।

आधुनिक खेलकुदमा पहिलोपल्ट म्याराथन दौडिन सुरु भएको सन् १९०८ को ओलम्पिकमा हो । त्यति बेला नै तय भएको थियो, २६.२ माइलको दूरी । त्यति बेला पहिलो हुने खेलाडी थिए, अमेरिकी धावक जोनी हायेस । उनको समय थियो, २ घण्टा ५५ मिनेट र १८ सेकेन्ड । त्यो समय र अहिलेको समय, हेरौं न कति फरक भएको छ ? अभ्यासको आधुनिक प्रविधि र जीवन शैलीले खेलाडीको प्रदर्शनमा उल्लेखनीय सुधार आएको छ ।

चार वर्ष अगाडि केन्याकै धावक डेनिस किमेटो पहिलो म्याराथन धावक बनेका थिए, २ घण्टा ३ मिनेटभित्र दौड सकाउने । त्यति बेला उनले २ घण्टा २ मिनेट र ५७ सेकेन्डमा दौड पूरा गरेका थिए, त्यो पनि बर्लिनमै । उनले नयाँ विश्व कीर्तिमान बनाउने क्रममा २६ सेकेन्डको सुधार निकालेका थिए । अहिले किपचोगेले भने पुरानो कीर्तिमानमा ७८ सेकेन्ड सुधार गरेका छन् । यति धेरै सुधार वास्तवमै अविश्वसनीय छ र प्रशंसा गर्न योग्य पनि ।

सन् १९६७ मा अहिलेको जस्तै तहल्का मच्चेको थियो, विश्व म्याराथनमा । त्यति बेला अस्ट्ेरलियाका धावक डरेक क्लेटनले २ घण्टा २ मिनेट र ३७ सेकेन्डमा दौड पूरा गरेका थिए । त्यसपछि म्याराथनको समयमा सुधार हुन धेरै समय लाग्यो । अहिले निर्णायक मोड आएको भने यिनै किपचोगेको पालामा । उनले तोडेका छन्, २ घण्टा २ मिनेटको सीमा । त्यसैले उनी लगातार विश्व मिडियामा छाइरहेका छन् ।सुरुमा मध्यम लामो दूरीका धावक किपचोगेले सन् २०१३ देखि नियमित म्याराथन दौडिन थालेका हुन् र प्रत्येक अवसरमा उनले आफूमा सुधार ल्याइरहेका छन् । अबको प्रश्न, के कोही कसैले यही २६ माइल अर्थात् ४२.१९५ किलोमिटरभन्दा केही बढी दूरी दुई घण्टामुनि दौडिन सक्नेछन् त ? यसबारे व्यापक बहस हुने गरेको छ । केहीका लागि यो सम्भव नै छैन । मानिसले दुई घण्टाभन्दा कम समयमा म्याराथन दौडिन नै सक्ने छैनन् । तर किपचोगेको प्रदर्शनलाई आधार मान्ने हो भने सायद अब त्यो दिन पनि आउँदै छ र यो धेरै टाढा पनि छैन ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?