१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रियलमा रिलका चरित्र

विभु लुइटेल

काठमाडौँ — इचिगो कुरोसाकी सबैलाई सहयोग गर्ने चरित्र हो । त्यसैले ऊजस्तै बनेर आएँ,’ भृकुटीमण्डपमा आयोजित कमिक कनमा भेटिएका २० वर्षीय कपिल ठकुरीले बताए । उनीजस्तै करिब साठीजना कमिक तथा फिल्मबाट आफूलाई मन पर्ने चरित्रजस्तै वेशभूषामा सजिएर आएका थिए । उनीहरूसँग फोटो तथा सेल्फी खिच्नेको ताँती लागेको थियो । ठकुरी भन्छन्, ‘सेलिब्रिटीजस्तै अनुभूति भयो ।’

रियलमा रिलका चरित्र

ब्लिचमाङ्गा शृंखलाको इचिगो कुरासाकी बन्न कपिलले हजारौं खर्चेका थिए । पहिरन, मेकअप र कपाल उक्त चरित्रको जस्तै बनाउन उनलाई धौधौ नै परेको थियो । अझ, इचिगोको जस्तै तरबार (जाङ्गेत्सु) पनि दुरुस्तै बनाएर ल्याए । वर्षाका कारण कार्यक्रम प्रभावित भएको थियो । तर, अनेक कठिनाइ आइपरे पनि इचिगो आफ्नो कर्तव्यप्रति समर्पित भएझैं कपिल पनि आफूले निर्वाह गरिरहेको चरित्रप्रति दिनभरि समर्पित रहेर दर्शकलाई मनोरञ्जनको कमी हुन दिएनन् ।

अनलाइन ब्याटल एरिना लिग अफ लेजेन्ड्सकी सिन्ड्रा बनेर आएकी काठमाडौंकी १३ वर्षीय जिज्ञासा महर्जन आफू सिन्ड्रासँग भावनात्मक रूपमा धेरै सम्बन्धित रहेको बताउँछिन् । ‘सिन्ड्रा एउटा शक्तिशाली पात्र हो । जादु गरेर जस्तोसुकै कार्य पनि सम्पन्न गर्न सक्ने क्षमता ऊसँग छ,’ उनले आफ्नो प्रिय चरित्रको खुलेर प्रशंसा गरिन् ।करिब साढे पाँच दशकअघि अमेरिकाको न्युयोर्कमा पहिलोपटक कमिक कन आयोजना गरिएको थियो । सानो बजेटमा आयोजित उक्त कार्यक्रममा मुस्किलले सय जना दर्शक थिए । तर, त्यसबाट प्रेरित–प्रभावित भई आयोजना भइरहेका यस्ता कार्यक्रममा दर्शकको भीड लाग्ने गरेको छ । अत्यधिक सहभागी एनिमे, कार्टुन, एक्सन फिल्म, टीभी सिरिज वा भिडियो गेम चरित्रका रूप लिएर आउने प्रचलन विश्वव्यापी भइसकेको छ । त्यस्ता व्यक्तिसँग एउटा फोटोमात्र खिच्नेको पनि घुइँचो नै लाग्छ । नेपालमा समेत पाँच हजार बढीले उक्त मेला अवलोकन गरेको कमिक कन नेपालका आयोजक लुइस श्रेष्ठले बताए ।

सन् १९७३ माद इन्भिन्सिबल आइरन म्यानमा पहिलोपटक प्रयोग भएको थानोसको लोकप्रियता अहिले एभेन्जर्स इन्फिनिटी वारसम्म आइपुग्दा पनि उत्तिकै छ । भीमकाय शरीर र ठूल्ठूला हातका लागि चिनिने थानोस कमिक कनमा बन्न गुन्जेस श्रेष्ठलाई निकै गाह्रो भयो । आफ्नो शरीरभन्दा दुई गुणा बढी भारी कस्ट्युम लगाई हिँडिरहेका उनलाई मञ्चमा प्रदर्शन गर्नसमेत हम्मेहम्मे पर्‍यो । तर, थानोसप्रतिको आफ्नो लगाव सिद्ध गर्न उनी सकीनसकी मञ्चमा गए, दर्शकले उनीसँग सयौं सेल्फी पनि लिए । ओभरवाचका गेन्जी बनेका सैदिप लिम्बू हुन् वा ब्लड सीकी सारागी साया बनेकी नुमा सुब्बा, मोर्टल कम्ब्याट एक्सकी मिलिना बनेकी अप्रिला लामा हुन् वा लोककथाकी लिटिल रेड राइडिङ हुड बनेकी सुम्निमा इङ्नाम, सबै आफ्नो तर्फबाट प्रस्तुतिमा कुनै कमी नरहोस् भन्ने चाहन्थे । उनीहरूको महिनौंको मिहिनेत स्पष्ट देखिन्थ्यो ।

लुइस श्रेष्ठले साथीहरूसँग मिलेर पहिला पनि यस्ता कार्यक्रम आयोजना गरेका थिए । सुरुमा जापानी फिल्म तथा कमिकमात्र प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरूले ओटाकु क्लब नामको एक संघ खोलेर चार वर्ष निरन्तर ओटाकु जात्रा आयोजना गरेका थिए । अन्य आयामका चरित्रलाई नेपाली दर्शकमाझ चिनाउन दुई वर्षदेखि कमिक कन आयोजना गर्दै आएको लुइस बताउँछन् । सबैको साथ पाइरहे हरेक वर्ष मध्य सेप्टेम्बरमा यो कार्यक्रम ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?