१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

अवार्डको खेती

नेपाली फिल्मको अवार्डमा विकृति बढ्दै जाँदा कार्यक्रममा सहभागी संख्या घट्दै जान थालेको छ भने अवार्डका लागि मोलमोलाइ बढ्दै जान थालेको छ । अधिकांश फिल्मकर्मी पनि अवार्ड पाउने निश्चित भएपछि मात्र समारोहमा सहभागी हुन थालेका छन् ।
सुशील पौडेल

काठमाडौँ — कुनै काम गर्ने व्यक्तिलाई उक्त काम गर्दा प्रशंसास्वरूप पुरस्कार दिने चलन छ । प्रशंसायोग्य काम गरेबापत पुरस्कारले उक्त व्यक्तिलाई थप प्रोत्साहित गर्नुपर्छ ।छक्का पञ्जा, छक्का पञ्जा २ हुँदै छक्का पञ्जा ३ सम्म आइपुग्दा दर्शकको ठूलै साथ पाएका अभिनेता तथा निर्माता दीपकराज गिरी फिल्म अवार्ड समारोहमा उपस्थित हुन छोडेको दुई वर्ष भइसक्यो ।

अवार्डको खेती

जबकि दीपकराज, दीपाश्री निरौलालगायत कलाकारको प्रस्तुतिले पनि अवार्ड कार्यक्रममा रौनक बढाउँथ्यो । अचेल गिरी मनोनयनमा परेका अवार्ड कार्यक्रममा समेत जाँदैनन् । ‘अवार्डको नाममा धन्दा भइसक्यो । विकृति बढ्यो,’ गिरीले दुखेसो पोखे, ‘अवार्ड पाउँदा विदेशमा ग्रिनकार्ड पाउने वा ससुराली खुसी हुनेभन्दा बढी अरू केही नहुने रहेछ ।’ अवार्डमा सहभागिता नै नजनाएपछि अवार्ड नपाउँदाको पीडा पनि शून्य भएको उनी बताउँछन् ।

नेपालमा फिल्म बन्न थालेको झन्डै दुई दशकपछि फिल्मी अवार्ड हुन थालेको हो । पहिलो पटक २०४३ मा लायन्स क्लब अफ विशालबजारले अवार्ड गरेपछि नेपाल चलचित्र संघले पनि त्यसलाई पछ्याउँदै नेपाल मोसन पिक्चर्स अवार्ड थालेको थियो । उत्कृष्ट फिल्ममा कान्छी र अभिनेता, अभिनेत्रीमा शिव श्रेष्ठ र शर्मिला मल्लले अवार्ड जितेको कुरा लामो समयसम्म चर्चाको विषय बनेको थियो । बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने उक्त अवार्डको रौनक र महत्त्व अझै पनि पुराना फिल्मकर्मीहरू सम्झन्छन् । अवार्ड पाउनेको सम्मानमा अबिर जात्रा नै गरिन्थ्यो ।

केही वर्षयता आएर नेपाली फिल्मका दर्जनौं फिल्म अवार्ड आयोजना भइरहेका छन् । यस वर्षको सुरुवात वैशाखमा डी सिने अवार्डबाट भयो । छायाछवि क्रिएसनले २०६६ सालदेखि निरन्तर आयोजना गर्दै आएको उक्त अवार्ड तत्कालीन समयमा डिजिटल फम्र्याटमा बनेका फिल्मलाई प्रोत्साहन गर्ने हेतुले आयोजना गरिएको थियो । अहिले बर्सेनि सयौंको संख्यामा फिल्म बन्छन् र रिलिज हुन्छन् । अवार्डको संख्या यही अनुपातमा बढे पनि गुणात्मक हुन नसकेको गुनासो बढ्दै जान थालेको छ । उत्कृष्ट कामको सम्मानमा दिनुपर्ने पुरस्कार नै ओजिलो बन्न नसक्दा अवार्डको साख गिरेको हो ।

‘दुई वर्षअघि मेरो अवार्ड बहिष्कारको घोषणा धेरैलाई पचेको थिएन । मलाई पनि गल्ती पो गरियो कि भन्ने लागेको थियो । तर अहिले आएर धेरै फिल्मकर्मी अवार्डमा जान छोडेका छन् । उहाँहरू नै मैले गरेको ठीक रहेछ भन्न थाल्नुभएको छ,’ दीपकराज गिरीले यसो भनिरहँदा साँच्चिकै कामको सम्मानमा दिइने एकाध फिल्म अवार्डको गरिमा तल झर्दै गएकामा चिन्तित छन्, ‘पहिले अवार्ड पाएको फोटो अरूलाई देखाउँदा पनि निकै गर्व लाग्थ्यो । अचेल अवार्ड पाएर फोटो फेसबुकमा हाल्न पाएको हुँदैन, सेटिङ गरेर पाएछ भन्लान् कि भन्ने डर हुन्छ ।’

खासगरी अवार्ड देशले वा सम्बन्धित क्षेत्रसँग सम्बद्ध तटस्थ संघ–संस्थाले दिइनुपर्नेमा अचेल व्यक्तिगत प्रयासमा पनि अवार्ड हुन थालेका छन् । तीन–तीन महिनामा अवार्ड दिनेदेखि आफ्नो रवाफ देखाउन वा पैसा कमाउनका लागि पनि विदेशमा व्यक्तिगत पहलमा अवार्ड समारोह भइरहेका छन् । यसले गर्दा अवार्डको खेती बढ्दै गएको छ । सँगसँगै विकृति र आलोचना पनि चुलिरहेको छ ।कमाउनकै लागि अवार्ड आयोजना हुने क्रम बढिरहँदा राज्यले दिने एकमात्र राष्ट्रिय चलचित्र पुरस्कार भने दुई वर्षदेखि रोकिएको छ । चलचित्र विकास बोर्ड यसका लागि पहल गर्नमा भन्दा निजी तवरबाट आयोजना भइरहेका अवार्डमा आर्थिक सहयोग दिनेदेखि पदाधिकारी स्वयं उपस्थित भई आधिकारिकताको बिल्ला लगाइदिन हतारिएको देखिन्छ । बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राईले आफ्नो कार्यकालमा अवार्डको विकृतिलाई रोक्न पहल गरिने बताए पनि त्यो व्यवहारमा भने उतार्न सकेनन् ।

कामना सिने पत्रिकाले २०७१ देखि फिल्म अवार्ड आयोजना गर्न थाल्यो । अवार्ड संयोजक विदुर गिरीलाई पनि पछिल्लो समय अवार्डको खेती बढिरहेको अनुभव भइरहेको छ । उनी भन्छन्, ‘अवार्ड वितरणको तौरतरिका हेर्दा साँच्चिकै लेनदेन हुन्छ कि जस्तो देखिन्छ । त्यसमा अझ आयोजकको आग्रह, पूर्वाग्रहले अवार्डलाई थप आलोचित बनाउने परिणाम आउने गर्छ ।’ गिरी अवार्डमा विधागत दक्षता नभएका ‘जुरी’ राख्नेदेखि बिनाआधारको मूल्यांकनले पनि नतिजा निष्पक्ष र प्रशंसनीय आउन नसकेको ठान्छन् । ‘तर सबै अवार्डलाई एउटै तराजुमा जोख्न मिल्दैन,’ गिरीले मर्यादित अवार्ड गर्न चाहनेलाई पनि भीडबाट हटेर व्यवस्थित गर्न सुझाव दिन्छन् ।

अवार्डमा विकृति बढ्दै जाँदा कार्यक्रममा सहभागी संख्या घट्दै जान थालेको छ भने अवार्डका लागि मोलमोलाइ बढ्दै जान थालेको छ । अधिकांश फिल्मकर्मी पनि अवार्ड पाउने निश्चित भएपछि मात्र समारोहमा सहभागी हुन थालेका छन् । ‘अवार्ड पाउनेको भीड मात्र हलमा देखिन्छ । जो गएको छ, त्यसले अवार्ड पायो भन्ने ग्यारेन्टी जस्तै हुन थालेको छ,’ दीपकराजले टिप्पणी गर्दै थपे, ‘यसमा हामी नै खराब हौं । राति नै अवार्ड पाउने कन्फर्म गरेर मात्र अवार्डमा सहभागी हुन जान्छौं ।’

अचेल फिल्मकर्मीमाझ अमेरिकाले प्रदान गर्ने ईबी १ भीसाप्रतिको मोह ह्वात्तै बढेको छ । असाधारण क्षमता भएका व्यक्तिलाई प्रदान गरिने पीआरका लागि नेपालमा अधिकांश कलाकार, फिल्मकर्मीमाझ कागजपत्र तयारीको होड छ । त्यसका लागि अवार्ड पाएको व्यक्तिको सम्भावना उच्च रहने भएकाले अवार्डको माग ठूलो छ । माग बढेपछि अवार्ड आयोजना पनि बग्रेल्ती हुने नै भए । किनबेच चल्ने नै भयो । त्यसैले पनि अचेल पुरस्कारको आधारभूत परिभाषामा समेत धब्बा लाग्ने गरी अवार्ड आयोजना भइरहेका छन् । पाउनै नहुनेले अवार्ड पाइरहेका छन् । अवार्डका असली हकदारहरू यसैका कारण निरुत्साहित भइरहेका छन् । असल नियतले अवार्ड गर्न खोजिरहेकाहरू यतिबेला पनि बिलखबन्दमा छन् ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?