कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोबोट ओलम्पियाडको तयारी

युनिग्लोब उच्च मावि र नेपाल प्रहरी स्कुल साँगा थाइल्यान्डमा नोभेम्बर, २०१८ मा हुने विश्व रोबोट ओलम्पियाडमा प्रतिस्पर्धा गर्ने तयारीमा नेपाली टोली जुटेका छन् । उनीहरु गत साता राजधानीमा भएको प्रतिस्पर्धाबाट ओलम्पियाडलाई छनोट भएका हुन् ।
हेलो शुक्रबार

काठमाडौँ — आन्तरिक प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली प्रतिनिधित्व गर्ने नेपाली रोबोटिक्स टोलीको संख्या बढ्दो छ । केही अघि मात्र रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले आयोजना गरेको रोबोटिक्स प्रतियोगितामा उत्कृष्ट भएको एक टोलीले मेक्सिकोमा सम्पन्न विश्वव्यापी रोबो ओलम्पिक प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । प्रारम्भिक चरणमा नेपाली टोलीको प्रदर्शन राम्रै भएको थियो ।

रोबोट ओलम्पियाडको तयारी

अर्को नेपाली टोली यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती पस्कने तयारीमा लागेको छ । अघिल्लो साता कमलादीमा भएको रोबोटिक्स प्रतियोगितामा युनिग्लोब कलेजको टोली प्रथम भएको थियो । स्टिम फाउन्डेसनले आयोजना गरेको उक्त प्रतियोगितामा उत्कृष्ट भएको युनिग्लोब कलेजको टोली नोभेम्बर १६–१८ मा थाइल्यान्डमा हुने विश्व रोबोट ओलम्पियाडमा सहभागी हुँदै छ । काठमाडौं, कास्की, काभ्रेलगायतका १९ टोलीको प्रतियोगितामा युनिग्लोब सिनियरतर्फ प्रथम भएको थियो भने जुनियरतर्फ नेपाल प्रहरी स्कुल साँगा उत्कृष्ट घोषित भएको थियो ।


थाइल्यान्डमा हुने विश्व रोबोट ओलम्पियाडमा ६० बढी देशका सहभागी टोली हुनेछन् । यस वर्ष रोबोट ओलम्पियाडको थिम ‘फुड म्याटर्स’ रहेको छ । यसैले नेपालमा आयोजित प्रतियोगितालाई पनि कृषिलाई थिम बनाइएको थियो । युनिग्लोब टिमका सदस्य हुन्– गौरव चापागाईं, स्वीकार अधिकारी र अरुण चौधरी । कक्षा १२ मा पढ्ने उनीहरूले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।


विजेता टोलीले विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न छुट्टै रोबोटको तयारी गरिरहेको छ । विश्व रोबोट ओलम्पियाडमा नेपालको यो पहिलो सहभागिता हुनेछ । रोबोट ओलम्पियाड हरेक वर्ष फरक–फरक देशमा आयोजना हुँदै आएको थियो । अघिल्लो वर्ष यो कोस्टारिकामा आयोजना गरिएको थियो । र, अर्को वर्ष यो प्रतियोगिता हंगेरीमा आयोजना हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीले तयार पारेको रोबोटले एरिनामा रिमोट कन्ट्रोलको सहायतामा बिरुवा रोप्ने र रूखबाट झरेको फललाई आफ्नो टोकरीमा पार्नुपर्ने जिम्मेवारी दिइएको थियो । विद्यार्थीलाई रोबोटको व्यावहारिक र सैद्धान्तिक ज्ञान दुवैमा प्रतिस्पर्धा गराउन प्रतियोगितालाई दुई भागमा बाँडिएको प्रतियोगिताका सहायक व्यवस्थापक अभिषेक पाण्डेले बताए । उनका अनुसार प्रतियोगितामा सहभागीहरूले बनाएको रोबोटको कामलाई ५० अंक र प्रतिस्पर्धा जितेर रोबोटिक्स ओलम्पियाडमा सहभागी भएमा बनाउने रोबोटको प्रस्तावलाई ३० अंक र टिममा सहभागीहरूको रोबोटसम्बन्धी ज्ञानलाई २० अंकमा विभाजन गरिएको थियो ।


रोबोटिक्स प्रतियोगितामा सहभागी बन्ने टोलीले अरूको सहायतामा बनाएको रोबोट नल्याउन भन्नका लागि भिन्न–भिन्न विषयमा प्रतिस्पर्धी गराइएको सहायक व्यवस्थापक पाण्डे बताउँछन् । रोबोट ओलम्पियाडमा सहभागी हुने टोलीले आफूले बनाएको रोबोट प्रतियोगिता स्थलमा एक घण्टाभित्र एसेम्बल गर्नुपर्ने प्रावधान छ । यसै कारण पनि प्रतियोगितामा सहभागीहरूले आफैंले रोबोट बनाएका हुन् भन्ने निक्र्योल गर्न व्यावहारिक र सैद्धान्तिक पक्षमा पनि प्रतिस्पर्धा गराइएको प्रतियोगिताका संयोजक रुपेन्द्र अर्याल बताउँछन् ।


‘विश्व रोबोट ओलम्पियाड नेपाल’ मा उपत्यका र मोफसलका गरी १९ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको तीनै चरणमा उत्कृष्ट अंक ल्याउँदै युनिग्लोबको टोली प्रथम बनेको हो । उनीहरूले बनाएको ‘मल्टी पर्पोज एग्रिकल्चर रोबोट’ को कार्यक्षमता र टोली सदस्यको सैद्धान्तिक ज्ञानको आधारमा विजयी टोली छानिएको थियो । नेपालका विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र म्याथ (एसटीईएम) विषयलाई प्रभावकारी बनाउन काम गरिरहेको स्टिम फाउन्डेसनले प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित : आश्विन १२, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?