नयाँ चकलेटी स्टार

‘क्युट लुक्स’ का धीरज मगरले इन्टु मिन्टु लन्डनमा कुशल अभिनय पस्किए । त्यसैले हिजोका यी युट्युबरलाई भविष्यको नेपाली फिल्ममा ‘सुपरस्टार’ का रुपमा हेर्न थालिएको छ । शिखर चुम्ने धैर्य र क्षमता धीरजमा होला त ?
हेलो शुक्रबार

काठमाडौँ — इन्टु मिन्टु लन्डनमा गत शुक्रबार रिलिज भयो । भोलिपल्टबाटै ‘वर्षको पहिलो बम्बर ओपनिङ’ आशयका समाचार आउन थाले । खासगरी मल्टिप्लेक्समा युवायुवतीको धुइरो लाग्यो । र, सबैको आकर्षणको केन्द्रमा रहे, धीरज मगर । जबकि उनको यो डेब्यु फिल्म हो । यही फिल्ममा ‘लेडी स्टार’ को उपमा पाएकी साम्राज्ञी राज्यलक्ष्मी शाह पनि थिइन् तर जस साम्राज्ञीले होइन, धीरजले अधिक चर्चा पाए ।

नयाँ चकलेटी स्टार

जसरी हिजो साम्राज्ञीले डेब्यु फिल्म ड्रिम्सबाट अनमोल केसीको भन्दा बढी तारिफ बटुलेकी थिइन् । फरक कत्ति भने, साम्राज्ञीले ड्रिम्सपछि मात्र फ्यान कमाइन् । धीरजचाहिँ इन्टु मिन्टु लन्डनमा रिलिजअगावै एउटा वर्गका लागि ‘सेलिब्रेटी’ थिए । तर यस फिल्मले उनलाई ‘नयाँ स्टार’ का रूपमा उभ्याएको छ ।


नेपालमा जन्मिए पनि उनी बेलायतमा हुर्किए । सन् २०१३ मा उनले द ड्युड भ्लग्स नामक युट्युब च्यानल खोले तर दुई वर्ष केही अपलोड गरेनन् । सन् २०१५ को समर भ्याकेसनमा भ्लग बनाए र पोस्ट गरे । आठ वटा छोटा भिडियो हालेलगत्तै १० हजार सब्सक्राइबर्स पुग्यो । फेसबुकमा म्यासेजको ओइरो लाग्न थाल्यो ।


हाल फिल्मको प्रचारमा दौडिरहेका धीरज सम्झन्छन्, ‘मैले रमाइलोका लागि भिडियो बनाएको थिएँ तर छिट्टै लोकप्रियता कमायो । जसले मलाई थप चाखलाग्दा भिडियो बनाउन हौसला दियो ।’


उनले कमेडी स्किट्स बनाउन थाले । कोरियन म्युजिक भिडियोको ‘रियाक्सन’ भिडियो पछि उनी यति चर्चित भए कि कोरियाको पर्यटन बोर्डले उनलाई कोरिया नै बोलाएर पर्यटन प्रवद्र्धन हुने भ्लग बनाउन अनुरोध गर्‍यो । त्यसपछि एक साता कोरियामै बसेर उनले भ्लगिङ गरे, जसबाट उनको कोरियामा फ्यान फलोइङ ह्वात्तै बढ्यो । उनी भन्छन्, ‘कोरिया मात्र होइन, फ्रान्स, स्पेन, थाइल्यान्ड जाँदा पनि मलाई चिन्ने र माया गर्ने फ्यान भेटेको छु ।’ अर्थात्, उनले युट्युबबाट नेपाल र नेपाली भाषीमात्र होइन, विदेशी प्रशंसकसमेत कमाए । अहिलेसम्म उनको युट्युब च्यानल १ लाख ६६ हजार प्रयोगकर्ताले सब्सक्राइब गरिसकेका छन् भने १ करोड ६४ लाख पटक हेरिएको छ ।


र, फिल्मसँग उनको नाता पनि युट्युबले नै जोडेको हो । दुई वर्ष अगाडि बेलायतमा भएको ‘यूके डान्स अफ’ प्रतियोगिताको सञ्चालक थिए उनी । मुख्य निर्णायक थिइन्, रेनशा
बान्तवा राई । रेनशा फिल्मका लागि हिरो खोजिरहेकी थिइन् । उनको आँखामा परिहाले ह्यान्डसम धीरज । एकअर्काका बारेमा अपरिचित थिए तर त्यतिबेलै उनलाई रेनशाले फिल्मका लागि प्रस्ताव गरिन् । बेलायत र युट्युबकै दुनियाँमा रमाइरहेका धीरजलाई फिल्म खेल्ने न योजना थियो, न सोख नै । तर जब इन्टु मिन्टु लन्डनमाको स्क्रिप्ट सुने, उनले ‘नाइँ’ भन्नै सकेनन् ।


धीरजले यो फिल्मका लागि दुई वर्ष समय खर्चिएका छन् । त्यसैले हुनुपर्छ, फिल्मको व्यापार र उनले पाइरहेको सकारात्मक प्रतिक्रिया अपेक्षाअनुरूप नै लागेको छ उनलाई । बेलायतमा अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातक गरिरहेका धीरज भन्छन्, ‘युट्युबका फ्यान र उहाँहरूले दर्शाउनुभएको उत्साहले मलाई फिल्मको सुरुआत राम्रो हुन्छ भन्ने आत्मविश्वास थियो ।’ आफ्नो अपोजिटमा साम्राज्ञी हुनेछिन् भनेपछि दंग परेका रहेछन् । कारण, ड्रिम्समा उनलाई साम्राज्ञीको काम मन परेको थियो ।


इन्टु मिन्टु लन्डनमा सफल भएसँग धीरजलाई अनमोल केसी, प्रदीप खड्का लगायतका अहिलेका चकलेटी हिरोहरूसँग तुलना गर्न थालिएको छ । धीरजप्रति धेरैको नजर तानिनुको अर्को कारणचाहिँ अनमोल र प्रदीपका पछिल्ला फिल्म अपेक्षाकृत नभएकाले पनि हो । यसरी भइरहेका चकलेटी हिरोलाई आफ्नो साख जोगाउनै धौ–धौ परेका बेला आफ्नो प्रवेश हुँदा उनलाई कस्तो लागेको छ ? प्रश्नजति पेचिलो भए पनि उनी उत्तिकै कूटनीतिक जवाफ दिन्छन्, ‘मैले आफूलाई उहाँसँग तुलना गर्नै मिल्दैन । उहाँहरू मभन्दा सिनियर हो, त्यसैले उहाँहरूबाट सिक्नुपर्छ, प्रतिस्पर्धी ठान्नु हुन्न, ठान्दिनँ पनि ।’ भलै स्वस्थ प्रतिस्पर्धाले कलाकारको करिअर मात्र होइन, फिल्म उद्योगलाई नै फाइदा पुग्ने विचार राख्छन् ।


इन्टु मिन्टु लन्डनमा रिलिज अगाडिबाटै धीरजलाई फिल्मको अफर आउन थालेको थियो । अहिले अझ बढेको छ तर उनी अनुबन्धित भइसकेका छैनन् । रेनशाकै आगामी दुई फिल्म खेल्ने खबरलाई पनि नकारे । उनका अनुसार सामान्य कुराकानी भएको हो, पक्का भएको छैन । भन्छन्, ‘मलाई कुनै हतार छैन । पहिले यही फिल्मको देश/विदेशको शो सक्छु अनि आरामले अर्को फिल्म गर्छु ।’ सबल स्क्रिप्ट पहिलो प्राथमिकतमा पर्छ नै, सँगै निर्देशक र लगानीकर्तालाई पनि उत्तिकै ख्याल पुर्‍याएर फिल्म छान्ने योजनामा छन् उनी ।

प्रकाशित : आश्विन १२, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?