कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कम छैन दम

काठमाडौँ — सबै खेलमा शारीरिक बलियोपन मात्र आवश्यक हुन्न, मानसिक रूपमा बलियो हुनेले पनि खेल खेल्न सक्छन् । र, सफलता हात पार्न पनि सक्छन् । तर, रग्बी अलि फरक खेल हो । यसका खेलाडीमा कौशल मात्र पर्याप्त हुन्न, शारीरिक रूपमा उत्तिकै शक्तिशाली पनि हुनुपर्छ । मैले फिल्मका केही दृश्यमा हिलोमा पनि जबर्जस्त खेलेको खेलका रूपमा रग्बीलाई हेरेको थिएँ । लागेको थियो पनि त्यस्तै, जब्बर खेलाडीले खेल्ने खेल ।

कम छैन दम

रग्बीका खेलाडी बलियो हुनैपर्छ जस्तो लाग्छ । नेपाली खेलाडीलाई हेर्दा फिल्ममा जस्तै बलिया त देखेको थिइनँ तर हाम्रो समाजमा महिलाको तुलनामा अलि मजबुत नै लागेको थियो । शारीरिक रूपमा बलिया । तर, बलिया व्यक्ति मानसिक रूपमा पनि सशक्त हुन्छन् भन्ने छैन । किनभने जीउडाल हेर्ने हो भने नेपाली शरीरले अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता खेल्नै नसक्नुपर्ने हो । तर, नेपाली चेलीहरूले सन् २०१५ यता एसियाली स्तरमा प्रतिस्पर्धा गरिरहेका छन् ।


नेपाली महिला टिमले ‘एसिया रग्बी सेभेन्स ट्रफी’ मा दुईपल्ट खेलेको छ, २०१५ चेन्नाई र २०१६ लाओसमा । चेन्नाईमा नेपालले इन्डोनेसियालाई पराजित पनि गरेको थियो । अहिले नेपाली टिम ब्रुनाईमा २०–२१ अक्टोबर, २०१८ मा हुने एसिया रग्बी सेभेन्सको तयारीमा व्यस्त छ ।


जो बलियो छ, उनैले मात्र खेल्न सक्छ जस्तो लाग्छ– रग्बी । नेपालमा महिला रग्बी चार वर्षअघि मात्र सुरु भएको थियो । त्यसयता महिला रग्बीमा चार क्लब हिमालयन, एभरेस्ट, गोरखाली र नेपाल महिला रग्बी क्लब सक्रिय छन् । नेपाल रग्बी संघलेयिनै क्लबबाट छनोट गरेका दर्जन खेलाडी श्रीलंकाली प्रशिक्षक हेटिराचिलेज राधिका इसानको योजनाअनुसार ल्याबरोटरी स्कुलको कीर्तिपुरस्थित मैदानमा दैनिक तीन घण्टा प्रशिक्षण गरिरहेका छन् ।


सात–सात मिनेटको दुई हाफको खेलका लागि दिलो ज्यान दिएर लागेका छन् खेलाडीहरू । देशमा बलात्कार, यौन हिंसा, महिला हिंसाका घटना बढिरहेका बेला रग्बीबाट हामीले पाठ सिक्न सक्छौंजस्तो लाग्छ । खेलाडी नै बन्नुपर्छ भन्ने छैन तर यो खेलको अभ्यासमात्र गर्न सके पनि शारीरिक रूपमा बलियो बन्न सकिन्छ । अनि खेलका रणनीतिबाट मानसिक रूपमा चलाख बन्न सकिन्छ, जसले आत्मविश्वासी बनाउँछ । एसियाली प्रतियोगितामा नेपालले सफलता हात पार्छ नै भन्ने छैन, तर यसको अभ्यासले महिला भने पक्कै पनि सशक्त बन्न सक्छन् ।


तस्बिरहरू : श्रुति

[email protected]

प्रकाशित : आश्विन १९, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?