कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

न्युयोर्कको रन–वेमा लुङदर

‘फेसन संसारमा प्रबल गुरूङको व्यापार सधैं स्थिर रहला/नरहला । तर, महिलावादी अभियानले उनको प्रोफाइल बलियो बनाइरहनेछ ।’
हेलो शुक्रबार

काठमाडौँ — अघिल्ला फेसन शोमा प्रबल गुरुङले बौद्ध भिक्षुलाई मन्त्र पढाएर कार्यक्रम उद्घाटन गराएका थिए । त्यो बेला देशमा भूकम्प गएको थियो । उनले १० लाख अमेरिकी डलर चन्दा दिए । यसपालिको शोमा उनले बौद्ध तुल (लुङदर) टाँगिएको हलमा जिजी हडिड, एस्ली ग्राह्म, अडेसुवा एघेवीजस्ता विख्यात मोडलहरूलाई र्‍याम्पमा उतारे । त्यहाँ बालुवाको रंगीन मण्डलासमेत बनाइएको थियो ।

न्युयोर्कको रन–वेमा लुङदर

प्रबलले झिलिमिली रङमाथि खेल्दै महिला सशक्तीकरण र महिला मुद्दालाई साथ दिएको जनाए । हलिउडमा मी टु अभियान चाल्नुुअघि नै उनले महिलाका पक्षमा आफ्ना पहिरनमार्फत सांकेतिक अभिव्यक्ति दिएका थिए । पोहोरको न्युयोर्क फेसन विकमा उनले ‘द फ्युचर इज फिमेल’, ‘नेभरदलेस, सी पर्सिस्टेड’ जस्ता महिलावादी वाक्य उल्लिखित टिसर्टहरू प्रदर्शन गरेका थिए । यसलगत्तै मी टु अभियान व्यापक बनेर आयो ।


गोल्डेन ग्लोब अवार्डका लागि इशा राय र केरी वासिङ्टनलाई कालो गाउन तयार पारिदिनेदेखि तेस्रोलिंगी मोडललाई र्‍याम्पमा अवसर दिने प्रबलको बानीले उनी लैंगिक समानताको विषयमा गम्भीर रहेको प्रस्ट पार्छ । यही भएर पनि हुन सक्छ, मी टु अभियन्ता तराना बर्क र हुमा आबेडिन तथा गायिका कार्डी बीसमेत यसपालि उनको शोमा विशेष अतिथिका रूपमा उपस्थित थिए ।


र्‍याम्पमा आफ्ना डिजाइनमार्फत परिवर्तन र समानताको वकालत गर्ने प्रबलले यही साता आयोजित आफ्नो अटम/स्प्रिङ कलेक्सन प्रदर्शनमा सहभागी मोडलको मनोबल बढाउन विशेष जुक्ति अपनाएको बताइन्छ । द भोग अनलाइनका अनुसार प्रबलले स्टेज पछाडि ‘तिम्रो आवाज तिम्रो शक्ति हो : न्यायका लागि यसको प्रयोग गर’ लेखिएको पोस्टर टाँसेका थिए । मोडलहरूलाई आत्मविश्वासी बनाउन यस्तो गरिएको बताइन्छ ।


रेडी टु वेर कलेक्सनमा उनको अन्तर्राष्ट्रिय पृष्ठभूमि र विभिन्न देशको प्रभाव झल्किएको फेसनसम्बन्धीको अनलाइन पोर्टल, डब्लूडब्लूडी डट कमले उल्लेख गरेको छ । पूर्व र पश्चिम जोड्ने पुल बन्दै गर्दा प्रबलले अत्यन्तै सुन्दर, महिलामय र आकर्षक पहिरन प्रस्तुत गरेको अनलाइनको दाबी छ । भारतको गुलाबी ग्याङ र चीनको मातृसत्तात्मक मोसुऊ जातिको बिम्ब आउने गरी उनले गुलाबी, नीलो र रातो रङलाई यसपालि प्राथमिकता दिएका थिए ।


गुलाबी रङको असिमेट्रिकल स्कर्टसँग ढाकाको लुक्स आउने सारोङ (सारीजस्तो) र सेतो स्वीटर कार्यक्रमको विशेष आकर्षण बन्यो । मंगोलियन सियर्लिङ (धुवादार ज्याकेट) लाई लामो भेस्टसँग म्याच गराइएको थियो । गुलाबी रङलाई महिलावादी बनाउन प्रबलको पनि भूमिका रहेको द भोगले उल्लेख गरेको छ । ‘फेसन संसारमा उनको व्यापार सधैं स्थिर रहला/नरहला,’ भोग लेख्छ, ‘तर, महिलावादी यो अभियानले प्रबलको प्रोफाइल बलियो बनाइरहनेछ ।’

[email protected]

प्रकाशित : कार्तिक ९, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?