अलग आयुष्मान
काठमाडौँ — एक महिनाभित्र आयुष्मान खुराना अभिनीत दुई फिल्म प्रदर्शन भए, ‘अन्धाधुन’ र ‘बधाई हो’ । छोटो समयमा फिल्म रिलिज हुँदा कलाकारको साख गुम्ने भय हुन्छ । दर्शकले झिँजो मान्न सक्छन् तर आयुष्मानको हकमा अर्कै भइदियो । दुवै फिल्मले दाम कमाए । नाम पनि ।
थ्रिलर जनराको ‘अन्धाधुन’ लाई हिन्दुस्तान टाइम्सले पाँचमा पाँचै स्टार दियो । हाल प्रदर्शनरत ‘बधाई हो’ बाट पनि आयुष्मानलाई बधाईको ओइरो लागिरहेको छ ।
अभिनयमा पोख्त भएर मात्र हुन्न, कथा र चरित्र छनोटमा चनाखो हुँदा मात्रै कलाकारको आयु लामो हुन्छ । लाग्छ, आयुष्मानले यही मन्त्रलाई शिरोधार्य गरिरहेका छन् । त्यसैले त आमिर खानको समेत प्रिय बनेका छन् उनी । हालै एक अन्तर्वार्तामा आमिरले भनेका छन्, ‘आयुष्मानको कथा र चरित्र चयनबाट म आफैं प्रभावित छु ।’ हुन पनि हो, आयुष्मानले विषयवस्तुलाई महत्त्व दिएका छन् नकि नक्कल झक्कललाई ।
आयुष्मान पहिलो फिल्म ‘विक्की डोनर’ बाटै आफूलाई अलग अभिनेताको छनक दिन सफल भएका थिए । जबकि यसमा रोमान्टिक होइन, वीर्यदाताको भूमिकामा छन् । छवि बिग्रने डरमा यो चरित्र धेरै अभिनेताले अस्वीकार गरेका थिए, तर आयुष्मानलाई वरदान भइदियो । किनभने, सूत्रमा हिँड्न नचाहने निर्देशक/निर्माताको रोजाइमा त्यहींबाट पर्न थालेका हुन् उनी । यसले उनको फिल्मी यात्रामा एकपछि अर्को सिँढी थपिरहे ।
‘विक्की डोनर’ बाट ‘बधाई हो’ सम्मको यात्राभन्दा रोचक र घोचक छ, चण्डीगढीजस्तो सानो सहरका यी ठिटोले बलिउडमा ‘ब्रेक’ पाउन गरेको संघर्ष । सबैलाई थाहै छ, ‘आउटसाइडर’ का लागि बलिउड अनुदार छ । र, आयुष्मान त्यस्तै हुन्, त्यो पनि हिरोको परम्परागत मानकलाई पटक्कै नअटाउने ।
आयुष्मान च्यानल भीको रियालिटी शो पप–स्टार्समा भाग लिन पहिलोपटक मुम्बई आइपुगे, सन् २००१ मा । उनी फाइनलमा पुग्न सकेनन्, लुरुक्क गृहनगर चण्डीगढ फर्किए । तीन वर्षपछि फेरि मुम्बई आए, एमटीभी रोडिजमा भाग लिए, उपाधि नै जिते । साथीभाइले भने, ‘बलिउडमा मौका पाउन सक्छौ, यहीं बस ।’ रोडिजको फेम फलदायी हुन सक्थ्यो । तर आयुष्मान चण्डीगढ फर्किए ।
उनलाई बुबाले भनेका थिए, ‘तिमी बलिउडका लागि तयार भइसकेका छैनौं । बलिउडमा प्रतिभाको खाँचो छैन, खाँचो छ त केवल क्षमतावान् प्रतिभाको । त्यसैले पढाइ नत्याग ।’ बुबाको वचन तोडेनन् । पढाइ सकेपछि बल्ल स्थायी रूपमा मुम्बई सरे । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । यो सबै वृतान्त तीन वर्ष अगाडि प्रकाशित आत्मकथा ‘क्रयाकिङ द कोड : माई जर्नी टु बलिउड’ मा लेखेका छन् । यो पुस्तकको सहलेखक उनकै पत्नी ताहिरा कश्यप हुन् ।
खेल्नु त उनलाई फिल्म थियो तर मौका कहाँ पाउनु ? त्यसैले त्यहाँसम्मको बाटो पहिल्याउन रेडियो जक्की बने । त्यसपछि भीजे । गर्दै जाँदा रियालिटी शो होस्टमा नम्बर वान बने । टेलिसिरियल पनि खेले । आयुष्मान भन्ने गर्छन्, ‘जेजे पायो, त्यो गर्दै गएँ किनभने यी कामले मलाई फिल्मसम्म पुर्याउँछ भन्ने आशा थियो ।’ भलै त्यो आशा पूरा गर्न उनले दर्जनौं अडिसनमा धक्का खानुपर्यो । सहायक भूमिकामा समेत पत्याइएन ।
‘आई हेट लभ स्टोरिज’ मा अन्तिम समयमा उनको भूमिका खोसियो । तर जब ‘विक्की डोनर’ मा देखिए, सबथोक बदलियो । ‘कहिलेकाहीँ पाएको अवसर गुमाइन्छ किनभने त्यो ठूलो अवसरले प्रतीक्षा गरिरहेको हुन सक्छ,’ उनले पुस्तकमा लेखेका छन्, ‘यो भनाइ किताबी र दार्शनिक सुनिएला तर यदि मैले तीन थे भाइ वा आई हेट लभ स्टोरिज खेलेको भए विक्की डोनर कहिल्यै पाउँदैनथें ।’
‘विक्की डोनर’ पछि ‘नौटंकी साला’, ‘बेककुफियाँ’, ‘हवाईजादे’, ‘दम लगाके हैसा’ जस्ता फरक–फरक फिल्म खेले । अघिल्लो वर्ष ‘बरेलीकी बर्फी’ र ‘शुभ मंगल सावधान’ बाट वाहवाही बटुले । यो वर्ष ‘अन्धाधुन’ र ‘बधाई हो’ ले बहार ल्याइहाल्यो । यसबीच दुई फिल्मफेयर अवार्ड पनि जितिसके । नायक र गायकबाट एकै साल फिल्मफेयर जित्ने असाध्यै कममध्ये पर्छन् उनी । साँच्चैभन्दा स्टार बनिसके आयुष्मान । तर उनलाई सबभन्दा भारी महसुस ‘स्टार’ विशेषणसँग हुँदोरहेछ । ‘स्टार त भएँ हुँला तर यसको धङधङीबाट मुक्त छु । हरेक फिल्मलाई पहिलो फिल्म मानेर मेहनत गर्छु,’ आयुष्मानले भनेका छन्, ‘नत्र किनारामा परिन्छ । त्यो मलाई थाहा छ ।’
– एजेन्सीको सहयोगमा