कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लोभलाग्दो गोक्यो

गोक्यो क्षेत्रमा हरेक वर्ष हजारौं पर्यटक आउँछन् । त्यसमा विदेशी धेरै हुन्छन् । आन्तरिक पर्यटक ज्यादै न्यून देखिन्छ । केही वर्षयता भने आन्तरिक पर्यटक बाक्लिँदै गएका छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक र चर्चित छ  । खुम्बु क्षेत्रको गोक्यो भ्यालीको यात्राबारे भरत न्यौपाने लेख्छन् :

लोभलाग्दो गोक्यो

चारैतिर सेता हिमालहरूले घेरिएको, बीचमा नीलो गहिरो ताल, प्रेममा विलिन सुन्दर हाँसका जोडीहरू तैरिरहेको मनमोहक दृश्य अनि तालको एक कुनामा अवस्थित सुन्दर होटल तथा रिसोर्टहरू । धर्तीको यस्तो अनुपम सौन्दर्यले भरिएको स्थानलाई के भन्न सकिएला ?
डेढ दशक अगाडि कक्षा ६ मा पढ्दै गर्दा अनिवार्य अंग्रेजी किताबको एउटा पाठको शीर्षक थियो– अप टु गोक्यो । जहाँ शक्ति हाईस्कुलका बेलुनिस्ट टिमका शिक्षक, विद्यार्थीहरू शम्भु, शान्तिलगायत एउटा चंखे बाँदरले गोक्यो क्षेत्रको भ्रमण गरेको सन्दर्भ उल्लेख गरिएको थियो । त्यतिबेलै एक दिन गोक्यो भ्यालीको साहसिक यात्रा गर्नेछु भन्ने संकल्प बनाएको थिएँ । ढिलै भए पनि त्यो संकल्प गोक्यो भ्याली, चोला पास (५,४२० मिटर), कालापत्थर (५,५५० मिटर) हुँदै सगरमाथा आधारशिविर (५,३६४ मिटर) सम्म पुगेर यथार्थमा परिणत गर्ने अवसर मिल्यो ।
गोक्यो भ्याली सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्जमा अवस्थित छ । गोक्यो क्षेत्रमा समुद्री सतहबाट ४,७०० मिटरदेखि ५ हजार मिटर उचाइमा साना–ठूला गरि चोयु हिमालको काखसम्म ६ वटा तालहरू (हिमताल) रहेका छन् । यसमा गोक्यो तेस्रो ताल हो । गोक्यो तालको सतहको क्षेत्रफल १९६.२ हेक्टर रहेको छ । यसको लम्बाइ १ हजार मिटर, चौडाइ ८५५ मिटर र गहिराइ ४३ मिटर रहेको छ । विश्वमै अग्लो स्थानमा पाइने स्वच्छ पानीका तालहरूको क्षेत्र हो गोक्यो । सन् २००७ देखि गोक्योका तालहरूलाई रामसार क्षेत्रमा पनि समावेश गरिएको थियो ।


गोक्यो ताल पुग्नेहरू जोकोहीलाई निकै आनन्दको अनुभूति हुन्छ । स्वर्गको एक टुक्रा उछिट्टिएर धर्तीमा आएको भन्न पनि सकिन्छ । यहाँसम्म पुग्दा जरुर थकान र उचाइका कारण शारीरिक र मानसिक समस्याहरू आउन सक्छन् तर सुन्दर तालहरू नीलो आकाशसम्मै सेता हिमाल र एकान्त भ्यालीमा आफूलाई पाएपछि सारा यात्राको थकान प्राकृतिक सौन्दर्यको अगाडि विल्कुल फिक्का हुन्छ ।


गोक्यो ताल हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । हजारौं तीर्थालुहरू जनैपूर्णिमाका दिन स्नान गर्न यहाँ आउँछन् । तालको दक्षिण भागमा शिव र विष्णुका मन्दिर छन् । यस ताल नागदेवताका लागि पनि प्रसिद्ध छ । मानिसहरू यस तालमा पौडिँदैनन्, कपडा धुँदैनन्, फोहर
फ्याँक्दैनन्, बरु श्रद्धाले नमन गर्छन् ।


बिहानको सूर्योदय र साँझ सूर्य अस्ताउने समयमा गोक्यो तालको दृश्य अलौकिक नै लाग्छ । अझ पूर्णिमाको रातमा यस ताल वरपर देखिने दृश्यहरू र सेता हिमालहरूमा परावर्तित जूनको किरणले वातावरणलाई एउटा अनौठो सौन्दर्यता प्रदान गर्छ । पुस र माघ महिनातिर अत्यधिक चिसोका कारण यस तालको सतहको पानी जम्ने गर्छ ।


गोक्यो ताल नजिकै ५,३६० मिटर उचाइको गोक्यो रि पिक रहेको छ । यस पिकबाट सगरमाथा, ल्होत्से, पुमोरी, चोयु, मकालुलगायत दर्जनौं हिमाल र हिमशृंखलाहरूलाई एकैसाथ अवलोकन गर्न सकिन्छ । यहाँबाट सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरबाट भन्दा पनि लोभलाग्दा हिमशृंखला हेर्न र देखेको महसुस गरें ।


गोक्यो क्षेत्रमा हरेक वर्ष हजारौं पर्यटक आउँछन् । त्यसमा विदेशी धेरै हुन्छन् । आन्तरिक पर्यटक ज्यादै न्यून देखिन्छ । केही वर्षयता भने आन्तरिक पर्यटक बाक्लिँदै गएका छन् । स्थानीय होटल व्यवसायी पेमा छिरिङ शेर्पा पछिल्लो समय आन्तरिक पर्यटक बढिरहेको बताउँछन् । ‘गोक्योको प्रचारप्रसार तथा नेपालीमा विकसित हुँदै गएको घुमफिर संस्कृतिका कारण गोक्यो क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका हुन्,’ उनले भने ।


हिउँले ढाकिएका सेताम्य हिमाल तथा हिमशृंखलाहरू, हिमताल तथा हिमनदीहरूको भ्रमण गर्न चाहनेका लागि गोक्यो क्षेत्र एक उत्कृष्ट गन्तव्य हो । यहाँसम्मको यात्रा सहज भने पक्कै हुँदैन । त्यसैले लामो समयसम्म हिँड्न सक्ने, उचाइमा शरीरलाई अभ्यस्त पार्न सक्ने क्षमता यात्रुमा हुनुपर्छ । उचाइमा हुने स्वास्थ्यसम्बन्धी जोखिमबारे यात्रापूर्व नै सचेत हुन आवश्यक छ । यसका लागि ट्रेकिङ एजेन्सी, गाइड, स्थानीय मानिससँग सल्लाह र त्यसबारेका वेबसाइटबाट जानकारी लिन सकिन्छ । अनुभवी गाइडको सल्लाह वा साथले आफ्नो
साहसिक यात्रालाई निकै सहज बनाउन सक्छ ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?