बेतिनीमा बोटिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरङको उर्लाबारी–२ मंगलबारे चोकबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि पुगिन्छ, बेतिनी सिमसार  । ३.३ हेक्टर क्षेत्रमा फैलिएको सिमसारमा तलाउ, चराचुरुंगीहरूको आवाज, वनस्पति र जंगलको दृश्य हेर्दा लाग्छ, यहाँ प्रकृति र पर्यावरणको कुनै कन्जुस्याइँ छैन  ।

बेतिनीमा बोटिङ

तलाउमा बोटिङ गर्ने, तलाउबाट खस्ने पानीको छहरामा खेल्ने अनि तराईको गर्मीलाई भगाउने स्थानीय र पर्यटकका लागि मुख्य आकर्षण हुन् ।

विशेषगरी युवायुवती र बालबालिकाहरू बोटिङ गर्न तथा छहरामा खेल्न र सेल्फी खिच्दै रमाउन सिमसार प्रवेश गर्छन् । पूर्व–पश्चिम राजमार्ग नजिकै पर्ने भएकाले पनि देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक यहाँ रमाउन आइपुग्छन् ।


रमणीय दृश्यावलोकनपछि सिमसारको दक्षिण क्षेत्रमा रहेको सानो बजारमा जान्छन् । खरको छानो र बाँसका भाटाले बनाइएका बांगेबजारका अस्थायी छाप्रामा २८ परिवारले होटल व्यवसाय गर्छन् । जसले गाउँघरमा लाग्ने हाटबजारको झझल्को दिन्छन् । दैनिक तीन देखि पाँच सय पर्यटकले सिमसार अवलोकन गरिरहेको सिमसार संरक्षण समितिका अध्यक्ष भीम राई बताउँछन् ।


हेर्दा प्राकृतिकजस्तो लागे पनि तलाउ भने कृत्रिम हो । बीचमा कृत्रिम टापु पनि बनाइएको छ । वातावरण विज्ञानले सिमसारलाई ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, धाप वा दलदल सिम, जल क्षेत्रका घाँसे मैदान वा जंगल क्षेत्रलाई जनाउने गरेको छ । यहाँको सिमसारलाई १.५ वर्गमिटर क्षेत्रबाट निस्किएको जरुवा पानीले सिञ्चित गरेको छ ।


विभिन्न प्रजातिका चरा, पानी हाँस, वन कुखुरा, मांसाहारी चराहरू पाइने हुँदा चरा अवलोकनकर्ताहरूका लागि पनि बेतिनी सिमसार महत्त्वपूर्ण मानिन्छ । कछुवा, माछालगायतका जल प्राणीहरू पनि थुप्रै पाइन्छन् ।

दर्जन बढी प्रजातिका वनस्पति अनि विभिन्न प्रजातिका सुनाखरी पाइन्छन् । दुर्लभ एवं संरक्षित जीव मानिएको अजिंगरको मुख्य बासस्थान छ । यहाँ पाटे बाघको प्रतिरूप तथा बाल उद्यान पनि बनाइएका छन् ।


मोरङको दोस्रो ठूलो सहर उर्लाबारी मुलुकमै पहिलोपटक सिमसार सहर भनेर घोषणा गरिएको सहर हो । सरकारको ‘एक नगर एक पहिचान’ अन्तर्गत सिमसारको सहर भनेर २०७२ सालमा घोषणा गरिएको थियो । उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर र बाँसेचौर गरी अन्य सिमसार क्षेत्रहरू पनि छन् । सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण संवद्र्धनका लागि उर्लाबारी नगरपालिका र वन दुवैले संयुक्त लगानी गरिरहेका छन् ।

शब्द : गाेविन्द पाेखरेल / तस्बिर : विद्या रार्इ

प्रकाशित : कार्तिक १६, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?