पूर्वमा जम्दै नाटक

‘पूर्वमा पैसा तिरेर नाटक हेर्ने संस्कार सुरू भइसकेको छ । यसले नाटक विस्तारै व्यावसायिक बन्न थालेको संकेत गर्छ ।’
पर्वत पोर्तेल

काठमाडौँ — मण्डला थिएटरमा दुई वर्षजति नाटक सिकेका सागर खातीका अघिल्तिर प्रशस्त अवसरहरू थिए । तर, सबै अवसरलाई उनले चटक्क छाडे । र, फर्किए गृहनगर मेचीनगर । गत वर्ष राजधानी छाडेका २७ वर्षीय सागर गाउँमै थिएटर कल्चर सुरु गर्ने अभियानमा लागेका छन् ।


सीमा सहर काँकडभिट्टाको परिवर्तन थिएटरसँग जोडिएका छन् सागर । यही थिएटरमा जमेर काम गर्ने यिनको सोच छ । ‘अब जे गर्छु आफ्नै गाउँठाउँमा गर्छु,’ उनले भने ,‘सक्रिय रूपमा लाग्न सक्दा राजधानीको भन्दा धेरै सम्भावना यतै देख्छु ।’ सागरले परिवर्तन थिएटरमा आबद्ध भइसकेपछि ‘राजाको नयाँ लुगा’ र ‘बस स्टप’ दुई नाटक निर्देशन गरिसकेका छन् ।


प्रकाश दाहाल पनि सागरकै पथमा लागे । काठमाडौंमा रहँदा केही नाटक र फिल्ममा अभिनय गरेका बिर्तामोडका यी २५ वर्षीयले प्रकाश गृहनगरमा नाटक घर बनाउने ध्याउन्नमा छन् । लाटीको छोरो जस्तो चलेको नाटक र पशुपति प्रसाद जस्तो लोकप्रिय फिल्मका यी कलाकारले ‘मित्र मण्डली’ नामक नाट्य समूह बनाइसकेका छन् । ‘चाँडै नाटक घर बनाएर झापाका अन्य समूहसँग सहकार्यमा काम गर्ने योजना बनाएको छु,’ उनले भने ।

Yamaha


सागर र प्रकाशजस्तै धेरैको नजर यतिबेला मोफसलको थिएटरमा छ । थिएटरमा अरू पेसा व्यवसायमा जस्तो मनग्ये पैसा त हुँदैन तैपनि नाट्य मोह अचम्मै छ । परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल अनुभव सुनाउँछिन्, ‘पैसा कमाउँछु भन्नेहरू यो क्षेत्रमा नआए पनि हुन्छ । यहाँ पैसा त पाइँदैन, तर पैसाले पनि किनेर नपाइने सुखचाहिँ अवश्य पाइन्छ ।’ उनका अनुसार परिवर्तन थिएटरमा युवा पुस्ताकै बाहुल्य छ । क्याम्पसका कक्षा सकेर तथा जागिर भ्याएर नियमित नाटकमा लाग्नेहरू पनि छन् ।


पूर्वमा करिब आठ वटा नाट्य समूह सक्रिय छन् । झापामा मात्रै चार वटा समूह छन् । काँकडभिट्टामा परिवर्तन थिएटर, बिर्तामोडमा क्षितिज नाट्य समूह र मित्र मण्डली तथा दमकमा कदम थिएटर । इलाममा चेतना नाट्य समूह र चुलाचुली नाट्य समूह, मोरङमा गुरुकुलसँगै झोराहाट नाट्य समूह र धरानमा अनाम नाट्यले पूर्वको रंगमञ्च धानिरहेका छन् । धरानको अनाम नाट्य जमात, आरम्भलगायत चर्चित समूहहरू सुस्ताएको दशकौं भइसक्यो ।


गुरुकुल, झोराहाट र परिवर्तन थिएटरले नियमित नाटक मञ्चन गरिरहेका छन् । भदौको आरम्भतिर गुरुकुलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ प्रदर्शन गरेको थियो । झोराहाटले लीलबहादुर क्षत्रीको ‘बसाइँ’ देखायो । परिवर्तन थिएटरले वैदेशिक रोजगारीको कहरलाई समेटेर तयार पारेको नाटक ‘खदामा’ ल्याएको थियो ।


सात वर्षयता सक्रिय परिवर्तन थिएटरका सीमित कलाकार पहिला सडक नाटक र कचहरीमा सीमित थिए । उनीहरू दुई वर्षयता भने नाट्यशालामै मञ्चन गरिरहेका छन् । अस्थायी नाटक घरमा शुल्क लिएर वैशाखदेखि नाटक देखाउन थालिएको छ । गुरुकुल र झोराहाटको आफ्नै नाटक घर छ । दमकको कदम र बिर्तामोडको क्षितिज नाट्य समूहले जग्गा लिएका छन् । तर, आर्थिक अभावले नाटक घर बनाइहाल्ने आँट यी दुईसँग छैन ।


क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित भन्छन्, ‘दातामार्फत तीन कट्ठा जमिन प्राप्त भएको छ । विस्तारै नाटक घर बनाउने योजनामा छौं ।’ परिवर्तन थिएटरसँग न त जमिन छ न नाटक घर बनाउने रकम नै । अध्यक्ष कविता नेपाल भन्छिन्, ‘नाटक घरका लागि जग्गा खोजिरहेका छौं ।’


विराटनगरबाहेक पूर्वका अन्य जिल्लामा नाटक घर छैन । जसले गर्दा नाटक मञ्चनका लागि हल भाडामा लिनुपर्ने बाध्यता छ । यसले नाटकलाई खर्चिलोसमेत बनाउने गर्छ । इलामको चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलका अनुसार नाटक प्रदर्शन गरेर खर्च उठाउन पनि गाह्रो छ । उनी भन्छन्, ‘पैसा तिरेर नाटक हेर्ने दर्शक पाउनै मुस्किल छ ।’


चुलाचुली नाट्य समूहका कलाकार चेतन आङथुपो मोफसलमा पनि राजधानीमा जस्तै नाटकलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयत्न भइरहेको सुनाउँछन् । उनले थपे, ‘पूर्वमा पैसा तिरेर नाटक हेर्ने संस्कार सुरु भइसकेको छ, यसले नाटक विस्तारै व्यावसायिक बन्न थालेको संकेत गर्छ ।’
zivi.111@gmail.com

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेतिनीमा बोटिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरङको उर्लाबारी–२ मंगलबारे चोकबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि पुगिन्छ, बेतिनी सिमसार  । ३.३ हेक्टर क्षेत्रमा फैलिएको सिमसारमा तलाउ, चराचुरुंगीहरूको आवाज, वनस्पति र जंगलको दृश्य हेर्दा लाग्छ, यहाँ प्रकृति र पर्यावरणको कुनै कन्जुस्याइँ छैन  ।

तलाउमा बोटिङ गर्ने, तलाउबाट खस्ने पानीको छहरामा खेल्ने अनि तराईको गर्मीलाई भगाउने स्थानीय र पर्यटकका लागि मुख्य आकर्षण हुन् ।

विशेषगरी युवायुवती र बालबालिकाहरू बोटिङ गर्न तथा छहरामा खेल्न र सेल्फी खिच्दै रमाउन सिमसार प्रवेश गर्छन् । पूर्व–पश्चिम राजमार्ग नजिकै पर्ने भएकाले पनि देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक यहाँ रमाउन आइपुग्छन् ।


रमणीय दृश्यावलोकनपछि सिमसारको दक्षिण क्षेत्रमा रहेको सानो बजारमा जान्छन् । खरको छानो र बाँसका भाटाले बनाइएका बांगेबजारका अस्थायी छाप्रामा २८ परिवारले होटल व्यवसाय गर्छन् । जसले गाउँघरमा लाग्ने हाटबजारको झझल्को दिन्छन् । दैनिक तीन देखि पाँच सय पर्यटकले सिमसार अवलोकन गरिरहेको सिमसार संरक्षण समितिका अध्यक्ष भीम राई बताउँछन् ।


हेर्दा प्राकृतिकजस्तो लागे पनि तलाउ भने कृत्रिम हो । बीचमा कृत्रिम टापु पनि बनाइएको छ । वातावरण विज्ञानले सिमसारलाई ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, धाप वा दलदल सिम, जल क्षेत्रका घाँसे मैदान वा जंगल क्षेत्रलाई जनाउने गरेको छ । यहाँको सिमसारलाई १.५ वर्गमिटर क्षेत्रबाट निस्किएको जरुवा पानीले सिञ्चित गरेको छ ।


विभिन्न प्रजातिका चरा, पानी हाँस, वन कुखुरा, मांसाहारी चराहरू पाइने हुँदा चरा अवलोकनकर्ताहरूका लागि पनि बेतिनी सिमसार महत्त्वपूर्ण मानिन्छ । कछुवा, माछालगायतका जल प्राणीहरू पनि थुप्रै पाइन्छन् ।

दर्जन बढी प्रजातिका वनस्पति अनि विभिन्न प्रजातिका सुनाखरी पाइन्छन् । दुर्लभ एवं संरक्षित जीव मानिएको अजिंगरको मुख्य बासस्थान छ । यहाँ पाटे बाघको प्रतिरूप तथा बाल उद्यान पनि बनाइएका छन् ।


मोरङको दोस्रो ठूलो सहर उर्लाबारी मुलुकमै पहिलोपटक सिमसार सहर भनेर घोषणा गरिएको सहर हो । सरकारको ‘एक नगर एक पहिचान’ अन्तर्गत सिमसारको सहर भनेर २०७२ सालमा घोषणा गरिएको थियो । उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर र बाँसेचौर गरी अन्य सिमसार क्षेत्रहरू पनि छन् । सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण संवद्र्धनका लागि उर्लाबारी नगरपालिका र वन दुवैले संयुक्त लगानी गरिरहेका छन् ।

शब्द : गाेविन्द पाेखरेल / तस्बिर : विद्या रार्इ

प्रकाशित : कार्तिक १६, २०७५ १२:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT