ह्यामिल्टनको छलाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — डच ड्राइभर म्याक्स भर्सटापनले आइतबार मेक्सिकन ग्राँ प्रिको उपाधि जिते । त्यसमा जर्मन ड्राइभर सेवास्टिन भेटेल उपविजेता भए । यो रेसको उपाधि भर्सटापनले कब्जा गरे पनि मेक्सिको सिटीमा चौथो स्थानमा रहेका बेलायती ड्राइभर लेविस ह्यामिल्टन फर्मुला वानको विश्व च्याम्पियन बने । उनी पाँचौंपल्ट विश्व विजेता भएका हुन् ।

ह्यामिल्टनको छलाङ

फर्मुला वानमा एक वर्षभित्र (मार्चदेखि नोभेम्बरसम्म) हुने प्रतियोगितालाई एक सिजन मानिन्छ र यसमा सर्वाधिक अंक बटुल्ने ड्राइभर विश्व च्याम्पियन हुने गर्छन् । प्रत्येक रेसमा शीर्ष दस ड्राइभरलाई १ देखि २५ अंक दिइन्छ । यो सिजन (सन् २०१९) मा फर्मुला वानका २१ रेस छन्् । ब्राजिलियन र आबुधाबी ग्राँ प्रि आयोजना हुन बाँकी नै रहेको स्थितिमा उपाधि होडमा सबभन्दा अगाडि थिए, लेविस ह्यामिल्टन । उनलाई सेवास्टिन भेटेलले चुनौती दिइरहेका थिए । त्यसैले मेक्सिकन ग्राँ प्रिको ट्रफी भेटेलले कब्जा गरे पनि सातौं स्थानसम्म रहनसके दुई रेस बाँकी छँदै ह्यामिल्टन विश्व विजेता हुने पक्का थियो । र, भयो पनि त्यस्तै । मेक्सिकोमा भेटेल दोस्रोमा रहे भने ह्यामिल्टन चौथो हुँदै विश्व विजेता बने ।


मर्सिडिजका ह्यामिल्टनले दुई रेस बाँकी छँदा च्याम्पियनसिपमा ३ सय ५८ अंक बनाएका छन् भने भेटेलले २ सय ९४ । अब ब्राजिल र आबुधाबीमा उपाधि जिते भने पनि भेटेलले
ह्यामिल्टनलाई उछिन्न सक्ने छैनन् । ३३ वर्षीय ह्यामिल्टन पाँचौंपल्ट फर्मुला वानको विश्व विजेता भएका हुन्् । आफ्नो पुस्ताका उत्कृष्ट ड्राइभर मानिएका उनले यस क्रममा अर्जेन्टिनी जुआन म्यानुएल फान्जियोको कीर्तिमान पनि बराबरी गरे ।


ह्यामिल्टन फर्मुला वानको सर्वाधिक सफलको सूचीमा जर्मन ड्राइभर माइकल सुमेकरभन्दा मात्र पछाडि छन् । सुमेकर सातपल्टका विश्व विजेता हुन् । उनले फर्मुला वानमा ९१ रेस जितेका छन् । ग्राँ प्रि (रेस) को उपाधिमा ह्यामिल्टन २० ट्रफीले पछाडि छन् । यो सिजन भेटेलले पाँच रेसमा सफलता हात पर्दा उनले नौ रेसको उपाधि जिते । यो सिजन एक रेसमा मात्र अंक जोड्न नसकेका उनी कीर्तिमान र महानतम् ड्राइभरमा आफूलाई जोडेर बोल्न चाहँदैनन् ।


यसअघि उनी सन् २००८, २०१४, २०१५ र २०१७ मा विश्व च्याम्पियन बनेका थिए । उनी फर्मुला वानका सबभन्दा महँगा ड्राइभर हुन् । फोब्र्सका अनुसार उनलाई मर्सिडिजले वार्षिक ४ करोड पाउन्ड तलब दिन्छ । उनको मर्सिडिजसँग सन् २०२० सम्मलाई अनुबन्ध रहेको छ ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?