३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फेरि क्विन र मरकेरी

मरकेरीको निधनले निकै स्तब्ध हुनेमा पर्छन्, डेकन पनि । मरकेरीबिना उनले क्विन्सको अस्तित्व नै स्विकार्न सकेनन् र बाँकी विश्वबाट आपैंm हराउन ठीक माने ।
कान्तिपुर संवाददाता

काठमाडौँ — इंग्ल्यान्डको चर्चित रक ब्यान्ड ‘क्विन’ को सबैभन्दा लोकप्रिय गीत हो–बोहेमन रापसोडी । अझ भनौं, पश्चिमेली संगीतमा सबैभन्दा सुनिने गीतमा पर्छ । क्विनका जीवित तीन सदस्यमध्ये कसैले पनि यसको अर्थ मात्र होइन, यो गीतले भन्न खोजेको सन्देश पनि बुझाउन सकेका छैनन् ।

फेरि क्विन र मरकेरी

सन् सत्तरीको दशक खुबै चर्चित यो ब्यान्डको बायोपिक ‘बोहेमन रापसोडी’ अघिल्लो साता रिलिज भएको छ र यसले फेरि क्विन र फ्रेडी मरकेरीलाई चर्चामा ल्याएका छन् । यसबारे हिमेश बज्राचार्य लेख्छन् :

बाहेमन रापसोडी’ को साँच्चै अर्थ के हो, कसैले भन्न सकेका छैनन् । जसले भन्न सक्ने थियो, उनी पनि यो संसारमा छैनन् । इंग्ल्यान्डको चर्चित रक ब्यान्ड ‘क्विन’ को सबैभन्दा लोकप्रिय गीतमा पर्छ यो । अझ भनौं, पश्चिमेली संगीतमा सबैभन्दा सुनिने गीतमा पर्छ । क्विनका जीवित तीन सदस्यमध्ये कसैले पनि यसको अर्थ मात्र होइन, यो गीतले भन्न खोजेको सन्देश पनि बुझाउन सकेका छैनन् । त्यसमध्ये लिड गितारिस्ट ब्रायन मेले भने जस्तै, यो सबै बुझ्ने र भन्न सक्ने अरू कोही होइन, फ्रेडी मरकेरी मात्र हुन् ।


क्विनका जादुयी फ्रन्टम्यान हुन्, उनी । मरकेरीले नै यो गीत लेखे, उनले नै यो गीतमा डुबेर गाए । सन् १९९१ मै उनको मृत्यु भएको थियो, मात्र ४५ वर्षको उमेरमा । त्यस अगाडि उनले पूरा विश्वलाई स्तब्ध पार्दै भनेका थिए, ‘मलाई एड्स छ ।’ त्यति बेलाको समय र परिस्थिति नै त्यस्तै थियो । यही रोगले उनलाई मृत्यु आत्मसात् गर्न पनि बाध्य पार्‍यो । बोहेमन रापसोडी मात्र होइन, पूराका पूरा मरकेरीलाई पनि बुझ्न कठिन थियो, बाँचुन्जेल ।


तर उनको मृत्युले भने त्यति बेला तहल्का नै मच्चाएको थियो । सन् अस्सीको दशक भर्खर सकिन लागेको थियो । र, धेरैभन्दा धेरै मन पराइएका गायकलाई एड्स लागेको तथ्य धेरैले स्विकार्नै सकेका थिएनन् । लगभग यही मोड त हो, एचआईभी संक्रमणलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको । मरकेरी आपैंm गज्जबका व्यक्ति थिए । उनको गाउने, बोल्ने र रंगमञ्चमा प्रस्तुत हुने शैली आपैंmमा अमूर्त खाले थियो, सायद यी सबै त्यति बेलाको समयभन्दा पहिलेका भए ।


जति बेला मरकेरीको निधन भयो, त्यति बेला ब्यान्ड आपैंmमा सफलताको शिखरमा थियो । अहिले पनि ब्यान्ड लगभग अस्तित्वमा छ भने पनि हुन्छ, किनभने ब्यान्डकै नाममा मे र ड्रमर रोजर टेलरले टुर गर्ने गर्छन् । बास गितारिस्ट जोन डेकन भने यसरी हराए कि गुमनाम जस्तै भए । सबैलाई थाहा छ, उनी कहाँ छन् र कता बस्छन् भनेर । तर जति बेला उनको घरमा फोन गरिन्छ, उताबाट उत्तर आउने गर्छ, डेकन छैनन्, कता छन्, थाहा भएन ।


खासमा मरकेरीको निधनले निकै स्तब्ध हुनेमा पर्छन्, डेकन पनि । मरकेरीबिना उनले क्विन्सको अस्तित्व नै स्विकार्न सकेनन् र बाँकी विश्वबाट आपैंm हराउन ठीक माने । मरकेरी छँदै ब्यान्डले भने ठूलै फड्को मारेको थियो, सफलताको आधारमा । सन् १९७० मा स्थापित ब्यान्डको वास्तविक यात्रा लगभग दस वर्षको त हो । तर पनि यही समयमा पनि ब्यान्डले धेरै कालजयी गीत दिएका थिए । अझै पनि उत्तिकै सुनिने गरिन्छ, यो ब्यान्डलाई ।


अहिले यो सबै चर्चा किन भन्दा क्विनलाई लिएर बनेको फिल्म अघिल्लो साता रिलिज भयो र यो फिल्म शुक्रबार काठमाडौंमा आउँदै छ । अहिले यो फिल्म पनि उत्तिकै चर्चामा छ । नहोस् पनि किन र ? यो क्विन ब्यान्डलाई लिएर बायोपिक हो र यसको केन्द्रविन्दुमा छन्, उनै मरकेरी । र, यसको नाम पनि अरू केही होइन, ‘बोहेमन रापसोडी’ नै छ । सिनेमामा क्विनले तय गरेको एक दशकको लगभग पूरा चित्र खिचिएको छ, खालि यसमा छैन त, मरकेरीका अन्तिम दिनका खास–खास घटनाहरू ।


मरकेरीको खास नाम हो, फारोक बुलसरा । उनलाई ब्यान्डमा साथ दिने साथी तिनै तीन जना थिए, मे, टेलर र डेकन । मरकेरीको यौनप्रति धारणा नै अलग थियो, उनी बाइसेक्सुएल थिए । ड्रग्सको कुलतमा पनि फसे । जति बेलासम्म ब्यान्ड सक्रिय रह्यो, त्यति बेला उनीहरूले बिताएको जीवन एक प्रकारले स्वप्निल थियो । आम मानिसले जसरी जीवन यस्तो भइदिए हुन्थ्यो भनेर कल्पना गर्छन्, त्यस्तै जीवन उनीहरूले बिताए र उही उडानको कथा हो, ‘बोहेमन रापसोडी’ । अनि यो फेरि एकपल्ट मरकेरीलाई सम्झने बहाना पनि भएको छ ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?