कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सफलको स्वप्निल यात्रा

‘नासामा काम गर्छु भन्दा हतपत कसैले पत्याउँदैनन् । मेरो परिचयपत्र देखाउँदा भने आश्चर्य मान्छन् ।’
भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा उनलाई डीभी चिट्ठा पर्‍यो । त्यस बेला विद्यार्थी भिसाका लागि पनि उनले प्रयास गरिरहेका थिए । मेकानिकल इन्जिनियरिङको पढाइ बीचमै त्यागेर उनी सन् २०१० मा अमेरिका उडे । 
विमल खतिवडा

काठमाडौँ — परिवारको सपना छोरालाई चिकित्सक बनाउने थियो । छोराको पनि आफ्नै सपना थियो– रकेटमा काम गर्ने । चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ । किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् ।

सफलको स्वप्निल यात्रा

रकेटको सबै इन्जिनदेखि इन्धन, अक्सिडाइजर सञ्चालन गर्ने जिम्मेवारी प्रोपल्सन इन्जिनियरको हो । पड्र्यु विश्वविद्यालयबाट सन् २०१५ मा स्नातक पूरा गरेका उनका अनुसार यो प्रोजेक्ट १०–१२ वर्षको हुन्छ । ‘सुरुमा कलेजमै बोइङ कम्पनीले आएर काम दिएको थियो,’ दसैं–तिहार मनाउन नेपाल आएका बेला भेटिएका उनले भने, ‘त्यसैको माध्यमबाट नासाको प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो ।’ उनका अनुसार बोइङमा काम गर्ने अरू नेपाली पनि छन् । रकेटमा काम गर्ने भने आफू एक्लो रहेको उनले बताए ।


उनले उच्च शिक्षामा चाहेको विषयको पढाइ नेपालमा उपलब्ध थिएन । भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा उनलाई डीभी चिट्ठा पर्‍यो । त्यस बेला विद्यार्थी भिसाका लागि पनि उनले प्रयास गरिरहेका थिए । मेकानिकल इन्जिनियरिङको पढाइ बीचमै त्यागेर उनी सन् २०१० मा डीभीमार्फत अमेरिका उडे । चन्द्रमामा पहिलो मानव पाइला राखेका नील आम्स्ट्रङ पढेकै कलेजमा भर्ना पाएको उल्लेख गर्दै उनले भने, ‘पुरानो प्रमाणपत्रको आधारमा मैले छात्रवृत्ति पाइनँ । त्यसैले काम गर्दै पढ्न थालें ।’ अन्तत: पहिलो वर्षको नतिजापछि उनले छात्रवृत्ति हात पारे ।


‘मेरो जुन सपना थियो, त्यो अहिले पूरा भइरहेको छ,’ सफलले भने, ‘मैले कहिले पनि संघर्ष गर्न छाडिनँ । त्यसैमा गरिएको मिहिनेतले अहिलेको अवस्थामा आइपुगेको छु ।’ उनको बाल्यकालदेखि नै डिस्कोभरी, नेसनल जोग्राफी च्यानलमा देखाइने हवाईजहाजका कार्यक्रममा बढी रुचि थियो । उनी खुबै हेर्थे पनि । सेन्ट जेभियर्समा १२ कक्षा पढेपछि उनी चिकित्सा विज्ञानतिर लागुन् भन्ने बुबाआमाको चाहना थियो । ‘बाआमा म डाक्टर बनोस् भन्ने चाहन्थे । मैले अमेरिका जाने ढिपी गरें । नभए भारतमा मेकानिकल इन्जिनियरिङ पढ्ने भनेर जिद्दी गरें,’ उनले सुुनाए ।


उनको बुबालाई भनेर मात्रै पुग्दैन, पत्यारिलो पार्न देखाउनै पर्छ । ‘उहाँले प्रत्यक्ष देखेपछि मात्र विश्वास गर्नु हुन्छ । त्यसैले दीक्षान्त समारोहमा आउनुभयो । मैले काम गर्ने र बस्ने ठाउँ हेरेपछि मात्र उहाँले पत्याउनु भयो र खुसी हुनुभयो,’ उनले भने, ‘नासामा काम गर्छु भन्दा हतपत कसैले पत्याउँदैनन् । मेरो परिचयपत्र देखाउँदा भने आश्चर्य मान्छन् ।’


सुरुमा उनलाई एयर क्राफ्टमा काम गरेर अमेरिकी नागरिकता हात लागेपछि मात्र रकेटको प्रोजेक्टमा काम गर्न सुझाव दिइएको थियो । तर, उनले रकेट प्रपोल्सनको म्यानेजरलाई सम्पर्क गरेपछि सबै कुरा सम्भव भयो । उनले एकपछि अर्को जिम्मेवारी सम्हाल्ने अवसर पाइरहे र त्यसमा उनले आफूलाई सिद्ध सावित पनि गरिरहे । त्यसैले उनले स्पेस फ्लाइट अवेरनेस टिम अवार्ड २०१८ पनि प्राप्त गरे ।


अमेरिकामा सुरुमा रकेट डिजाइन ‘रकेट डिजाइन सेन्टर हन्सभिल्ले’ मा हुन्थ्यो । अहिले ठूलो मात्रामा रकेटको डिजाइन यहीं गरिन्छ । बोइङबाट आएका उनले ‘कन्ट्रयाक्ट ब्याच’ हात पारेपछि मात्र नासाभित्र रहेर काम गर्ने अवसर पाए, जुन अनिवार्य मानिन्छ । त्यहाँ उनको काम ‘कम्पोनेन्ट’ डिजाइन गर्ने हो । नियमित इन्जिन र त्यसका स–साना अवयवहरूको डिजाइनमा उनी जुटिरहेका हुन्छन् । ‘बाहिरको चिसो, तातो वातावरणमा सम्हालिन सक्छ/सक्दैन भन्ने हेर्नुपर्छ । हरेक कम्पोनेन्टको इन्टेनसिप टेस्टिङ गर्नुपर्छ,’ उनले आफ्नो कामबारे भने ।


उनी कार्यरत प्रोजेक्टको पहिलो रकेट लन्च सन् २०२० मा फ्लोरिडाबाट गर्ने योजना रहेको छ । यस रकेटको नाम स्पेस लन्च सिस्टम (एसएलएस) दिइएको छ । एक्सप्लोरेसन मिसन १ मा रकेटले चन्द्रमा फन्को मारेर फर्कनुपर्ने हुन्छ । पहिलो उडान मानवरहित हुने पनि सफलले बताए ।


उनी अमेरिका बस्ने आफ्नो परिवारका एक्लो हुन् । ‘यहाँ (अमेरिका) मा मेरो परिवार छैन । त्यसैले चाडबाड बनाउन घर फर्किने गरेको छु,’ उनले भने । स्कुल पढ्दा उनलाई शिक्षकले भविष्यको लक्ष्यबारे प्रश्न गर्दा उनले रकेटमा काम गर्ने सपना भएको बताउने गरेका थिए । ‘त्यस बेला शिक्षक र साथीहरूलगायत सबैले मेरो लक्ष्य सुनेर हँसिमजाक गर्थे । अहिले नातेदारसहित उनीहरू सबै दंग छन्,’ उनले भने ।


[email protected]

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?