कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्या साहस !

विद्या राई

काठमाडौँ — अचानक स्लोप छोडेको ज्यान चिच्याउँदै भोटेकोसीतर्फ खस्यो । १६० मिटर माथिबाट खसेको ज्यान जब डोरीसँगै झट्कियो । टाउको मुनि । खुट्टा सिधा माथि । झट्काले कहालिएको थिएँ । तीन सेकेन्डजति श्वास नै रोकिएजस्तो लाग्यो । त्यतिबेला मलाई लाग्यो–खुट्टा मात्रै सिधै माथि छैनन्, म पनि माथि पुग्दैछु, प्राण सकियो ।

क्या साहस !

गाउँमा जन्मिएँ । पहाड, भीर, पहरा, छाँगा, छहरासँग पौंठेजोरी खेल्दै हुर्किएँ । घाँस, दाउरा, मेलापात र गोठाला अनि उकाली–ओराली गर्दै दैनिकी बिते । जसलाई गाउँ बस्दाका बाध्यता भनिन्छ ।

सहर लागेपछिका अनेक रहर । तिहारअघि । १६ जनाको टिम भोटेकोसी पुग्यौं । रहरले रक क्लाइबिङ गरें । गाउँ छँदा भीरमा घाँस काट्दै लडेर अनुहारमा चोटैचोट लागेको दिन सम्झिएँ । ज्याकोब ल्याडर चढेसँगै एब्सेलिङ गरें । करेसाबारीमा बखडाका रूख भाइबहिनीसँग अंशबन्डा गरेर खेलेका दिनहरू याद आए । भोटेकोसी पुगेपछि बन्जी र क्यानोइङ छुट्ने कुरा थिएनन् । जसलाई साहसिक पर्यटकीय खेलका रूपमा पनि लिइन्छ ।

रक क्लाइम्बिङ अर्थात् पहरोमा उक्लने/झर्ने । ‘वेइस्ट’ हार्नेस्, क्यारोबिन, हेल्मेट, डोरी र क्लाइम्बिङ मास्टर । गन्तव्य आठ मिटरमाथि । हात र खुट्टाको बलले ‘ह्यान्डकिट’ लाई समाउँदै उक्लनु भनेको ‘फलामको चिउरा चपाउनु’ झैं भयो । एकदेखि पाँचौं विन्दुसम्म पुग्दा आठ मिटर पूरा हुन्छ । चिट–चिट पसिना, कापेका हातखुट्टा अनि डरले कटकटी खाएको मन । यस्तै भइरहेको थियो । तेस्रोदेखि चौथो र चौथोदेखि पाँचौं विन्दुसम्म पुग्न त्यति सजिलो थिएन । क्लाइम्बिङ मास्टरले टाँगिदिएको डोरीमा झुन्डिँदा जति डरलाग्दो भयो, उत्तिकै रमाइलो पनि । त्यस क्षणको मज्जा बेग्लै भयो । अन्त्यमा गन्तव्य स्थल पाँचौं विन्दुमा पुगेपछि खुसीले गद्गद् हुँदै लामो श्वास फेर्दा आफैंमा गर्व महसुस भयो ।

त्यसपछि ज्याकोब ल्याडर चढ्यौं । पिल्र्लिक–पिल्र्लिक हल्लिने भर्‍याङको २५ मिटर उक्लिन साथीको हौसलाले ठूलै बल दियो । माथि पुगेपछि भुइँतिर हेर्दा मुटु ढक्क फुल्यो । डोरीमा झुन्डिएर ओर्लंदाचाहिँ संसार जितेजस्तै भइरहेको थियो ।

बन्जी जम्प गर्न सबैजना भोटेकोसीको झोलुंगे पुलमा जम्मा भइयो । झोलुंगे पुलमाथि पहिलोपल्ट हिँड्दाको याद मलाई अझै ताजै छ । सात वर्षअघि पहाडबाट तराई झर्दा नीलो र गहिरो अरुण नदीमाथिको पुलमा प्वालैप्वाल देखेर सिरिंग भएको जीउ र थरर काँपेका खुट्टाले पाइला सार्नै मानेका थिएनन् । आमाले दाहिने हातमा जोडले समातेर तान्नुभएको थियो वारिदेखि पारि पुग्दासम्मै । मान्छेको पदचापले कोक्रोझंै हल्लिएको पुलले उसैगरी मुटुलाई बेस्कन हल्लाइरहेको थियो ।


रहर पनि अचम्मकै रहेछ । बन्जी मास्टरले मेरो पालो आएको जनाउ दिए । म उनको नजिक गएँ । म आफैंलाई खुब साहसिलो लाग्थ्यो । तर, पुलबाट हाम फाल्ने भनेपछि मुहार फेरियो । अत्तालिएको र हतासिएको थिएँ । उनले खुट्टामा ‘एङ्कल’ हार्नेस बाँधिदिए । कम्मरमा पनि ‘बडी’ हार्नेस बाँधिदिए । एकाएक मन पनि बाँधियो । देब्रे हातमा गोप्रो क्यामरा थियो । क्यामरा हेर्दै मनमनै भनें, ‘राम्रो दृश्य कैद गर्नुपर्छ, अरूले भिडियो हेर्दा नि वाह १ क्या साहसी भनुन् ।’

त्यो क्षणको सबैभन्दा हँसिलो मुहार क्यामेरामा देखाएँ । जब पुलको बार कटेर हाम फाल्ने स्लोपमा पुगें । हाँसिरहेकै थिएँ । तर मुटुको चाल आफूलाई मात्रै थाहा थियो । गोप्रो क्यामरा हातमा छ भन्नेसम्म याद नहुने गरी हाँसिरहेकी थिएँ । बन्जी मास्टरले पछाडिबाट समातेका थिए । ‘तल नहेर्नुस्, पर हेर्नुस्’ भन्दै थिए । मैले डरले आकाशतिर हेर्न भ्याइसकेको थिएँ । दुवै हात फिजाउन लगाए । फिजाएँ । छाती थोरै अगाडि झुकाएर हाम फाल्नु है भन्दै उनले एक, दुई, तीन, बन्जी भने ।

चिम्सा आँखा उसै त सदाबहार चिम्मैजस्तो हुन्छन् । उनले बन्जी भनेपछि अचानक स्लोप छोडेको ज्यान चिच्याउँदै भोटेकोसीतर्फ खस्यो । १६० मिटर माथिबाट खसेको ज्यान जब डोरीसँगै झट्कियो । टाउको मुनि । खुट्टा सिधै माथि । झट्काले कहालिएको थिएँ । तीन सेकेन्डजति श्वास नै रोकिएजस्तो लाग्यो । त्यतिबेला मलाई लाग्यो ‘खुट्टा मात्रै सिधै माथि छैनन्, म पनि माथि पुग्दैछु, प्राण सकियो ।’

यत्तिकैमा दोस्रोपल्ट पनि डोरी झट्कियो । अत्तालिएँ । माथिबाट मास्टरले सिठी फुके । अनि पो याद भयो म डोरीसँगै छु भनेर । बाँचेकै रहेछ भन्ने लाग्यो । मुनि हेरें नीलो भोटेकोसी सुसाउँदै थियो । म भने बाँचेर झुन्डिरहेको ज्यान पुलमा कसरी पुग्छ होला भनी सुस्केरा हाल्न थालें । अचानक डोरी झट्कारेर खुट्टा फुस्काउनुपर्छ भन्ने सम्झिएँ । र, फुस्काएँ पनि । मुन्तिर झुन्डिएको टाउको माथि भयो । बल्ल याद भो– मैले बन्जी गरिरहेकी छु । हातमा क्यामरा पनि छ । राम्रा–राम्रा फुटेज लिनुपर्छ । रमाइलो गर्नुपर्छ । अघि खुट्टा र कम्मरको भरमा झुन्डिएको म खुट्टा फुस्काइसकेको भएर होला, कम्मरमा बोझ भयो । भोक लाग्यो । झोलुंगे पुल निकै माथि देखियो । खाजा पनि साथै लिएको भए कति रमाइलो हुन्थ्यो होला भन्ने सोचेर दंग परें ।

बन्जी मास्टरले माथिबाट डोरी पठाए । मैले क्यारोबिनमा ह्याङ गरें । अनि विस्तारै माथि उक्लिएँ । केही सेकेन्डको बन्जी साँच्चै साहसिक लाग्यो । स्वर्गमा पुगेर फर्केजस्तै अनुभूति भयो । बन्जी गर्दा सोचेजस्तो दिमाग कहाँ चल्छ र ? पहिला सोचे जसरी गोप्रोमा फुटेज लिनै सकिनँ ।

अनि क्यानोइङ गर्न पाङलाङ खोलातिर लागें । पानीको छाँगोमा एब्सेलिङ, जम्पिङ एन्ड स्लाडिङ डाउन गर्दै आठ वटा झरना पार गरेर भोटेकोसीमा उक्लिने लक्ष्य थियो । १६ मिटरको पहिलो झरनामा पालो कुर्न गाह्रो लागेको थियो । तर, १० मिटरको दोस्रो झरनाको सिधा ओरालो हेर्दा सातो नै गयो । त्यहींबाट फर्कौंजस्तो भयो । १२ मिटरको तेस्रो झरना हुँदै २५ मिटरको चौथो झरना पार गर्ने बेला पानीको छाँगो, इन्द्रेणीको किरणले क्यानोइङलाई अद्भुत बनाइदियो । आठौं झरना पार गरेसँगै क्यानोइङ सकियो र झरनाको फोहराको प्रहारसँगै डोरी समातेर ओर्लंदा डरमात्रै होइन, रमाइलो पनि महसुस गरें ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?