जहाज नम्बर डीपी २१७८

उनी मरिना क्लबको सदस्य भए । जहाजको मालिक बने । आकाश ‘मेजेस्टी ६१’ जहाजमा ‘भीआईपी’ ग्राहकलाई ‘पर्सियन समुद्र’ डुलाइरहन्छन् ।
होम कार्की

काठमाडौँ — धनकुटाका ३२ वर्षीय आकाश घिमिरे श्रमिकका रुपमा खाडी छिरेका थिए । खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्दा श्रमिकबाट आकाश पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक पनि हुन् ।

पुरानो दुबई हेर्ने भए बर दुबई जाऊ । नयाँ दुबई हेर्न मरिना । यही मरिनाले नै संसारलाई दुबईतर्फ आकर्षण गर्दैछ । आनन्द लिन भौतिक रूपमा तयार गरिएको साधन यही छ । उच्च सुविधायुक्तको व्यापारिक मल मात्रै छैन । हरेक क्षेत्रमा नाम कमाएका हस्तीहरूको अपार्टमेन्ट यही छ । ती अपार्टमेन्ट समुद्रमा कमलको फूल फुलेजसरी लहरै उभिएका छन् ।

त्यही समुद्रको किनारमा ‘दुबई मरिना एच क्लब’ छ । जहाँ ५ सय ५० भन्दा बढी सुविधायुक्त पानीजहाजलाई आकर्षक रूपमा पार्किङ गरी राखिएका छन् । जसमध्ये एउटा ‘मेजेस्टी ६१’ नाम गरेको डीपी २१७६ नम्बरको पानीजहाज छ । त्यसका २५ प्रतिशत मालिक हुन्, आकाश घिमिरे ।
नाम्जाङ सिदुवा–धनकुटाका ३२ वर्षीय आकाश कसरी विश्वस्तर क्लब मरिनाका सदस्य भए ? कसरी जहाजको मालिक बन्न पुगे त ? यसको कथा बुझ्न दुबई–कतारको १२ वर्षे दु:ख संघर्ष खोतल्नुपर्छ ।

आकाश एकैपटक सेतो सर्ट, कालो पाइन्ट र क्याप्टेनको टोपी लगाउन दुबई छिरेका थिएनन् । सन् २००६ तिरको कुरा हो । भर्खरै १२ कक्षा पास गरेका थिए । हातमा स्काभेटर चलाउने सीप मात्रै थियो । रिभर ओभरसिज म्यानपावरलाई ६५ हजार रुपैयाँ बुझाएर कतारमा स्काभेटर चलाउन उडे । सम्झौता गरेअनुसार कम्पनीले स्काभेटर चलाउन दिएन । नीलो डांग्री (पोसाक) दिएर लेबरमा बेल्चा हान्न पठाए । कतारी कम्पनीमा ६ महिनाभन्दा बढी बेल्चा हान्नुपरेन । ‘म अंग्रजी राम्रैसँग बोल्थें । कम्पनीले मलाई साइडमा पठाएन । अफिसभित्रै सहयोगी बनायो,’ उनले भने, ‘अफिसभित्र छिरेपछि काम सिक्न थालें । मलाई खरिद गर्ने विभागमा राखियो । कम्पनी छोड्ने बेलासम्म हर्ताकर्ता भइसकेका थिएँ ।’

कतार दुई वर्षसम्म टिके । सवारी चालक अनुमति बनाइसकेका थिए । नेपाल फर्के । नेपाल फर्केको दुई महिनाभित्रै दुबई गए । ‘दुबईमा आफन्त थिए । के भिसामा आउने भनेर सोधे । उनीहरूले कतारी लाइसेन्स भए ड्राइभिङ काममा आइज । सजिलो हुन्छ,’ उनले भने, ‘ड्राइभिङ काममै गए ।’
संयोगले उनी दुबई मरिना एच क्लबमै गाडी चलाउन पुगे ।

उनले पहिलोपटक पानीजहाज मरिनामै गएर देखेका थिए । सेतो जहाज पानीमा सरर चलेको देख्दा मन लोभियो । त्यतिखेर आकाशलाई लाग्यो, ‘अब सडकमा गाडी होइन, पानीमा जहाज कुदाउने हो ।’

‘के भए जहाज चलाउन पाइन्छ ?’

मरिना क्लबमा आउनेहरूसँग बुझ्थे । एउटाले भनिदिए, ‘६ महिने कोर्स छ । त्यो कोर्समा उत्तीर्ण भए पाइन्छ ।’

ड्युटी साँझ ६ बजेदेखि बिहान ३ बजेसम्म हुन्थ्यो । कलेजको समय ९ देखि ६ बजेसम्म । काम सकिनासाथ कलेजका लागि तयार हुन्थे । ‘कैयांै दिनसम्म त म कोठामा पनि गइनँ । गाडी नै मेरा लागि कोठाजस्तो हुन्थ्यो,’ उनले भने, ‘मसँगै आउने साथीहरू अहिले पनि मेरो त्यतिखेरको मिहिनेतलाई सम्झन्छन् । अहिले सम्झँदा आफंैलाई लाग्छ । मैले त्यो ६ महिना कसरी बिताउन सकें ?’

खाने, बस्ने र सुत्ने कुनै ठेगान थिएन । मुस्किलले दिनमा दुई/तीन घण्टा सुत्थें । कलेजको शुल्क ३५ हजार दिराम (१० लाख ५० हजार रुपैयाँ) थियो । कलेजलाई तिर्ने पैसा भने सबै तलबबाटै जुटाउने । ‘१५ सय दिराम तलब आउँथ्यो । कहिलेकाहीँ टिप्स पाउँथें,’ उनले भने, ‘मेरो घरमा पैसा माग्ने कोही छैन ।’

६ महिनाको कोर्स पूरा गरेपछि उनले तुरुन्तै जहाज चलाउन पाएका थिएनन् । हातमा सीप छ तर चलाउन जहाज छैन । ‘केन्ट भन्ने एकजना चिनेको थिएँ । उसको मरिनामा जहाज थियो । बिदाको दिन मलाई आफ्नो क्रूर मेम्बर (हेल्पर) बनाएर लग्न थाले । ऊ बस्थे । म जहाज चलाएर हिँड्थें,’ उनले भने, ‘एक दिनको ५ सय दिराम दिन्थें ।’

जहाज चढ्न आउने सामान्य खालको वर्ग हँुदैन । ‘एक दिनका लागि ५० हजार दिराम (१५ लाख रुपैयाँ) खर्च हुन्छ,’ उनले भने, ‘मैले जहाज चलाउन थालेपछि बढीजसो जहाज मालिकसँग सम्बन्ध हुन गयो ।’

त्यही क्रममा मिस्टर जेनसँग भेट भयो । उसले आफ्नो जहाजको क्याप्टेन बनाए । महिनाको ४ हजार ५ सय दिराम तलब दिन तयार भए । पानीमा जहाज कुदाउने सपना जेनले पूरा गरिदिए । त्यसपछि गाडी चलाउने काम छोडिदिए ।

उनीसँगको सहयात्रा दुई वर्षसम्म निरन्तर भयो । मजेनको ११ वटा जहाज थियो । चार जना मात्रै क्याप्टेन । ‘चार जनाले ११ वटा जहाजको व्यवस्थापन गर्नुपथ्र्यो । एउटा जहाज लिएर गयो । फर्केर आउँदा अर्को जहाजमा ग्राहक प्रतीक्षामा बसिरहेका हुन्थे,’ उनले भने, ‘धेरै प्रेसर भयो । धान्न गाह्रो भयो ।’
त्यही बेला एक जना बेल्जियम एउटा प्रस्ताव लिएर आए । उनी यूएईका ठूला व्यापारी थिए ।

‘म एउटा प्राइभेट जहाज लिँदै छु । यसको क्याप्टेन तिमीलाई बनाउँछु । तर तिमीलाई महिनावारी तलब दिन्न । २५ प्रतिशत हिस्सा दिन्छु । मलाई चाहेको बेला मसँग हुनुपर्छ । बाँकी तिमीले यसको व्यवस्थापन गर्नुपर्छ,’ उनको प्रस्ताव थियो ।

जहाजको मूल्य कम्तीमा ३० लाख दिराम (झन्डै ९ करोड रुपैयाँ) पर्छ । त्यसको कम्तीमा २ करोड २५ लाख रुपैयाँ आकाशले जुटाउनुपर्दथ्यो । ‘जहाज चलाउँदा तलबभन्दा टिप्स आउँथ्यो । कहिले त एकै जनाले पनि १० हजार दिराम (३ लाख रुपैयाँ) सम्म दिन्थ्यो । मैले कमाएको पैसा सबै यूएईमा राखेको थिएँ,’ उनले भने, ‘उनले राखेको प्रस्ताव स्वीकार गर्नसहज भयो ।’

त्यसपछि उनी मरिना क्लबकोसदस्य भए । जहाजको मालिक बने । आकाश ‘मेजेस्टी ६१’ जहाजमा‘भीआईपी’ ग्राहकलाई ‘पर्सियन समुद्र’ डुलाइरहन्छन् ।

twitter: homkarki2

प्रकाशित : मंसिर १४, २०७५ ०९:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फरक रोजाइ

निर्देशक दिनेश राउत र अभिनेता विपिन कार्की अलग धारका लाग्छन् । तर प्रसादमा उनीहरुले एकसाथ काम गरेका छन् । कसरी जुर्‍यो यो मौका र प्रसादप्रति उनीहरुको अपेक्षा के होला ?
गोकर्ण गौतम

काठमाडौँ — लभ स्टोरी फिल्म बनाउँछन्, निर्देशक दिनेश राउत । सुकिलामुकिला र चिरिच्याट्ट परेका हिरोहिरोइनलाई खेलाउँछन् । विपिन कार्कीचाहिँ न हिरोको परम्परागत मानकमा अटाउँछन्, न रोमान्टिक भूमिकामा देखापरेका छन् । अर्थात्, दिनेशको निर्देशन र विपिनको अभिनयको धारै अलग छ । विगत हेर्दा यस्तै लाग्छ । तर यो सोचाइ बदल्नुपर्ने भएको छ । मंसिर २१ गते प्रसाद प्रदर्शन हुँदै छ ।

जसको निर्देशक हुन्, दिनेश । मुख्य भूमिकामा विपिन । केही भिन्न लाग्ने यो सहकार्यका बारेमा दिनेश भन्छन्, ‘सर्जकले सधैं उस्तै काम गर्छ/गर्नुपर्छ भन्ने छैन । यसपटक जुन कथा भन्दै छु, त्यसमा विपिन नै उपयुक्त देखें ।’ विपिनको भनाइ पनि करिब उही छ, ‘मलाई पनि रोल मन पर्‍यो । फरक निर्देशकसँग काम गर्दाको अनुभव पनि सँगाल्ने चाह जाग्यो ।’

भलै प्रसादका लागि सुरुमा दिनेश होइन, पटकथाकार सुशील पौडेलले कुरा गरेका थिए, विपिनलाई । सुरुमा विपिनले सोचेका रहेछन्, सुशील नै निर्देशक हुन् । दिनेशले निर्देशन गर्ने थाहा पाएपछि पनि विपिनको कौतुहलता हराएन । पात्र प्रिय लागेको जो थियो । उनले दिनेशका फिल्म खासै हेरेका रहेनछन् । तर दिनेशचाहिँ विपिनका फ्यान ।

हरेक चरित्रलाई न्याय दिन सक्छन् भन्ने लाग्थ्यो । यसअघि चार फिल्म निर्देशन गरिसकेका विपिन भन्छन्, ‘त्यसैले मौका मिल्दा विपिनसँग काम गर्छु भन्ने थियो । यसपटक जुर्‍यो ।’ र, यतिबेला औधी खुसी छन् । कारण, विपिनले चरित्रलाई जति जीवन्त बनाउन सक्छन् भन्ने अपेक्षा राखेका थिए, क्यामेरा अगाडि विपिनको पर्फमेन्स अझ दमदार भइदियो । प्रसादको प्रचारप्रसारमा कस्सिएर लागेका दिनेशले सुनाए, ‘चरित्रको हुलिया, बोल्ने शैली र शारीरिक हाउभाउ हरेक पक्षमा विपिनले मलाई अचम्मित पारिदिएँ । साँच्चै उनी भर्सटायल रहेछन् ।’ अभिनयसँग विपिनको व्यक्तिगत आनीबानीबाट पनि प्रभावित भएछन् उनी ।

विपिनलाई चाहिँ दिनेश होइन, को–स्टार नम्रता श्रेष्ठमाथि ठूलो शंका र द्विविधा थियो । उनले नम्रतालाई जति चिनेका थिए, स्क्रिप्ट पढिरहँदा सुहाउँछिन् भन्ने फिटिक्कै लाग्दैनथ्यो । किनभने, नारायणी नामक उक्त पात्र गाउँले र दु:ख पाएकी हुन्छन् । ‘नम्रताफिट हुन्नन् भन्न पनि नमिल्ने, हस्तक्षेप गरेको जस्तो हुन्थ्यो । नबोलौं, उनी फिट हुन्छिन् भन्ने लाग्दै–नलाग्ने,’ विपिन भन्छन्, ‘तर काम गर्दै जाँदा यस्तो लाग्यो, त्यो चरित्रका लागि निर्विकल्प नम्रता नै हुन् ।’ वर्कसपमै नम्रताले चरित्रमा असाध्यै मिहिनेत गरेकाले पात्रलाई न्याय दिन सकेको बुझाइ छ विपिनको । भन्छन्, ‘नम्रताबाट म निकै प्रभावित भएँ ।’ फिल्ममा उनीहरू पति–पत्नी हुन्छन् । यस अगाडि उनीहरूले छड्के र ताण्डवमा सँगै काम गरे पनि एउटै फ्रेममा खासै देखिएका थिएनन् ।

दिनेशका लागि चाहिँ नम्रता सदाबहार प्रिय नायिका हुन् । अघिल्ला चारमध्ये तीन फिल्ममा नम्रता थिइन्, नोभेम्बर रेन, क्लासिक र पर्व । मेरो एउटा साथी छ मा दिनेश मुख्य सहायक निर्देशक थिए, नम्रता मुख्य भूमिकामा । ‘त्यतिबेलै नम्रताको अभिनय शैली मन परेको थियो । पछि सँगै काम गरेपछि व्यक्तिगत व्यवहार पनि राम्रो लाग्यो । सिनेमाप्रतिको सोचाइ मिल्यो,’ सधैं नम्रतालाई लिनुको कारण यसरी सुनाउँछन् दिनेश, ‘नम्रताले हरेक भूमिकामा न्याय गर्न सक्छिन् भन्ने विश्वास छ । त्यसैले नम्रताको विकल्प खोज्नुपरेको छैन ।’ प्रसादमा नम्रता र विपिनबाहेक निश्चल बस्नेत पनि छन् । निश्चलको भूमिकामा सुरुमा अर्कै अभिनेता थिए, उनको ‘इन्ट्री’ पछि भएको हो । दिनेशकै शब्दमा, निश्चलले सशक्त अभिनय नगरे पनि दर्शकले रुचाउँछन् । उनको ‘फेसभ्यालु’ छ । दिनेश भन्छन्, ‘निश्चललाई लिँदा व्यापारिक लाभ हुन्छ भन्ने लोभ थियो नै । किन लुकाउनु र ? तर चरित्र पनि उनीसँग मिल्दोजुल्दो छ । रिजल्ट राम्रो आयो भन्ने लाग्छ ।’ उनका अनुसार स्क्रिप्टमा केही ‘इनपुट’ दिए पनि सेटमा गएपछि निश्चलले कुनै हस्तक्षेप वा असहयोग गरेनन् । उनी थप्छन्, ‘मैले सेटमा निश्चल निर्देशक हुन् भन्ने बिर्सिएर काम गरें । एउटै सिनमा ४२ टेकसम्म लिएको छु ।’

पछिल्लो समयमा नेपालमा कि कमेडी फिल्म चलेका छन् कि रोमान्टिक । तर प्रसाद बजारिया मसलामुक्त छ । व्यापार बढ्ला भनेर एक्सन, कमेडी पञ्चलाइनहरू घुसाइएको छैन । निर्देशकको भनाइ हो यो । उनले सिर्फ मन छुने कथा इमानदार ढंगले भन्ने प्रयास गरेका छन् । ‘हिजो मैले बनाएको सिनेमा दोह्रोर्‍याएर हेर्न सक्दैनथें तर प्रसाद दुईपटक हेरिसकें,’ दिनेश भन्छन्, ‘निर्देशकका रूपमा मेरो ग्रोथ छ । सकेसम्म राम्रो काम गर्ने प्रयास गरेका छौं । अब व्यापार, हाम्रो हातमा हुने कुरा होइन ।’

प्रसादको बक्स अफिस कलेक्सनले विपिनको करिअरमा पनि ठूलो अर्थ राख्छ । उनको कामले प्रशंसा कमाए पनि उनका पछिल्ला फिल्म हरि, नाइके र लालपुर्जाले पैसा कमाएनन् । त्योहिट फिल्मको अभाव प्रसादले पूर्ति गर्ला त ?

थिएटरबाट फिल्ममा फड्को मारेका विपिनभन्छन्, ‘मलाई हरिजस्तै यो फिल्मबाट सन्तुष्टि मिलेको त छैन । अलि बढी नै संवादको प्रयोग छ । तर मेरो पात्रले संवेदना जित्छ र फिल्मले व्यापार राम्रै गर्छ भन्ने अपेक्षा छ । मेरो चाह पनि त्यही हो ।’

gokarna.gtm@gmail.com

प्रकाशित : मंसिर १४, २०७५ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT