योजनाविहीन रोमाञ्चक यात्रा 

सजना बराल

काठमाडौँ — सोचविचार गरेपछि जुम्ला जाने इच्छा मरेको थियो । घर बस्नेवाला म थिइनँ । तर, कहाँ जाने र के गर्ने अत्तोपत्तो थिएन । बसपार्क गएपछि जुन गाडी पहिले भेटिन्छ, त्यसमै चढ्छु भन्ठानें । बीजी मलनिर पुगेपछि ‘लमजुङ जाने हो ?’ भन्दै सहचालक दाइ मेरोछेउ आए । खुब खुसी लाग्यो ।

दु:खद सुरुवात थियो । मेरो जुम्ला घुम्ने सपना चकनाचुर भयो । दिदीहरूले लास्ट आवरमा जुम्ला टुर क्यान्सल भएको बताउनुभयो । मैले घरबाट निस्किने मुड बनाइसकेकी थिएँ । झोला तयार थियो । अफिसमा एक हप्ताको छुट्टी पाएकी थिएँ । भेटेजति सबैलाई जुम्ला जानेबारे निकै ठाँटसाथ सुनाएकी थिएँ, अझ स्याउको सुकुटी ल्याइदिम्लासमेत भन्न भ्याएकी थिएँ ।

Yamaha


तर, उडायो सपना सबै हुरीले जस्तो भयो । मलाई ङिच्च दाँत देखाउँदै अफिस फर्किन मन भएन । बरु, एक्लै जुम्ला जाने आँट आयो । तर, नाप–नक्सा थाहा थिएन । आफ्नै देश घुम्न के को नक्सा चाहियो १ गइदिन्छु भन्ठानें । बिहान ८ बजे सुर्खेतको फ्लाइट थियो, म बिहानभरि सोचमग्न भएँ । गुगल म्याप नियालें । होटल खोजें । त्यहाँ भएका साथीलाई सम्पर्क गरिहेरें । र, गह्रौं झोला भिरेर म लागें नयाँ बसपार्कतिर ।

लमजुङ जाँदा मलाई सुखै–सुख हुन्थ्यो । त्यहाँ मेरो आन्टी हुनुहुन्छ । यो कुरा याद दिलाएकामा दाइलाई मनमनै धन्यवाद दिएँ । अनि सुरु भयो पामचोक/खुँदीतिरको मेरो यात्रा ।

मलाई अचानक आँगनमा देख्दा अंकल, आन्टी, भाइ र बहिनी छक्कै पर्नुभयो । सानो भाइले खुसी हुँदै ‘म यस्तो गर्न सक्छु, उस्तो गर्न सक्छु’ भन्दै सानातिना स्टन्ट देखायो, आफ्ना खेलौना र कापी–किताब छरपस्ट पार्‍यो । आन्टीले मलाई मनपर्ने चीजबिज पकाउनुभयो । मैले ममीलाई फोन गरें अनि जुम्ला क्यान्सिल भएर एकाएक लमजुङ आएको बताएँ ।

मेरो आन्टी काठमाडौंको जायजेथा बेचेर लमजुङ झर्नुभएको तीन वर्ष भइसकेको थियो । ‘तिमीहरू बेला–बेलामा आयौ भने मलाई एक्लो छु जस्तो लाग्दैन’ भन्नुभयो । मलाई जुम्ला क्यान्सल भएकामा बेस्सरी खुसी लाग्यो ।

खुँदी पुगेको साँझ भाइले मलाई ‘हाम्रो गाउँमा चार दिन एकादशी छ र त्यही बेला मौसम पनि छ’ भन्यो । मैले उसको भाषा बुझिनँ । भोलिपल्ट थाहा भयो, ठूली एकादशीदेखि चार दिनसम्म मस्र्याङ्दी महोत्सव आयोजना गरिएको रहेछ । उसले महोत्सवलाई तोते बोलीमा मौसम भनेको थियो । महोत्सव हेर्न गइयो । त्यहाँ विभिन्न वडाका अनेक जातजातिका मौलिक नाचगान देखें । मेरो पत्रकार मन लोभियो । यिनको रिपोर्टिङ गर्न पाए मज्जा आउँथ्यो जस्तो लाग्यो । तर, त्यही दिन ङादी जानुपर्ने भएकाले कलाकारसँग बोलिरहन पाइनँ ।

गेटबाट बाहिरिँदै गर्दा स्टेजमा भजन टोली रोयला गाउँदै थिए । उनीहरू भन्थे, ‘इन्द्रकमल फूलकी माला शिवलाई चढाऊ, साँझकी लक्ष्मीलाई तिमीले दीपै जगाऊ... ।’ दुई घण्टा पैदल हिँडेपछि ङादीमा चीनले निर्माण गरेको सिनो–हाइड्रोको पावर हाउस देखियो ।

ङादीमा पावर हाउस बनेपछि त्यहाँ खुब चहलपहल बढेछ । बाटोभरि होटल खुलेका ।

म खासै घुमफिर नगर्ने प्राणीमा पर्छु । अचेल एकल यात्रा र त्यसमाथि सोलो विमेन ट्राभलिङको लहरै चलेजस्तो भएको छ । मैले एकताका यसबारे आर्टिकल लेख्दा ‘यी केटीलाई के एक्लै घुम्न मन लागेको होला’ भन्ठानेकी थिएँ । यसपालि आफैं एक्लै घुम्दै थिएँ । सुरुमा यो मेरो रहरको घुमाइ थिएन । पछि घर फर्किन मन नलागेर हैरान !

लमजुङबाट पोखरा जाने सोचें । सानोबुबाले बाइकमा बेंसीसहर पुर्‍याइदिनुभयो । अफ–रोड बाटो भयानक थियो । झोलुंगे पुल भनेपछि मेरो सातो जान्थ्यो पहिले । त्यहाँ बाइकमै पुल तर्नु पर्दोरहेछ । अनि मभित्रको डर पुलबाटझ्वाम्मै हाम फालेर मस्र्याङ्दीमा बग्यो । उहाँले झिसमिसे उज्यालोमा खेतको आली–आली बाइक कुदाउनुभयो । त्यो दिनदेखि मलाई काठमाडौंको खाल्डाखुल्डी सडक देखेर रिस उठ्न छोडेको छ । यहाँ हामी खाल्डो भयो भनेर रिसाउँछौं, उहाँ अंकलहरू आलीमा कुदाउँदासमेत गुनासो गरिरहनुभएको छैन ।

बेंसीसहरबाट पोखरा जाने माइक्रो पाइएन । बाह्र बजेसम्म पोखरा नपुगे घान्द्रुकको जिपले मलाई छोडेर जानेवाला थियो । अनि म फेरि अलपत्र पर्नेवाला थिएँ । तसर्थ, काठमाडौं जाने माइक्रो चढें । डुम्रे ओर्लिएँ । त्यहाँबाट पोखरा जाने माइक्रो समाएँ । अनि सिटछेउको दाइलाई आधा–आधा घण्टामा ‘अब कतिबेरमा पोखरा पुगिन्छ ?’ भनेर सोधिरहें । उनले झर्को नमानीकन अनुमान लगाइरहे ।

हरेक माइक्रोमा भेटिएका सबै दाइ, दिदी, आमा, हजुरबुबा, आन्टी, बहिनी, भाइहरूले पूर्ण सहयोग गरेको देख्दा मलाई मनैदेखि खुसी लाग्यो । म फटाहाजस्तो नदेखिएकाले सहयोग गरेका होलान् भन्ठानें । बेंसीसहरबाट डुम्रेसम्म ल्याइदिने गुरुजीले आफ्नो माइक्रो रोकिवरी पोखरा जाने अर्को माइक्रोसम्म मेरो गह्रौं झोला बोकिदिएका थिए । झोलाले मलाई बाटोभरि सतायो । यात्रामा छँदा हलुका भएर हिँड्नुपर्छ भन्ने जानें ।

ठ्याक्कै एघार बजे अमरसिंह चोक आइपुग्यो । त्यहाँबाट पृथ्वीचोक हुँदै कुन्नि के चोक र फेरि अर्को चोक हुँदै हरि चोकबाट घान्द्रुकतिर लागियो । जिपमा सँगै हुनुभएको मालती गुरुङ दिदीका गफ साह्रै मीठा थिए । उहाँले आफ्नो बाल्यकाल र बिहेपछिका घटना सुनाउनुभयो । जिपमै तीन घण्टा लाग्ने मोदी पुलदेखि घान्द्रुकसम्मको बाटो पैदल हिँड्नुपर्दाको दु:ख सम्झेर उहाँले दिक्क मान्नुभयो । ‘यो ठाउँ पहिले चिहान थियो,’ उहाँ भन्नुहुन्थ्यो, ‘अहिले पो यस्तो गाडी, बिजुलीको सुविधा भयो ।’

डाँडाको टुप्पामा रहेको घान्द्रुक गाउँ हामी पुग्दा झिलिमिली बलेको थियो । आकाशमा गौंथली नाचिरहेका । गौंथलीलाई मैले भँगेरा भन्ठानें । मेरो साथीले त काग हो भन्दै थियो अझ १ गाउँकी आन्टी हाम्रो संवाद सुनेर खितिती हाँस्नुभयो अनि गौंथलीबारे बताउनुभयो । मसँग चारजना साथी थिए । म लमजुङ गएको थाहा पाएपछि उनीहरू पोखरा आए अनि घान्द्रुकको प्लान बन्यो । हामी रातभर आगो ताप्दै बस्यौं । मध्यरातमा आकाश खुलेर आयो । अन्नपूर्ण र माछापुच्छ्ेर देखिए । सेतो बादल हो कि हिउँको हिमाल १ मैले सुरुमा ठम्याउनै सकिनँ ।

सबै घर/होटलमा नाचगान चलिरहेको थियो । खुसी भएर सुतें । बिहान आँखा खोल्दा हिमाल सेतो थिएन, सुनौलो थियो । प्रत्येक होटलका छत र आँगनमा मान्छेको भीड सेल्फी खिच्न व्यस्त देखियो ।

घान्द्रुकको खाना महँगो । र, पटक्कै नमीठो लाग्यो । हामी बसेको होटलमा विदेशी पर्यटक पनि थिए । हामीलाई देख्नेबित्तिकै हाँसे, बोल्न खोजे । बिहान उनीहरू भन्दै थिए, ‘यो ठाउँ रमाइलो छ तर शान्त छैन । रातभर हल्ला बढी हुँदोरहेछ ।’ दिउँसो हामी फर्कियौं । जिपमा बसेका एक स्थानीय अंकल घान्द्रुक फोहोर भएकामा रिसाउँदै हुनुहुन्थ्यो । बसपार्कमा चाउचाउका खोल र पानीका बोत्तल छरपस्ट थिए । बजारका मान्छे जहाँ पायो त्यहीं फोहोर फाल्छन् भन्नुभयो ।

घान्द्रुकको विकासले होटलवालालाई मात्र फाइदा भएको अंकलको भनाइ थियो । ‘बाँकी स्थानीयको जीवनमा कुनै परिवर्तन आएको छैन,’ उहाँले भन्नुभयो, ‘यी जिपवालालाई पनि फाइदा भएको छ । तलबाट ४५० रुपैयाँमा आउनेहरू माथि ६८० रुपैयाँमा मात्रै फर्किन्छन् । गोरा पाए भने नेपालीलाई छोडेर हिँड्छन् ।’ आन्तरिक र बाह्य पर्यटकलाई गरिने फरक व्यवहार र आन्तरिक पर्यटकमाथि हुने भेदभावबारे थाहा पाउँदा चित्त दुख्यो । तर, मलाई निराश हुन मन थिएन । उहाँहरूलाई रमाइला गफ गर्न आग्रह गरेर हाँस्दै फर्किएँ ।
sazna07@gmail.com

प्रकाशित : मंसिर १४, २०७५ ०९:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बिटकोइनमा नयाँ के हुँदै छ ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — करिब एक दशक लामो इतिहास बोकेको विकेन्द्रित डिजिटल मुद्रा बिटकोइनको मूल्य कहिले अत्यधिक चुलिएको देख्न सकिन्छ भने कहिले यसमा भारी गिरावट आइरहेको हुन्छ । अघिल्लो वर्ष करिब यस्तै समयतिर सरदर १५ हजार अमेरिकी डलर रहेको बिटकोइनको मूल्य यस वर्ष भने खासै उकालो लाग्न सकेको छैन ।

अहिले हेर्ने हो भने एक बिटकोइन बराबर करिब ३५ सय अमेरिकी डलर पर्न आउँछ, जुन तुलनात्मक हिसाबमा निकै कम हो । तर, बजार अध्ययन गरी अहिले यसमा लगानी गर्नेलाई भने पछि मूल्य बढेका बेला यो फलदायी सिद्ध हुन सक्छ । त्यसैले बिटकोइन खरिद गर्न चाहनेका लागि अहिलेको समय उपयुक्त छ ।

...
अमेरिकी राज्य ओहायोमा अबदेखि बिटकोइनका माध्यमबाट कर भुक्तानी गर्न पाइनेछ । यो नियम लागू गर्ने पहिलो राज्य नै ओहायो बनेको छ । हाललाई व्यवसायमा मात्र सीमित राख्ने भनिएको यो नियम छिट्टै आममानिसको पहँुचमा समेत पुर्‍याउने लक्ष्य त्यहाँको राज्य सरकारले लिएको छ । अधिकांश सेवासुविधा डिजिटल माध्यमबाट लिन सकिने अमेरिकामा यो नियम छिट्टै देशव्यापी हुने आकलन विज्ञहरूले गरिरहेका छन् । स्थिर विनिमय दर नभएका कारण कर तिर्ने समयमा भएको दरलाई नै आधिकारिक मान्ने निर्णय पनि पारित हुने भएको छ । चीन, बोलिभिया, इक्वेडर, किर्गिजस्तान, नेपालजस्ता देशमा भने बिटकोइनलगायत सम्पूर्ण क्रिप्टोकरेन्सीको प्रयोग वर्जित छ । ताइवान, भियतनाम र रुसमा यो आंशिक रूपमा वर्जित छ ।

...
नर्वेमा सरकारले बिटकोइन माइनर्सलाई दिँदै आएको विद्युत् अनुवृत्ति खारेज गर्ने भएको छ । सन् २०१९ को सुरुआतसँगै व्यक्तिगत तथा संस्थागत रूपमा बिटकोइन तथा अन्य डिजिटल मुद्रा माइनिङ गर्दै आएका निकायले करसहित विद्युत् महसुल भुक्तानी गर्नुपर्नेछ । यसअघि भने माइनर्सका हकमा उक्त नियम लागू हुँदैनथ्यो । बिटकोइन माइनर्सले यसमा असन्तुष्टि व्यक्त गरे पनि विभिन्न सरकारी पदाधिकारीले भने यसमा आफ्नो सहमति जनाएका छन् । भविष्यमा डिजिटल मुद्रा खारेज नै गर्नेसम्मको संकेत दिँदै आएको नर्वे कालान्तरमा प्रविधिको विकासमा बाधक नै बन्न सक्ने तर्क पनि नआएका होइनन् ।

प्रकाशित : मंसिर १४, २०७५ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT