३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘खुसी’ को खेती

खेती हेर्न र फूल लगाउने विधिबारे सोध्न काठमाडौंका विभिन्न ठाउँ तथा जिल्लाबाट आगन्तुकको नर्सरीमा भीड लाग्ने गर्छ । 
विमल खतिवडा

काठमाडौँ — काठमाडौं वरपर फूल खेती गर्नेहरु भन्छन्– ‘कमाइ राम्रो छ ।’ सुरूवाती लगानी महँगो भए पनि यसले दिने प्रतिफल लोभलाग्दो छ । फूल खेतीमा रमाएकाहरुको अनुभव :

‘खुसी’ को खेती

सीतापाइला चोक कटेर केही किलोमिटर उकालो चढेपछि आइपुग्छ– रामकोट । रामकोटभन्दा केही पर छ घट्टेखोला । यो ठाउँको नयाँ विशेषता यहाँ हुने फूल खेती पनि हो । दर्जनौं रोपनी जग्गा भाडामा लिएर फूल खेती गर्नेमध्येमा पर्छिन् २६ वर्षीया अञ्जना आचार्य । रामकोटकै रैथाने आचार्यले यो व्यवसायमा हात हालेको ८ वर्ष भयो । कलंकीको जनमैत्री क्याम्पसबाट बीबीएस सकेकी उनले कलेज जान सुरु गरेदेखि नै फूल खेती सुरु गरेकी हुन् ।

थरीथरी रंगमा फुलेका गुलाफ टिप्दै गरेकी उनी भन्छिन्, ‘यो काम सुरु गरेपछि अन्त ध्यानै गएन ।’

अन्त ध्यान नजानुमा एउटा कारण पनि छ, यही व्यवसायको कमाइले उनको परिवार पालिएको छ । यहींको आम्दानीले उनले आफ्नी दुई बहिनीलाई पढाएकी छन् र आमालाई पालेकी छन् । सखारै नर्सरी पुग्ने उनको दैनिकी यही बित्छ । ‘पढेलेखेकी मान्छे माटो खेलाएर के बस्छेस्’ भन्ने आफन्तलाई पनि उनले यसैको कमाइले जवाफ दिएकी छन् ।

अञ्जनालाई यो व्यवसाय चिनाउने उनकै भिनाजु पाण्डव श्रेष्ठ हुन् । ३२ वर्षीय पाण्डव १२ वर्षदेखि फूल खेती गर्छन् ।

साली–भिनाजुले एसएस कट फ्लावर नर्सरी र सिर्जना कट फ्लावर नर्सरी दर्ता गरेर फूल खेती गर्दै आएका छन् । ३० रोपनी जग्गामा उनीहरूले रोपेको फूल अहिले ढकमक्क छन् ।

९ रंगका गुलाफ, जरबेरा, गोदावरीले सजिएको उनीहरूको नर्सरीमा पुग्ने जोकोही आश्चर्यमा पर्छ ।

‘सुरुमा तरकारी खेती गरे, माछा र कुखुरा पाले,’ पाण्डव भन्छन्, ‘सोख फूल खेतीमा थियो, रोजेको क्षेत्रमा पूर्ण व्यावसायिक भएको छु ।’

खेती नागार्जुन नगरपालिका ८ स्थित घट्टेखोलामा उनीहरूको खेती छ । ३० रोपनीमध्ये १४ रोपनीमा गुलाफ फुलेका छन् । ८ रोपनीमा जरबेरा फूलले ढाकेको छ । बाँकी जग्गामा गोदावरी ढकमक्क छ ।

‘एक लाख लगानीमा १ हजार गुलाफ रोपेर खेतीको सुरुवात गरेको थिएँ,’ उनी भन्छन्, ‘अहिले लगानी २ करोड ७५ लाख र गुलाफको संख्या ४० हजार पुगेको छ ।’ वार्षिक ७० देखि ७५ लाखको फूलको कारोबार हुने पाण्डव बताउँछन् । उनीहरूको खेतीमा १५ जनाले काम पाएका छन् । फूल बिक्रीमा समस्या छैन ।

उनले फ्लोरी कल्चर एसोसिएसन नेपालको पहलमा सरकारबाट ग्रीन हाउस निर्माण गर्न ३० लाख अनुदान पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत समेत सहयोग पाएको उनले सुनाए ।

इचंगुमा घर भएका उनी पनि बिहानै नर्सरी पुगेर बजार माग अनुसार होलसेलमा फूल पठाउँछन् । खेती हेर्न र फूल लगाउने विधिबारे सोध्न काठमाडौंका विभिन्न ठाउँ तथा जिल्ला–जिल्लाबाट आउने आगन्तुकको नर्सरीमा भीड लाग्ने गर्छ । फूलबाहेक उनी गुलाफको बिरुवा पनि बिक्री गर्छन् । चैतदेखि मंसिरसम्म गुलाफको सिजन हो ।

पुसदेखि फागुनसम्म चिसोका कारण काठमाडौंमा गुलाफ नफुल्ने भएकाले यो बेलामा फूल फुलाउन बाहिरी जिल्लामा खेती विस्तार गर्ने सोचमा छन्, उनी ।

जरबेरा फूल भने चैतदेखि मंसिरसम्म राम्ररी फुल्छ । उनीहरूको दुवै नर्सरीमा फू्ल ढकमक्क छन् । फूल टिप्न भ्याइनभ्याई छ ।

यो क्षेत्रमा पछिल्लो समय फूल लगाउनेको संख्या बढ्दै गएको छ । पाण्डवको सिको गर्दै बलम्बुका ३० वर्षीय वीरकृष्ण श्रेष्ठले पनि यही २२ रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेका छन् । उनी बढीजसो मौसमअनुसारको फूल फुलाउँछन् । फार्मको नाम बिरा कटफ्लावर नर्सरी राखेका छन् । उनको फार्ममा गुलाफ, कार्नेसन, गोदावरी, ज्ञानथुंगा, असर्फी, सयपत्री ढकमक्क छन् ।

‘खेती सुरु गरेको ५ वर्ष भयो,’ उनी भन्छन्, ‘आम्दानी राम्रो छ, फूल तयार हुँदा बजारको समस्या छैन ।’ उनले ९ जनालाई रोजगारी दिएका छन् । गुलाफ मात्र १५ रोपनीमा लगाएका छन् । जब बिहेको सिजन आउँछ, यो बेला गुलाफको माग अघिपछिभन्दा बढी हुन्छ । वार्षिक ५० देखि ६० लाखको फूल बिक्री गर्ने उनी बताउँछन् । प्लस टु पास गरेपछि उनले व्यवसायमा हात हालेका हुन् ।

यहाँका फूल उपत्यकाबाहेक पोखरा, नारायणगढ र धरानसम्म पुग्छ । पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्ने युवाको जमात बाक्लो छ ।

यस्तै फूल खेती गर्ने भक्तपुर दधिकोटका सुशील खड्काको भने यो पुख्र्यौली पेसा हो । २०५८ सालमा नेपाल कमर्स क्याम्पस मीन भवनबाट बीबीएस सकेपछि सुरुको एक वर्ष जागिर खाए । त्यसपछि बुबा जयबहादुरले गर्दै आएको फूल खेतीमा बढी सक्रिय हुँदै गए ।

‘जागिरे साथीहरू धेरै भए पनि जागिरबाट सन्तुष्ट कमै छन्,’ उनी भन्छन्, ‘तर व्यवसाय गरेर म मात्र रोजगार भएको छैन, अरूलाई रोजगारी दिन सक्ने भएको छु ।’

१८ रोपनी जग्गामा फूल लगाएका छन् । अघिल्लो वर्ष करिब ३५ लाखको कारोबार भएको उनी बताउँछन् । यो वर्ष ५० लाखको फूल बिक्री गर्ने तयारीमा जुटेका छन् । उनको फार्ममा १३ जना काम गर्छन् । फार्ममा अहिले लिमोनियम र जरबेरा फुलेको छ । वर्षको ८ महिना फूल बिक्री गर्न भ्याइनभ्याई हुन्छ । फूल खेती गर्ने साथीहरूसँग मिलेर फूल बिक्री गर्ने होलसेल खोलेका छन् ।

फ्लोरी कल्चर एसोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेल फूल खेती सुरु गर्न अन्य खेतीको तुलनामा बढी लगानी पर्ने बताउँछन् । कम्तीमा पनि १५ लाख लगानी आवश्यक पर्ने उनको बुझाइ छ । १० वर्षयता फूल खेतीमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको बताउँछन् ।

पोखरेलका अनुसार नेपालका ४३ जिल्लामा व्यावसायिक फूल खेती हुन्छ । एसोसिएसनमा ६ सय ९७ जना आबद्ध भएको उनले बताए । एसोसिएसनमा आबद्ध नभएका करिब सय छन् । व्यावसायिक फूल खेती गर्नेमध्ये २० देखि ४० वर्षका ६५ प्रतिशत भएको उनको अनुमान छ ।

[email protected]

तस्बिर : बिजु महर्जन

प्रकाशित : मंसिर १४, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?