२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

द बिटल्स

हिमेश

काठमाडौँ — बिटल्सको नवौं स्टुडियो एल्बम ‘द बिटल्स’ आएको ५० वर्ष भएको छ । त्यति बेला यसले खुबै नै चर्चा बटुलेको थियो । यस्तै चर्चा अहिले पनि चलिरहेको छ । केही परिमार्जन र थपथापसहित फेरि यो एल्बमलाई जारी गरिएको छ । यसलाई परम्परागतभन्दा केही फरक सुनिँदा कस्तो भएको छ त ? यसको उत्तर अहिले जारी एल्बममा पाइन्छ ।

द बिटल्स

साँच्चै बिटल्सको चर्चा कहिले पनि सकिने छैन । यो ब्यान्डबारे मात्र कुरा होइन । उसको एल्बमलाई लिएर पनि हो । यस इंग्लिस ब्यान्डले पाँँच दशक अगाडि आफ्नो नवौं स्टुडियो एल्बमका रूपमा यसलाई जारी गरेको थियो र यो आफ्नै ब्यान्डको नाममा थियो । त्यसो भनेको, ‘द बिटल्स’ । त्यसो त यसलाई ‘ह्वाइट एल्बम’ को नामले चिनिन्छ, किनभने यसको कभरमा केही पनि छैन, खालि सेतो खुला रंगबाहेक । त्यसबीच ठ्याक्कै आँखामा पर्ने ‘द बिटल्स’ भने लेखिएको छ ।


अहिले चारैतर्फ यसको चर्चा छ र यसको कारण हो, यो ऐतिहासिक एल्बम जारी भएको ५० वर्ष भएको छ । सन् १९६८ को नोभेम्बर २२ मा यसलाई जारी गरिएको थियो । त्यति बेला यसले खुबै नै चर्चा बटुलेको थियो । यस्तै चर्चा अहिले पनि चलिरहेको छ । अहिले यताउता केही परिमार्जन र थपथापसहित फेरि यो एल्बमलाई जारी गरिएको छ । ह्वाइट एल्बमका केही गीत निकै लोकप्रिय छन् । यसलाई परम्परागतभन्दा केही फरक सुनिँदा कस्तो भएको छ त ?


यसको उत्तर अहिले जारी एल्बममा पाइन्छ । द बिटल्सको खास प्रशंसक हो भने यसलाई कम्तीमा एकपल्ट सुन्नु त आवश्यक नै हुन्छ अनि यिनै प्रशंसकसँग पुरानो ह्वाइट एल्बम छन् भने त्यसलाई नयाँसँग तुलना गर्नु पनि मज्जाको हुनेछ । लगभग एक वर्ष अगाडि मात्र बिटल्सको यस्तै अर्को ऐतिहासिक एल्बम ‘सार्जेन्ट पेपर्स लोनली हार्ट्स क्लब ब्यान्ड’ को नयाँ रूप जारी गरिएको थियो । त्यति बेला पनि यो खुबै लोकप्रिय प्रयोग सावित भएको थियो ।


यो द बिटल्सको आठौं स्टुडियो एल्बम थियो । ब्यान्डका आठौं र नवौं एल्बममा धेरै फरक छ । सबैभन्दा ठूलो फरक त एल्बमको कभरमै छ । जहाँ ‘सार्जेन्ट पेपर्स लोनली हार्ट्स क्लब ब्यान्ड’ मा मान्छे नै मान्छे छन् । मान्छेका फरक–फरक अनुहार । त्यहीं ह्वाइट एल्बममा केही पनि छैन । दुई एल्बमबीच खासै समयको अन्तर पनि छैन, सायद एक वर्ष मात्र हो । तर यति कम समयमा पनि ब्यान्डले पनि ठूलो न ठूलो यात्रा तय गर्‍यो, विशेषत: स्वभावमा ।


यी दुई एल्बमबीच द बिटल्स धेरैखाले परिवर्तनबाट गुज्रियो । त्यसैले पनि ह्वाइट एल्बम विशेष छ । यो बिटल्सको एक मात्र डबल एल्बम हो, जसका दुई भाग छन् । पहिलो भागमा १७ गीत छन् भने दोस्रोमा १३ । पहिलो भाग ‘ब्याक इन द यूएसएसआर’ बाट सुरु भएर ‘जुलिया’ मा टुंगिन्छ, त्यहीं दोस्रो भागको सुरुआत ‘बर्थडे’ बाट हुन्छ र सकिन्छ, ‘गुड नाइट’ बाट । जति बेला यो एल्बमको प्रख्यात ‘एबी रोड’ मा रेकर्ड भइरहेको थियो, पूरा समय यसले समाचारको रूप लिएको थियो ।


गीत रेकर्ड गर्न जोन लेनन, पउल म्याकार्टनी, जर्ज ह्यारिसन र रिंगो स्टोर त्यस वर्षको ३० मे महिनामा छिरे र अन्तिम पटक १४ अक्टोबरमा बाहिर निस्के । त्यसो भनेको पाँच महिना । त्यसबीच के मात्र भएन र ? एबी रोडबाट धेरै उडन्ते गफ बाहिर निस्के र त्यो एक कान दुई मैदान हुँदै ठूल्ठूला गसिपमा बदलियो । यसमध्ये केही गफ साँच्चै भएकै घटना पनि सावित भयो । कतिपयले त यो एल्बमको रेकर्डिङ समयलाई रहस्यमय पनि मान्छन् ।


यस्तो किनभन्दा यसबीच निकै अविश्वसनीय घटना पनि भए । खासमा बिटल्सका जति पनि एल्बम छन्, यो नै अन्तिम अन्तिम जस्तै सावित भयो, किनभने यसपछि त ब्यान्ड टुक्रियो नै । सन् १९६९ मा ब्यान्ड नै रहेन र यसअघि ठ्याक्कै एबी रोड निस्किएको थियो । ब्यान्डका सदस्यमा कलहको बीउ बसेकै भनेको ह्वाइट एल्बमबाट हो । यसको केही गीत निकै राम्रा छन्, तर कमजोर गीत पनि त छन्, यसमा । सबै गीत सुन्नुपर्छ, चार सदस्य चारै दिशातर्फ फर्केको भान पनि हुन्छ ।


आफैंले गीत लेख्ने अनि गाउने पनि । एल्बमका सबै गीतको विशेषता नै यही हो । ब्यान्डका यसअघिका एल्बममा जुन प्रकारको लेनन र म्याकार्टनीको मीठो साझेदारी पाइन्छ, त्यो यो एल्बममा छैन । यही एल्बमकै बेला न हो, ब्यान्डले अब कस्ताखाले गीत गाउने हो, त्यो तय गर्न नसकेको । यसका गीत कुनै एकातर्फ फर्किएका छ, अर्को अर्कैतर्फ, गीतको प्रकृतिको आधारमा । तर पनि भनिन्छ, यो बिटल्सको अद्वितीय सिर्जना हो, यसमा कुनै दुविधा छैन । सुनौं न फेरि एकपल्ट द बिटल्स । अर्थात् ह्वाइट एल्बम ।


[email protected]

प्रकाशित : मंसिर २१, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?