कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इन्स्टाग्राम स्टोरिज कसरी देखाउने ?

हेलो शुक्रबार

काठमाडौँ — सामाजिक सञ्जाल प्रयोगकर्ताको शैली बुझ्ने हो भने फेसबुक प्रोढमाझ बढी लोकप्रिय बन्दैछन् भने इन्स्टाग्राम नयाँ पुस्ताका प्रयोगकर्तामाझ चर्चित । आफन्त र परिवारका सदस्य फेसबुकमा बढी सक्रिय हुन थालेपछि नयाँ पुस्ता फेसबुकमा कम सक्रिय हुन थालेको अध्ययनले देखाएको छ ।

इन्स्टाग्राम स्टोरिज कसरी देखाउने ?

फोटो पोस्ट गर्न मन पराउने र आफन्त तथा परिवारका सदस्यहरूबाट सुरक्षित रहने प्लेटफर्मको खोजीले गर्दा अहिले इन्स्टाग्रामको लोकप्रियता बढ्दो छ । फेसबुक स्वामित्वको फोटो सेयरिङ एपमा धेरै फिचरहरू स्न्यापच्याटबाट कपी गरिएका छन् । टीनएज प्रयोगकर्तामाझ लोकप्रिय रहेको स्न्यापच्याटको स्टोरिज, सेक्रेट च्याटजस्ता फिचर आफ्नोमा कपी गरेपछि इन्स्टाग्रामको प्रयोगकर्ता स्न्यापच्याटको भन्दा बढी छन् ।


स्न्यापच्याटको लोकप्रियता किन बढ्दो छ भने यसमा कम उमेरका प्रयोगकर्ता बढी हुने गर्थे । एक साथीले अर्कोलाई पठाएको तस्बिर केही मिनेटमै स्वत: डिलिट हुने फिचरका कारण प्रयोगकर्ता भविष्यमा सोही फोटोका कारण आफूलाई नराम्रो स्थिति आइपर्ला भनेर विचार गर्नुपर्ने अवस्थामा थिएनन् । झन्, यसको स्टोरिज फिचरमा प्रयोगकर्ताले हालेको फोटो २४ घण्टामा स्वत: डिलिट हुन्थ्यो ।


स्न्यापच्याटको लोकप्रियताको यही कारण देखेर फेसबुक स्वामित्वको इन्स्टाग्रामले यो फिचर कपी गरेको थियो । अर्को कम्पनीको फिचर जस्ताको तस्तै कपी गरेको आरोप खेपे पनि इन्स्टाग्रामलाई कुनै असर परेन किनकि उसका धेरै प्रयोगकर्ताले यसलाई मन पराए र प्रयोग गर्न थाले ।


तर, इन्स्टाग्राम पनि अहिले पहिलेको जस्तो छैन् । फेसबुकले आफ्नो स्वामित्वमा लिएपछि पछिल्लो समय इन्स्टाग्राम पनि फेसबुककै अंगजस्तो बनेको छ । धेरैभन्दा धेरै फेसबुक प्रयोगकर्तालाई इन्स्टाग्राममा जोड्ने कम्पनीको लक्ष्यले फेसबुकका धेरै सदस्यहरू अहिले इन्स्टाग्राममा जोडिएका छन् । आफ्ना साथीहरूमाझ २४ घण्टाको लागि मात्रै फोटो सेयर गर्न मिल्ने स्टोरिज फिचरमा इन्स्टाग्राम प्रयोगकर्ताको आकर्षण बढेको छ । फेसबुकले यो फिचर आफ्नो म्यासेन्जर र फेसबुक एपमा राखे नयाँ पुस्ताका प्रयोगकर्ताहरू भने इन्स्टाग्राममै यो फिचर प्रयोग गर्न बढी रुचाउँछन् ।


स्टोरिजमा फोटोसहित राख्न मिल्ने फरक–फरक स्टिकर र स्वरूपले पनि प्रयोगकर्तालाई आकर्षण गरिरहेको छ । अहिले इन्स्टाग्राम स्टोरिजको दैनिक प्रयोगकर्ता ४० करोड नाघेको छ । यो स्टोरिज सुरुमा प्रयोग गर्ने स्न्यापच्याटको कुल प्रयोगकर्ताभन्दा बढी हो । तर, फेसबुक प्रयोगकर्ताहरू पनि अहिले इन्स्टाग्राममा ह्वात्तै बढेको छ । यसैकारण इन्स्टाग्राममा स्टोरिजमा फोटो अपलोड गर्दा आफ्ना परिवार र आफन्तले देख्ने हुन् कि ? उनीहरूले आफ्ना फोटो देखेर के भन्ने हुन् भन्ने डर बढ्दो छ ।


इन्स्टाग्रामले यसै साता नयाँ फिचर सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई आफ्नो स्टोरिजमा राखेको फोटो आफूले चाहेको व्यक्तिलाई मात्रै देखाउन मिल्छ । यो फिचर फेसबुकको फ्रेन्ड लिस्टलाई व्यवस्थापन गर्ने जस्तो छ । फेसबुकमा आफ्नो फ्रेन्ड लिस्टमा भएका व्यक्तिलाई कलेजको साथी, कार्यालयको साथी, परिवार भनेर ग्रुपमा राखेजस्तै इन्स्टाग्राममा आफ्नो

स्टोरिज हेर्न सक्ने समूहलाई पनि यसैगरी व्यवस्थापन गर्न मिल्छ । यो फिचर प्रयोगका लागि इन्स्टाग्रामको स्टोरिज सेयर गर्नुअघि एड्भान्स सेटिङमा जानुपर्छ, जहाँ इडिट योर क्लोज फ्रेन्ड लिस्ट भन्ने अप्सन देखिन्छ । क्लोज फ्रेन्ड लिस्ट अप्सनमा क्लिक गरेपछि आफूलाई आफ्नो लिस्टमा एड गर्न मन लागेको साथीहरू समावेश गर्न सकिन्छ ।


जुन साथीहरूलाई लिस्टमा समावेश गरिएको छ, उक्त साथीहरूलाई त्यसबारे नोटिफिकेसन जान्छ । सूचीमा समावेश गरिएको साथीलाई हटाउन पनि मिल्छ । यो सूची तयार पारिसकेपछि उक्त समूहलाई देखिने गरी मात्रै स्टोरिज सेयर गर्न मिल्छ । यसले गर्दा आफ्ना साथीहरूलाई मात्रै देखाउन मन लागेको पोस्ट उनीहरूले मात्रै देख्छन् । यस्तो सूचीका साथीहरूसँग मात्रै सेयर गरिएको स्टोरिजमा उनीहरूले हरियो चिह्न देख्न सक्छन्, जसमा क्लोज साथीलाई मात्रै सेयर गरेको भन्ने जनाउ हुन्छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?