स्पर्श संसार

हाम्रो देशमा श्रवण–दृष्टिविहीनलाई केन्द्रित गरी केही शिक्षण कार्यक्रम नै बनाइएका छैनन् ।
विभु लुइटेल

काठमाडौँ — नयाँ बानेश्वरका १८ वर्षीय सौरभ थापा न केही देख्न सक्छन्, न केही सुन्न नै । सात महिनाभन्दा पनि कम आमाको गर्भमा रहेपश्चात् उनको जन्म भयो । जन्मँदा सात सय ५० ग्रामका मात्र थिए, इन्क्युबेटरमा राख्नुको विकल्प थिएन । त्यहाँबाट निस्किएपछि स्वास्थ्य परीक्षण गर्दा उनका दुई इन्द्रियले काम नगर्ने थाहा भयो । कान नसुन्ने भएपछि बोली पनि फुट्नेवाला थिएन ।

स्पर्श संसार

आमा गोमा र बुवा गोविन्द थापाका पहिलो सन्तान हुन्, सौरभ । पहिलोपटक उनको शारीरिक अवस्थाबारे डाक्टरले भनिदिँदाको क्षणको सम्झनाले अहिले पनि उनको परिवार झस्कन्छ । छोरा श्रवण–दृष्टिविहीन भएको थाहा पाएका दिन गोविन्द पत्नी र छोरालाई अस्पतालमा एक्लै छोडी चेतशून्य अवस्थामा घर फर्किएको सुनाउँछन् । आमाले धैर्य गरी सम्हालेर सौरभलाई घर पुर्‍याएकी थिइन् । कति दिनसम्म भोक, निद्रा केही नलागेका, केवल रुँदै बसेका दिनका सम्झनाले उनीहरूलाई अहिले पनि नराम्रोसँग झस्काउँछन् ।

उपचारका अनेक विधि प्रयत्न गर्दा पनि नभएपछि नजिकका अरूले भनेका भरमा झारफुकमा पनि सौरभलाई लगियो । धर्म परिवर्तन गर्‍यो भने ठीक हुन्छ भन्ने व्यक्ति पनि नभएका होइनन् । श्रवण–दृष्टिविहीन नभई मानसिक पक्षाघात (सेरिब्रल पल्सी) भएको हो कि भनी त्यसको उपचार पनि सुरु गरिएको थियो । उपाय अनेक लगाए, नतिजा आफूले सोचेजस्तो आएन ।


२०६८ सालको जनगणनाले दिएको तथ्यांक हेर्ने हो भने सौरभजस्तै श्रवण–दृष्टिविहीनको संख्या नेपालमा नौ हजार चार सय ३६ रहेको छ । ‘तर, त्यो यकिन तथ्यांक भने होइन,’ नेपाल बहिरा महासंघका पदाधिकारी सानु खिम्बाचाले दाबी गरे । भारतलगायत अन्य देशमा रहेका श्रवण–दृष्टिविहीनको संख्या हेरी त्यस्तै अनुपातमा नेपालमा रहेका यस्ता व्यक्तिको संख्या अनुमान मात्र गरिएको, तर यकिन भने नभएको उनको जिकिर छ । नेपाल सरकारले निर्धारण गरेका अपांगताका १० प्रकारमा श्रवण–दृष्टिविहीनतालाई पनि राखिएको छ । राष्ट्रिय बहिरा महासंघ, बहिरा दृष्टिविहीन अभिभावक समाज, श्रवण–दृष्टिविहीन संघ नेपाल र नेपाल नेत्रहीन संघले संयुक्त रूपमा यस्ता व्यक्तिको हकहितका लागि काम गर्दै आइरहेका छन् ।


श्रवण–दृष्टिविहीनता राष्ट्रिय स्रोत केन्द्रले सञ्चालन गरेको साप्ताहिक कक्षामा हरेक बुधबार उपत्यकाका विभिन्न ठाउँबाट केही विद्यार्थी आफ्ना अभिभावकसँग आउँछन् । त्यहाँ तिनलाई स्पर्शका माध्यमबाट सञ्चार गर्न मात्र नभई दाँत माझ्न, खाना खान र अन्य सामान्य क्रियाकलाप गर्न सिकाइन्छ । यति हँुदाहँुदै पनि तिनका सबै भावनालाई पनि सम्बोधन गर्न नसकेको त्यहाँका शिक्षक निकेतन श्रेष्ठ बताउँछन् । यहाँ आउने अधिकांश व्यक्ति किशोरावस्थाका हुन् । समयक्रममा तिनमा देखिने शारीरिक परिवर्तन र त्यसपश्चात् पैदा हुने यौन आकांक्षाका कारण कहिलेकाहीँ कोही अलि आक्रामक बनिदिने पनि उनले देखेको बताए ।


गाम्नाङटार, ओखलढुंगाकी २० वर्षीय शर्मिला खड्का पनि सौरभजस्तै श्रवण–दृष्टिविहीन हुन् । भोक लागेको, शौचालय जान मन लागेको जस्ता उनका सामान्य मागबाहेक अरू केही बुझ्न उनको परिवारलाई हम्मेहम्मे पर्छ । घरका सबै दिउँसो कतै न कतै जाने हँुदा उनका लागि आवश्यक खानेकुरा त छुट्याएर जान्छन् । कहिलेकाहीँ छामछुम गर्दै घरभन्दा निकै पर पुगेको र पछि भेट्न गाह्रो भएका घटनाहरू पनि छन् । ‘अहिले त आफूले स्याहारौँला, हामीपछि कसले उसको ख्याल राख्छ ?’ बुबा सूर्यबहादुर खड्का निराशा व्यक्त गर्छन् ।


शर्मिला आफ्नो शरीर र त्यसमा हुने प्रक्रियाबारे खासै अवगत छैनन् । महिनावारी समयमा हँुदैन, भएका बेला आमाबाहेक कोही छैन उनको स्वास्थ्य र सरसफाइको ख्याल राख्ने । भारतमा उनीजत्तिकै युवाले भान्छाका सानातिना काम गर्नेदेखि लिएर सामान्य सरसफाइसमेत गर्ने गरेको उनकी शिक्षक शैलु खरेल सुनाउँछिन् । ‘श्रवण–दृष्टिविहीनलाई केन्द्रित गरी केही शिक्षण कार्यक्रम नै बनाइएका छैनन् हाम्रो देशमा,’ उनी गुनासो गर्छिन् ।


श्रवण–दृष्टिविहीनताले मुख्य गरी खोज्ने भनेको कसैको साथ हो । ताल्चीखेल, ललितपुरका निश्चल सुनारका लागि साथी भनेकै उनकी आमा उमा सुनार हुन् । १४ वर्षीया उनलाई तीन महिनाका हँुदा आँखा डेढो देखी तिलगंगामा उपचारका लागि लगिएको थियो । उमाले त्यहाँबाट छोराको उपचार सन्तोषजनक पाउन सकिनन् । ‘आँखा नै फेर्न चेन्नाई लगेँ,’ उनी सम्झिन्छिन्, ‘तर, त्यहाँका डाक्टरले पनि हार खाए ।’ उनलाई अन्त कतै लगी उपचार गराउन त्यहाँका चिकित्सकले सल्लाह त दिए । तर, आर्थिक अवस्थाका कारण कतै लगिहाल्न सम्भव पनि थिएन ।


पहिलो सन्तान श्रवण–दृष्टिविहीन जन्मिएपछि दोस्रो र तेस्रो सन्तान हुने बेला उमाको मनमा एक प्रकारको त्रासले डेरा जमाउँथ्यो । त्यसैले गर्भवती अवस्थामा कति अस्पताल धाइन्, कति डाक्टरलाई भेटी परामर्श लिइन्, त्यो उनलाई मात्र थाहा छ । अझ, आमाबाहेक अरूको स्पर्श सितिमिति मन नपराउने निश्चलसँग संवाद गर्न पनि गाह्रो छ । बेलाबेला घरमा गएरै उनलाई सामान्य सञ्चार सिकाउन खोज्ने शिक्षकलाई उनको यस आचरणले केही कठिनाइ भएको बुझिन्छ ।


श्रवण–दृष्टिविहीन व्यक्तिसँग सहज रूपमा सञ्चार गर्न ह्याप्टिक सिग्नल नाम गरेको माध्यमको विकास भएको छ । उनीहरूलाई केही कुराको जानकारी दिन उनीहरूका ढाड, पाखुरा, तथा खुट्टामा स्पर्शले संकेत गरी सञ्चार गर्न सकिन्छ । नेपालमा करिब ४० ह्याप्टिक सिग्नल प्रयोगमा छन् । तर, तिनलाई प्रभावकारी ढंगले सबैलाई सिकाउन भने सकिएको छैन । स्पर्श सांकेतिक भाषाको प्रयोग र विकासमा केही संस्था काम गरिरहेका छन् । पछि श्रवण–दृष्टिविहीन भएकालाई यो सिकाउन सजिलो छ भने जन्मजात भएकालाई सिकाउन निकै कठिन । यी तीनकी शिक्षक शैलु भन्छिन्, ‘यही नै अहिले हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो ।’

twitter : @LuitelBibhu

प्रकाशित : मंसिर २१, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?