मोडरिचको चमक

जो जित्नका लागि योग्य थिए र जितेका थिएनन्, उनीहरुकै लागि हो यो अवार्ड ।

काठमाडौँ — वर्षको उत्कृष्ट खेलाडीलाई दिइने बालोन डि’अर यसपालि क्रोएसियाका प्लेमेकर ल्युका मोडरिचले हात पारे । विश्वकप २०१८ को समेत सर्वोत्कृष्ट खेलाडी रहेका उनको सफलताले क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एक दशक लामो आधिपत्यलाई पनि पूर्णविराम लगाइदियो । उनको सफलताबारे राजु घिसिङ लेख्छन् :

मोडरिचको चमक

क्रोएसियाली खेलाडी ल्युका मोडरिचको पारिवारिक कथा निकै पीडादायी छ । उनका हजुरबाको सर्वियालीले युद्धताका घर नजिकै हत्या गरेका थिए । अनि उनी शरणार्थी बन्न पुगे । त्यहाँ बुबाले मोडरिचलाई फुटबल खेल्नका लागि काठको सिन–प्याड बनाइरहेको देखेको कथा विश्वकप फुटबलताका नै छाएको थियो । उनलाई २१ वर्षको छँदा इंग्लिस क्लब आर्सनलका तत्कालीन व्यवस्थापक आर्सेन वेंगरले टिममा भित्र्याउन अस्वीकार गरेका थिए । उनलाई बार्सिलोनाले पनि आन्द्रेस इनिस्टा र जाभी हर्नान्डेजसँग सहकार्य गरेर हुर्किने अवसर दिन चाहेन । तर, मोडरिच हराएनन्, अनवरत मिहिनेतमै लागिरहे ।


अन्तत: मोडरिचले आफ्नो फुटबल कलाको पर्दालाई गत जुन–जुलाईमा रुसमा भएको विश्वकपमा हटाइदिए, जसले क्रोएसियालाई अविश्वसनीय रूपमा फाइनलसम्मै पुर्‍याएको थियो । मिडफिल्डमा कलात्मक खेल पस्किएका उनले विश्वकपको सर्वोत्कृष्ट खेलाडीको ‘गोल्डेन बल अवार्ड’ जितेका थिए । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल संघ (यूईएफए) को वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारे । उनले फुटबलमा सबभन्दा प्रतिष्ठित ‘बालोन डि’अर’ पनि सोमबार चुमे । उनी विश्वकपको सर्वोत्कष्ट खेलाडी, फिफा वर्ष खेलाडी र बालोन डि’अर एउटै वर्षमा जित्ने पहिलो खेलाडी पनि हुन् । उनी पाँचौंपल्ट मनोनयनमा रहेपछि विजेता चुनिएका हुन् ।


वर्षको उत्कृष्ट खेलाडीलाई दिइने बालोन डि’अरमा मोडरिचको सफलताले क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एक दशक लामो आधिपत्यलाई पनि पूर्णविराम लगाइदियो । ब्राजिलका काकाले सन् २००७ मा जितेयता यो अवार्ड रोनाल्डो र मेसीले ५–५ पल्ट कब्जा गरेका थिए । ‘विगतमा जाभी, इनिस्टा, वेस्ली स्नाइडरजस्ता खेलाडीले पनि बालोन डि’अर जित्नुपथ्र्यो । तर, अन्त्यमा मानिसहरूले कसैलाई हेरेका छन्,’ बालोन डि’अर कब्जा गरेपछि मोडरिचले निकै भावनात्मक रूपमा प्रतिक्रिया दिए, ‘जो जित्नका लागि योग्य थिए र जितेका थिएनन्, उनीहरूकै लागि हो यो अवार्ड ।’


रोनाल्डो–मेसीको अवार्ड दशकमा उनीहरूबीच सर्वाधिक गोल गर्नेकै दबदबा रहेको थियो । यस परम्परालाई पनि मोडरिचले नयाँ मोड दिए किनभने उनले स्पेनी महारथी रियल म्याड्रिडको लागि ६ वर्षयता नौ गोलमात्र गरेका छन् । यसअघि यस्तो सन् २००६ को बालोन डि’अरमा देखिएको थियो, जुन बेला इटालीका विश्वकप विजेता डिफेन्डर फावियो कानोभारोले अवार्ड जितेका थिए । त्यस बेला जाभी र इनिस्टा शीर्ष तीनमा रहेका थिए । यसपालि भने मोडरिचलाई पछ्याउनेमा गोलकर्ताहरू (रोनाल्डो, एन्टोइन ग्रिजमन, किलियन एम्बाप्पे, मेसी) परे ।




फ्रान्सेली म्यागजिन ‘फ्रान्स फुटबल’ ले सन् १९५६ यता वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्डका रूपमा बालोन डि’अर प्रदान गरिरहेको छ । सुरुमा युरोपेली खेलाडीलाई मात्र दिइएको यो अवार्डमा १९९५ देखि युरोपेली क्लबका खेलाडीलाई पनि समावेश गरिएको थियो । र, २००७ देखि विश्वका सबै फुटबलरका लागि खुला गरिएको थियो ।


मोडरिच बालोन डि’अर जित्ने सबभन्दा बूढो खेलाडी पनि हुन् । ३३ वर्षीय उनको यस सफलताको मुख्य आधार विश्वकप २०१८ मा गरिएको सनसनीपूर्ण प्रदर्शन नै हो । रुस पुग्दा उनी विश्वकपमा सहभागीमध्ये सबभन्दा महँगा २५ खेलाडीको सूचीमा थिएनन् । न त उनलाई मेसी, रोनाल्डो, नेयमर, इडन हाजर्डसँगै दाँजिएको थियो । उनकै उत्कृष्ट खेलमा क्रोएसियाले मेसी नेतृत्वको अर्जेन्टिनालाई समूह चरणमा पन्छाइदिएको थियो । रोनाल्डो कप्तानीको पोर्चुगल अन्तिम १६ बाटै घर फर्केको थियो ।


नेयमरलाई केही वर्षअघि मेसी र रोनाल्डोको वर्चस्वलाई उछिन्न सक्ने मुख्य खेलाडीका रूपमा हेरिएको थियो । ब्राजिललाई उपाधिको सबभन्दा बलियो दाबेदार पनि थियो । तर, नेयमरको खेल कौशलभन्दा पनि विपक्षी खेलाडीले छुनेबित्तिकै लडिहाल्ने कलाको बढी चर्चा भयो र ब्राजिल पनि क्वाटरफाइनलमै हार्‍यो । हाजर्डसहितको शक्तिशाली बेल्जियम सेमिफाइनलमा रोकियो । त्यस बेलासम्म मोडरिच कलात्मक खेल देखाउँदै करोडौंको प्रिय भइसकेका थिए । तर, उनको टिमलाई पनि च्याम्पियन हुनबाट फ्रान्सले रोकिदियो ।


विश्वकपमा मोडरिचको प्रदर्शन १० पूर्णाङ्कमा औसतमा ८ थियो, जसलाई फुटबलमा उच्चकोटीको मानिन्छ । रुसका मैदानमा मोडरिचका पास, पोस्टमा आक्रमण र दौडाइ लोभलाग्दो थियो । त्यसैले त उनी गोल्डेन बल विजेता नै बने । र, पत्रकारको भोटमार्फत बालोन डि’अरको विजेता पनि चुनिए । यस अवार्डमा व्यक्तिगत र टिमको उपलब्धि, व्यक्तिगत कौशल र अनुशासन तथा उनको करिअरलाई आधार बनाएर हरेक देशका एक–एक प्रतिनिधि पत्रकारले ६, ४, ३, २, १ अंक दिएर पाँच खेलाडीलाई मत दिने गर्छन् । फ्रान्स फुटबलले तयार पारेको ३० खेलाडीको सूचीमा रोनाल्डोलाई २९७ अंकले पछाडि पार्दै मोडरिचले अवार्ड कब्जा गरेका हुन् । रोनाल्डो ‘समर ट्रान्सफर’ मा इटालीको युभेन्ट्स प्रस्थान गर्नुअघि यी दुई रियलमा सहकर्मी थिए ।


सानो कद र फूर्तिलो खेल मोडरिचको विशेषता हो । गोलका लागि सटीक पास उपलब्ध गराउनु उनको खुबी हो । गत सिजन यी मोडरिचको क्लबलाई उछिन्दै मेसीको टिम बार्सिलोनाले स्पेनी लिग र कोपा डेल रेको उपाधि जितेको थियो । युरोपेली च्याम्पियन्स लिगको उपाधि भने मोडरिचकै टिम रियल म्याड्रिडले जितेको थियो, त्यो पनि लगातार तेस्रोपल्ट । विश्वकप र रियलकै प्रदर्शनले मोडरिचले रोनाल्डो–मेसीको अवार्ड यात्रालाई टुंग्याइदिएको हो ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?