के हो फाइभ जी ?
काठमाडौँ — सन् २००९ तिर रिलिज भएर प्रयोजनमा आएको फोर जी करिब आठ वर्षपछि मात्र नेपालमा प्रयोग हुन थालेको हो, त्यो पनि पूर्ण रूपमा भने होइन । शीघ्र फाइभ जी प्रणालीमा जाने तरखर गरिरहेको सञ्चार प्रविधि फाइभ जी नेपालमा प्रयोग हुन कति समय लाग्छ, थाहा छैन ।
विश्वका अधिकांश प्रविधि विज्ञ अहिले फाइभ जीको विकासबारे मात्र नभई सम्भाव्यताबारे पनि अध्ययन गरिरहेका छन् । फाइभ जीका लागि चाहिने भौतिक पूर्वाधारबारे पनि थुप्रै अध्ययन भइरहेका छन् । नेपाल फोर जीकै लागि सुविधासम्पन्न नभइसकेको अवस्थामा फाइभ जीमा शीघ्र जाने सम्भावना प्रबल नभए पनि ठूलो युवा समुदाय यसतर्फ आकर्षित देखिन्छन् ।
सहज सञ्चारका लागि मोबाइल फोनको स्तरोन्नति हँुदै जाने क्रममा यस प्रविधिले धेरै युगको सामना गर्यो । सन् १९८० को दशकमा वन जीबाट सुरु भएको यो वायरलेस प्रविधि टु जी, थ्री जी, थ्री प्वाइन्ट फाइभ जी, फोर जी, फोर प्वाइन्ट फाइभ जी हुँदै फाइभ जीमा जाने क्रममा छ । यी सबै ‘जेनेरेसन’ अन्तर्गत पनि थप अन्य प्रविधि समाहित छन् ।
यही प्रविधि विकास हुँदै जाने क्रममा अघिल्लोभन्दा पछिल्लो जेनेरेसन थप सुविधाजनक भइरहेको छ । ल्याटेन्सी कम भई सञ्चार थप सहज बन्न जाने त आफ्नो ठाउँमा छँदै छ, डेटादर पनि बढ्दै गएको अनुभव विश्वभरका प्रयोगकर्ताले गरेका छन् । फाइभ जीको स्पिड लगभग पाँच सय मेगाबिट्स प्रतिसेकेन्ड बनाउने लक्ष्य राख्नुले नै यस परियोजनाको महत्त्वाकांक्षालाई दर्शाउँछ ।
लक्ष्य
अधिकतम डेटादर- २० गिगाबिट्स प्रतिसेकेन्ड
ल्याटेन्सी- १ मिलिसेकेन्ड
मोबिलिटी दर - ५०० किमि प्रतिघण्टा
घनत्व- एक लाख डिभाइस प्रतिवर्ग किमि
चुनौती पूर्वाधार
हुवावे, इन्टेल, क्वाल्कमजस्ता कम्पनीले छिट्टै फाइभ जीतर्फ उन्मुख हुने संकेत दिइसकेका छन् । यिनलाई साथ दिँदै अन्य टेलिकम कम्पनी पनि स्तरोन्नति गर्न तत्पर देखिन्छन् । सन् २०२० सम्म विश्वभर सुचारु हुने लक्ष्य लिएको फाइभ जीका लागि सबैभन्दा ठूलो चुनौती नै पूर्वाधार विस्तार हो । उच्चस्तरीय रेडियो फ्रिक्वेन्सीका अभावमा यसलाई कार्यान्वयन गर्न नसकिने हँुदा विभिन्न देश अहिले रेडियो फ्रिक्वेन्सीको विस्तारतर्फ लागेका छन् ।
प्रकाशित : मंसिर २८, २०७५ १०:३४