कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

थ्रिलर चस्का

सजना बराल

काठमाडौँ — प्रविधिको सहजता, युट्युबको सहयोग र देश–विदेशका फिल्म फेस्टिभलले जो–कसैलाई डकुमेन्ट्री निर्माणतर्फ आकर्षित गरेको छ । आर्थिक स्रोत जुटाउनुचाहिँ मुख्य चुनौती बनेको छ ।

थ्रिलर चस्का

कथा यस्तो थियो–

उनी समाज र परिवारको हेपाइले विक्षिप्त छन् । यही कारण साथीको हत्या गर्छन् । शव फाल्नुअघि त्यसलाई खुकुरीले काटेर टुक्रा–टुक्रा पारी तरकारी बनाएर खान्छन् । उनले आफ्ना बाबुको पनि हत्या गरेको हुन सक्ने आशंका गरिन्छ ।

यही कथाले ‘करी’ फिल्म विवादमा पर्‍यो । काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अन्तिम दिन मंगलबार मिलन पौडेल निर्देशित २५ मिनेटको उक्त फिल्मलाई लिएर चर्कै बहस भयो । यत्रो आम जमातमा यस्तो गलत फिल्म किन देखाउन मिल्छ ? एक दर्शक आक्रोशित भए । उनको थप प्रश्न थियो, ‘यथार्थ हो भन्दैमा समाजका हरेक घटना फिल्ममा उतार्ने ? अपराधलाई पनि जायज देखाउने ?’


प्रश्नोत्तरमा राष्ट्रिय सभा हलभित्रका दर्शक दुई खेमामा बाँडिए । एक थरीले यसलाई खासै ठूलो विषय मानेनन् । अर्का थरी रिसाए । थ्रिलर विधाका क्विन्टिन टारेन्टिनोका फिल्मको उदाहरण दिँदै ‘करी’ टोलीले दर्शकलाई दिमाग खुला राख्न आग्रह गर्‍यो । ‘तपाईंहरू रिसाउनु भयो, त्यसैले हामी सफल भयौं,’ फिल्मका प्राविधिक शशि श्रेष्ठले भने, ‘यो थ्रिलर फिल्म हो । हामीले थ्रिल सिर्जना गर्न सकेछौं ।’


फिल्मको श्रेणी (प्यारेन्टल गाइडेन्स–पीजी) खुलाइएको थियो । तर, यसको दृश्यभन्दा पनि आशयले अपराधलाई वैधानिक देखाएको बताइयो । बनाउनेले त बनाए तर यस्तो फिल्म छान्नु किम्फको गल्ती भएको केही दर्शकको मत थियो । ‘थ्रिलर विधा नेपालका लागि नौलो होला भन्ने ठानेर फिल्म बनाएका थियौं,’ निर्माता सन्दीप किसनले भने, ‘तर, यहाँ फरक चीज स्विकार्न डराउँछन् मान्छेहरू । हाम्रो फिल्मका लागि यस्तो आक्रोशपूर्ण प्रतिक्रिया स्वाभाविक हो । हामी फिल्मबाट कुनै सन्देश दिन चाहँदैनौं । समाजका विविध यथार्थ देखाउने लक्ष्य हो ।’


थ्रिलर विधाका सीमा वा फिल्ममेकरका आचार–संहिताबारे बहस त हुन्छ नै ।


भिक्षु फिल्ममेकर सेनाङ मुगुम ‘सुपरमंक’ का कारण चर्चित बने । द्वन्द्वकालको परिदृश्यमा निर्मित उक्त फिल्ममा दुई बालकको अबोधपन र चातुर्यलाई उनले रोचक शैलीमा प्रस्तुत गरेका छन् । ‘सहयोग र करुणाको भाव देखाउन खोजेको हुँ,’ थ्रिलरको चस्का सहनुअघि उनले भनेका थिए, ‘फिल्म बनावटी नदेखियोस् भनेर धेरै अध्ययन गरें ।’


सेनाङ किम्फकै कारण फिल्ममेकिङमा आकर्षित भएका रहेछन् । तर, यो क्षेत्र रोज्न सुरुमा उनलाई गाह्रो पर्‍यो । आफ्नो समुदायमा कुरा बुझाउनु चुनौती थियो । उनले गुम्बामा स्पष्ट कुरा राखे । गुरुलाई आफ्ना उद्देश्य सुनाए । गुम्बाका नियम उल्लंघन नगर्ने प्रतिबद्धता जनाएपछि उनले गत साल ‘झा लो’ निर्देशन गरे । त्यसले अवार्ड पायो । यसपालि पनि किम्फको अडियन्स अवार्ड सेनाङकै गेरु झोलीमा पर्‍यो ।



‘फिल्ममेकरहरू दर्शकप्रति इमानदार हुनुपर्छ,’ सेनाङले भने, ‘दर्शकलाई झुक्काएन भने फिल्म रुचाइन्छ ।’ दुई वटा छोटा फिक्सन फिल्म निर्देशन गरेका सेनाङलाई अचेल फिचर लेन्थको फिल्म कहिले बनाउने भनेर सोध्न थालिएको छ । ‘हामी सन्यासीहरू यो क्षेत्रमा आउन नहुने भन्ने हुँदैन’, उनले भने ।


सेनाङले थपे, ‘हाम्रो गुम्बामा प्रत्येक शनिबार फिल्म देखाइन्छ । त्यसको संयोजन मैले गर्थें । चार वर्षअघि किम्फमा हेरेपछि मलाई पनि फिल्म बनाउने हौसला मिल्यो ।’


किम्फ निर्देशक रम्यता लिम्बूका अनुसार अचेल हरेक क्षेत्र, वर्ग र समुदायका युवायुवती फिल्ममेकिङमा आउन थालेका छन् । प्रविधिको सहजता, युट्युबको सहयोग र देश–विदेशका फिल्म फेस्टिभलले जो–कसैलाई यसतर्फ आकर्षित गरेको उनले बताइन् । ‘डकुमेन्ट्रीमा पत्रकार र फिक्सनमा अन्य युवाहरू बढी देखिन्छन्,’ उनले भनिन्, ‘आर्थिक स्रोत जुटाउनुचाहिँ उनीहरूका लागि मुख्य चुनौती बनिरहेको छ ।’


रम्यताले उल्लेख गरेको चुनौती नेपाली फिल्मकर्मीले मात्र नभएर विदेशीहरूले पनि खेप्दै आएका रहेछन् । जर्मनीका निकलस कुलस्ट्रम र फिनल्यान्डका मार्ती कार्तिनेन ‘इस्टर्न मेमोरिज’ निर्माणका लागि रकम जुटाउन धेरै भौंतारिएका थिए । त्यसैले ९० मिनेटको फिल्म बनाउन ६ वर्ष लागेको बताए । ‘सय वर्षअघिको कथा खोतल्दै थियौं,’ निकलसले भने, ‘ऐतिहासिक विषयका लागि कसले पैसा देओस् १’ गम्भीरभन्दा बिकाउ विषयमा लगानीकर्ता छिटो भेटिने मार्तीको भनाइ थियो ।


समाजप्रति इमानदार जो–कोही फिल्मकर्मी सदैव ‘सेक्सी’ विषयको पछि नलाग्ने उनीहरूको भनाइ थियो । ‘यसअघि हामी फिक्सन फिल्महरू बनाउँथ्यौं,’ निकलसले भने, ‘त्यो विधा अलि सजिलो पनि छ । डकुमेन्ट्रीमा लगनशीलता र खोज धेरै चाहिन्छ । गैरकलाकारसँग काम गर्नुपर्छ । तर, यसबाट हामीले धेरै सिक्न सक्छौं । अरूलाई पनि सिकाउन सक्छौं ।’


मार्तीका अनुसार फिक्सनमार्फत निर्देशकले आफ्नो विचार र डकुमेन्ट्रीबाट यथार्थ पस्किन सक्छ । डकुमेन्ट्रीलाई निबन्धात्मक वा कवितात्मक बनाउन सकिन्छ । ‘हाम्रो डकुमेन्ट्री निबन्धात्मक छ,’ उनले भने, ‘यसमा हामीले भूत र वर्तमानलाई समानान्तर रूपले देखाएका छौं । एक भाषाविद्को जीवनीमार्फत दर्शकलाई समाजप्रतिको मानव दायित्व बोध गराउन खोजिएको छ ।’ निकलस र मार्तीको संयुक्त निर्देशनमा बनेको डकुमेन्ट्रीले किम्फमा अन्तर्राष्ट्रिय विधातर्फ पुरस्कार पनि जित्यो ।


छोटा फिल्मतर्फ प्रतिस्पर्धामा रहेको ‘तिर्खा’ ले अवार्ड जितेन । तर, निर्देशक सविन महर्जन अर्कोपालि अझै छोटो–मीठो फिल्म बनाउनेबारे सोचिरहेका छन् । उनले यसअघि पनि तीन मिनेटको फिल्म ‘कलर अफ वाटर’ बनाएका थिए । उनलाई फिचर फिल्म बनाइहाल्ने सोच छैन । बरु डकुमेन्ट्रीतिर लाग्ने बताए । ‘छोटा फिल्म गर्दा तयारी धेरै गर्नुपर्छ,’ उनले भने, ‘तर, यसको ठूलो स्कोप छ । मान्छेहरू व्यस्त छन् । छोटा फिल्म रुचाउने दिन आए ।’


सबिनकै जस्तो सोच छ निर्देशक आस्मा पोखरेलको पनि । उनले यसपालि ‘फो आवर्स’ शीर्षकको डकुमेन्ट्री बनाएकी थिइन् । १५ मिनेट लामो फिल्ममा उनले मिर्गौलाको उपचारका लागि डायलासिस गराइरहेका बिरामीहरूको कथा समेटेकी थिइन् । ‘मेरै उमेरका बिरामीहरू देख्दा त्यसले मन छोयो,’ उनले भनिन्, ‘मैले विषयवस्तु देखाउन चाहेकी थिएँ । तर, पात्रप्रधान डकुमेन्ट्री रुचाइन्छ अचेल । म भने विषयप्रधानमै जान चाहन्छु ।’


[email protected]

प्रकाशित : मंसिर २८, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?