कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पुट सम सुगर...’

हिमेश

काठमाडौँ — बलियो योगदान भएर पनि ‘रक एन्ड रोल हल अफ फेम’ मा नराखिएका हार्ड रक कलाकार धेरै छन् । डेफ लेपार्डलाई भने यो सम्मान दिन प्रशंसकको भोटले बाध्य पारेको छ ।

‘पुट सम सुगर...’

डेफ लेपार्ड ब्यान्ड लोकप्रिय छ भन्नेको योभन्दा राम्रो उदाहरण के नै हुन सक्छ र ? सबैभन्दा पहिलो छोटकरीमा पृष्ठभूमि । खासमा भन्ने हो भने ‘रक एन्ड रोल हल अफ फेम’ र हार्ड रकबीच राम्रो दोस्ती छैन । नजिकको सम्बन्ध पनि छैन । कसले राम्रो सम्बन्ध नचाहेको हो, त्यो आफ्नै ठाउँमा छ, तर यही कारणले किस, बन जोभी जस्ता ब्यान्डलाई केही वर्ष अगाडि मात्र यसमा राखिनु पछाडि कुनै बलियो तर्क छैन । यी त केही नाम भए, भाग्यमानी ।


उत्तिकै बलियो योगदान भएर पनि ‘रक एन्ड रोल हल अफ फेम’ मा नराखिएका हार्ड रक कलाकार धेरै छन् । तिनका निर्णायकले डेफ लेपार्डलाई पनि यो सम्मान दिन चाहेका थिएनन् कि ? तर अब बाध्य भएका छन् र यसरी बाध्य पार्ने काम गरेका हुन्, ब्यान्डका प्रशंसकले । यी प्रशंसकले लगातार भोट हालेर डेभ लेपार्डलाई ‘रक एन्ड रोल हल अफ फेम’ मा सम्मिलित बनाइछाडे । अब केही समयमै अर्को वर्षको समय पारेर हुने कार्यक्रममा यो ब्यान्डको योगदानलाई कदर गरिनेछ ।


त्यसैले भन्नै पर्छ, प्यारो छ धेरैका लागि डेभ लेपार्ड ब्यान्ड । सन् अस्सीमा मेटल संगीत खुबै लोकप्रिय रह्यो । अझ भनौं, यही समय हो, एक से एक राम्रा मेटल ब्यान्ड अगाडि आएको । यसमै एक हो, डेभ लेपार्ड । यो त्यो समयको प्रभावशाली ब्यान्ड मात्र होइन, निकै सफल ब्यान्ड पनि हो । त्यसैले त यसका १० करोड एल्बम बिक्रीको रेकर्ड छ । यो बान्डलाई ‘रक एन्ड रोल हल अफ फेम’ भनेर भोट हाल्ने पनि त्यसकै हाराहारीमा छन् ।


ब्यान्डका फ्रन्टम्यान जोए इलिटले पनि यी सबै उपलब्धिका लागि आफ्ना प्रशंसकलाई नै धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘हाम्रा प्रशसकले सोचे, हामी यसका लागि योग्य छौं ।’ सन् १९७७ मा यो ब्यान्डको स्थापना भएको थियो, सेफिल्डमा । र, त्यति बेला इंग्ल्यान्डमा एक प्रकारले नयाँ मेटल संगीतको माहौल थियो । त्यसैमा बगेर आफूलाई अब्बल सावित गर्न सफल रह्यो, डेभ लेपार्डले । जोए त गायक नै भए, यस ब्यान्डका ।


त्यससँगै ब्यान्डमा छन्, रिक साभेज, रिक एलेन, फिल कोलेन र भिभ क्याम्बेल । यो ब्यान्डका सबैभन्दा लामो समयदेखि चलिआएको लाइनअप पनि हो । ब्यान्डको व्यापारिक सफलताको समय भने सन् अस्सीबाट सुरु भएर नब्बेको अन्त्यसम्म हुन्छ । सन् १९८१ को एल्बम ‘हाइ एन्ड ड्राई’ ले उनीहरूको परिचय बनायो । त्यसको दुई वर्षपछि निस्केको ‘पेरोमेनिया’ ले उनीहरूलाई लोकप्रिय बनायो । अनि सन् १९८७ को ‘हिस्टेरिया’ ले स्थापित नै गरायो ।


यस एल्बमका अधिकांश गीत असाध्यै लोकप्रिय छन्, जस्तो, ‘लभ बाइट्स’, ‘पुट सम सुगर अन मि’, ‘हिस्टेरिया’, ‘एनिमल’ र अरू पनि । त्यसो त डेभ लेपार्ड सरासर मेटल ब्यान्ड होइन, किनभने यसको संगीतमा हार्ड रक मात्र पाइन्न, पप पनि पाइन्छ । अझ भनौं, हेभिमेटल र पपको मिश्रण नै यो ब्यान्ड हो । यसको खास परिचय भनेकै ग्ल्याम मेटल हो । त्यति बेला यस्तै संगीत लोकप्रिय थियो र ब्यान्डले आफूलाई यसमै अभ्यस्त राख्यो ।


त्यसैले ब्यान्डलाई ‘रक एन्ड रोल हल अफ फेम’ मा राखिने भएपछि इलिटले भनेका छन्, ‘हामीलाई धेरै भन्दा धेरै व्यावसायिक भयो भन्ने आरोप पनि । यसै कारणले हाम्रा करोडौं एल्बम बिक्री भयो भन्ने पनि छन् । हाम्रा गीतमा बब डेलनको जस्तो निकै गह्रौं शब्द पनि हुन्न । तर पनि हाम्रा गीत सुन्नमा मज्जा आउने गर्छ । हाम्रा सफल समय बितेको पनि ३० वर्ष भइसकेको छ । तर पनि हाम्रा गीत अझै उत्तिकै सुनिन्छन् । हाम्रो प्रभाव पक्कै छ ।’


ब्यान्डबारे यति धेरै कुरा गरिसकेपछि यसको ड्रमर एलेनको खास प्रसङ्ग भने छुट्याउनु हुन्न । सन् १९७८ बाट ब्यान्डसँग जोडिएका एलेन एक हातका ड्रमर हुन् र उनका लागि विशेष खालेको ड्रम बनाइएको छ । सन् १९८४ को अन्त्यमा उनी कार दुर्घटनामा परेका थिए र उनको पछि बायाँ हात काट्नुपरेको थियो । तर पनि उनले ड्रम बजाउन छाडेनन् । त्यसैले उनी लोकप्रिय रहे । ब्यान्डका प्रशंसक उनलाई मायाले भन्ने गर्छन्, ‘द थन्डर गड’ ।

twitter : @himeshratna

प्रकाशित : पुस ६, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?