कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पवनको गति

कुशल तिमल्सिना

काठमाडौँ — गत साता कीर्तिपुरमा सम्पन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि ललितपुर प्याट्रियट्सले जित्यो । उसको च्याम्पियन यात्रामा कलैयाका १८ वर्षीय पवन सर्राफको बलिङ चम्कियो ।

पवनको गति

मलेसियाको वायुमास ओभलमा नेपाली यू–१९ क्रिकेट टोलीले एसिया कपमा भारतलाई हराएर ऐतिहासिक सफलता हासिल पारेको थियो । १२ नोभेम्बर, २०१७ को त्यो खेल कुनै पनि संरचनाको क्रिकेटमा भारतमाथि नेपालको पहिलो सफलता थियो । त्यसमा हिरो बनेका थिए, कप्तान दीपेन्द्रसिंह ऐरी । तर, भारतलाई पराजित गरेको खेलमा बलर पवन सर्राफको प्रदर्शनलाई पनि कमजोर मान्न मिल्दैन ।


पवनले भारतविरुद्ध १० ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर २ विकेट लिएका थिए । ‘भारतलाई १८६ रनको चुनौती थियो । दोस्रो इनिङ्समा हामीलाई विनोद दाइ (प्रशिक्षक) ले भन्नुभयो कि यो विकेटमा यति लक्ष्य भेटाउन गाह्रो हुन सक्छ, आफूलाई विश्वास गरेर खेल,’ पवनले सम्झिए, ‘मेरो, सन्दीप लामिछाने र दीपेन्द्रको बलिङ राम्रो भयो । आफ्नै विश्वासले हामीले खेल जित्यौं ।’


घरेलु क्रिकेटमा पछिल्ला तीन वर्षयता पवन विभिन्न टिमबाट खेलिरहेका छन् । बलिङ अलराउन्डर भन्न रुचाउने उनी लय भेट्टाउन संघर्षरत थिए । अघिल्ला एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) मा आफ्नो प्रदर्शनप्रति उनी आफंै सन्तुष्ट थिएनन् । गत साता सम्पन्न ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जित्दा भने १८ वर्षीय पवनको बलिङ खुबै चल्यो । उनको ब्याटिङ पनि औसत रह्यो । उनले ६ खेलमा ११ विकेट लिए, जुन ईपीएलमा घरेलु बलरको सबभन्दा राम्रो प्रदर्शन हो । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिनेमा यूएईका मोहम्मद नाविदभन्दा एक विकेट पछाडि रहे ।


सुरुका दुई खेलपछि स्टार स्पिनर सन्दीप लामिछाने बिग बास लिगका लागि अस्ट्रेलिया गए । खराब बलिङ एक्सनका कारण गौरव तोमर पनि प्रतिबन्धमा परेपछि कप्तान ज्ञानेन्द्र मल्लले पवनलाई ‘फुल स्पेल’ मा बलिङ गराए । पवन कप्तानको विश्वासमा खरो उत्रिए । तीन खेलमा ३–३ विकेट लिए । फाइनलमा भैरहवा ग्लाडियटर्सविरुद्ध २ विकेट लिएर ललितपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनी पहिलो खेलमा ओपनर ब्याट्सम्यान नै थिए । त्यसपछि उनी मध्यक्रममा आए र चार इनिङ्समा ६३ रन जोडे ।


पवनले डीपीएल, ईपीएल र पीपीएलमा पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको कप्तानीमा खेले । सिनियर खेलाडीको हौसला र सहयोगले आत्मविश्वास बढेको उनले बताए । ‘दिनदिनै मेरो कौशल बढिरहेको छ । म आफूलाई धेरै विश्वास गर्छु । सिनियर दाइहरूले पनि धेरै हौसला दिइराख्नुहुन्छ,’ ज्ञानेन्द्रको कप्तानीमा खेल्न सहज मान्ने पवनले थपे, ‘टिममा परे वा नपरे पनि म कीर्तिपुर मैदानमा अभ्यास गरिरहेको हुन्छु, क्रिकेटप्रतिको भोकले नै मलाई उत्साहित गरिरहेको छ ।’


उमेर समूहको राष्ट्रिय टिममा पाँच वर्षयता सक्रिय पवन अब सिनियर टिमका लागि तयार देखिएका छन् । घरेलु क्रिकेटको अनुभव र मिहिनेतसँगै उनले आफूलाई तयार गरिरहेका छन् । ‘राष्ट्रिय टोलीमा स्थान बनाउन मैले अझै धेरै मिहिनेत गर्नुपर्छ,’ कलैयाका उनले भने, ‘टिममा परेर वैकल्पिक खेलाडी हुन चाहन्न बरु ढिला भए पनि राम्रो प्रदर्शन गरी नियमित सदस्य हुन चाहन्छु ।’ अफब्रेक स्पिनर पवनको ब्याटिङमा निश्चित क्रम छैन । शीर्ष, मध्य र अन्त्य, सबैमा उनले औसत प्रदर्शन गरिरहेका छन् । बलिङमा भने यू–१९ राष्ट्रिय टोलीबाट पाँच अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका पवनको उच्च प्रदर्शन रहेको छ ।


बारा जिल्ला नेपाली क्रिकेटकै उर्वर भूमि हो । पवन अग्रवाल, विनोद दास, सञ्जम रेग्मीजस्ता सफल क्रिकेटरको जन्मस्थलमा पवन क्रिकेट माहोलमै हुर्किए । उनको कलैया रंगशालाकै छेउमा घर छ । उनले पहिलोपटक देखे–बुझेको खेल नै क्रिकेट हो । उनले भने, ‘टेनिस बलले क्रिकेटको भोक मेट्थ्यौं ।’ दाइ जटाशंकर सर्राफको सपना पूरा गर्न क्रिकेटमा लागेको बताउँछन् उनी । ‘दाइ सिनियर राष्ट्रिय टिमको क्याम्पबाट फालिएपछि निकै दु:खी हुनुभयो । पारिवारिक अवस्थाले उहाँलाई क्रिकेटमा लागिरहन दिएन । अनि उहाँको सपना पूरा गर्न मैले क्रिकेट रोजें, यसै पनि मलाई क्रिकेटमै रमाइलो लाग्न थालिसकेको थियो,’ उनले भने ।


क्षेत्र नं. २ वीरगन्ज २०७० सालको राष्ट्रिय ट्वान्टी–ट्वान्टीमा च्याम्पियन भएको थियो र त्यस टिमका सदस्य थिए पवन । छनोटमा उत्कृष्ट प्रदर्शन गरेपछि जुनियर भए पनि उनलाई टिममा समावेश गरिएको थियो । नेपालको यू–१६ टिमले सन् २०१४ मा एसीसी यू–१६ प्रिमियर लिगको उपाधि जित्दा उनी मुख्य खेलाडी थिए । यू–१९ टिममा स्थान बनाउन उनले दुई वर्ष कुर्नुपर्‍यो । उनी तीनपटक क्याम्पबाट फालिए । चौथो प्रयासमा टिममा परे । उनी मार्चमा हुने यू–१९ विश्वकप छनोटको तयारीमा छन् ।


प्रशिक्षक विनोद दास उनको करिअरको ग्राफ निरन्तर उकालो लागिरहनुलाई सकारात्मक मान्छन् । ‘उनले निरन्तर राम्रो खेलिरहेका छन् । तर, त्यसैको आधारमा राष्ट्रिय टिममा योग्य छन् भन्न सकिँदैन,’ राष्ट्रिय टिमका पूर्वकप्तान पनि रहेका दासले थपे, ‘ऊ राम्रो बाटोमा छ । एकपछि अर्को खेलमा परिपक्व देखिन्छ ।’ बलिङमा स्वाभाविक र ब्याटिङमा केही सुधार गरे पवनले राष्ट्रिय टिममा चाँडै स्थान पाउन सक्छन् ।


[email protected]




ईपीएल क्लिक्स












प्रकाशित : पुस १३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?