फेसबुकको काण्डै काण्ड

हेलो शुक्रबार

काठमाडौँ — सन् २०१८ मा धेरै प्रविधिका आविष्कारको चर्चा भयो तर यी सबैलाई ओझेल पार्ने गरी वर्षभरि नै फेसबुक चर्चाको केन्द्रमा रह्यो । फेसबुकले आफ्नो कुनै सकारात्मक भूमिकाका कारण नभई आलोचनाका कारण चर्चा पाएको हो ।

फेसबुकको काण्डै काण्ड

वर्षभरि नै फेसबुक स्क्यान्डलमा फसिरह्यो । जसका कारण उसको तटस्थ भूमिकामाथि संसारभर प्रश्न उब्जिएको छ । सन् २०१८ मा घटेका र सार्वजनिक भएका केही घटनाहरू, जसले फेसबुकलाई अलोकप्रिय बनाउन भूमिका खेल्यो ।


रुसी भूमिका

सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी निकायले फेसबुकमा भ्रामक सूचना फैलाएर निर्वाचनको परिणाम प्रभावित पारेको विषय अझै सेलाएको छैन । विभिन्न अमेरिकी निकायले आआफ्नो ढंगले यसको छानबिन गरिरहेका छन् । यो वर्षको सुरुवातमै स्पेसल काउन्सिलले निर्वाचनमा प्रयोग भएका रुसी ट्रोल पेजको सूची सार्वजनिक गरेपछि फेसबुक धेरै विवादमा फस्यो । फेसबुकले त्यस्ता भ्रामक जानकारी फैलाउने पेजहरूलाई नियन्त्रण गर्न नसकेको भन्दै उसको व्यापक आलोचना भयो ।


म्यानमारको हिंसा

म्यानमारमा जारी हिंसाका कारण हजारौंले ज्यान गुमाएका छन् भने लाखौं घरबारविहीन बनेका छन् । म्यानमारमा रोहिंगामाथि भएको हिंसामा फेसबुकको भूमिकाको चर्चा पनि भयो । फेसबुकमा गलत जानकारी फैलाएर रोहिंगामाथि घृणा फैलाइएको राष्ट्रसंघको प्रतिवेदनका कारण कम्पनीको खुबै आलोचना भयो । फेसबुकले कमजोरी स्वीकार गर्दै म्यानमारका केही प्रयोगकर्तालाई प्रतिबन्ध पनि गरेको छ ।


यही वर्ष श्रीलंकामा पनि फेसबुकमार्फत मुस्लिमविरुद्ध हिंसा भड्काउने प्रयत्न भएको भन्दै केही समय फेसबुक बन्द गरियो । गलत र उत्तेजित सामग्री फैलाउन र हिंसा भड्काउन प्रयोग भएको भन्दै संसारभर नै फेसबुकको आलोचना भइरह्यो । यसका विरुद्ध फेसबुकले आफ्ना प्रयोगकर्तालाई पटक पटक सचेत गराए पनि प्रभावशाली देखिएन ।


क्याम्ब्रिज एनालिटिका विवाद

फेसबुक प्रयोगकर्ता र उनीहरूका साथीहरूको विवरणसमेत जम्मा पारेर बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाले अमेरिकी निर्वाचनमा प्रयोग गरेको सार्वजनिक भएपछि फेसबुकको आलोचना व्यापक भयो ।


रुसी मूलका प्राध्यापक अलेक्जेन्डर कोगनले एउटा एपमार्फत फेसबुकको कमजोरीको फाइदा उठाउँदै क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक उपलब्ध गराएका थिए । बेलायती कम्पनीले सोही तथ्यांकको आधारमा आफूले अमेरिकी निर्वाचन प्रभावित पारेको भन्दै अन्य देशका चुनावमा पनि राजनीतिक दलको प्रचारका लागि प्रस्ताव गरेपछि यो मुद्दाले ठूलो रूप लियो । धेरै देशमा क्याम्ब्रिज एनालिटिका प्रतिबन्धमा पर्‍यो । अहिले क्याम्ब्रिज एनालिटिका बन्द भइसकेको छ तर उसले आफूसँग भएको फेसबुक प्रयोगकर्ताको तथ्यांक नष्ट गरेको दाबी गरे पनि विश्वस्त हुने ठाउँ छैन ।


अमेरिकी संसद्मा मार्क जुकरवर्ग

क्याम्ब्रिज एनालिटिका विवाद र आफ्ना प्रयोगकर्ताको गोपनीयता सुरक्षा गर्न नसकेको विषयमा अमेरिकी संसद्मा फेसबुक मालिक मार्क जुकरवर्गले दिएको बयान पनि २०१८ मा चर्चित रह्यो । अमेरिकी संसद्हरूको प्रश्न र जुकरवर्गको उत्तर चित्त नबुझाउने पनि धेरै थिए । यही विषयमा जुकरवर्गले युरोपियन युनियनको संसद्मा पनि बयान दिए भने बेलायती निकायले फेसबुकको अनुसन्धान गरिरहेको छ । अमेरिकी संसद्हरूले विशेष गरी फेसबुकले प्रयोगकर्ताको तथ्यांक सुरक्षा गर्न नसकेको विषयमा आवाज उठाएका थिए ।


तथ्यांक बिक्रीको खुलासा

क्याम्ब्रिज एनालिटिका विवाद साम्य हुन नपाउँदै अरू विवादले पनि फेसबुकलाई छाडेन । विशेष गरी स्मार्टफोन निर्माता कम्पनीहरू सामसुङ, हुवावेजस्ता कम्पनीलाई फेसबुकले आफ्ना प्रयोगकर्ताको तथ्यांक बिक्री गर्ने गरेको खुलासापछि संसारभर फेरि उसको आलोचना भयो । न्युयोर्क टाइम्सले गरेको खुलासाका कारण फेसबुकले आफ्ना प्रयोगकर्ताको तथ्यांक पैसाका लागि बिक्री गर्ने तथ्य खुलेको थियो । योबाहेक, फेसबुकले माइक्रोसफ्ट, अमेजनजस्ता ठूला कम्पनीलाई पनि तथ्यांक बिक्री गरेको सप्रमाण सार्वजनिक भयो ।


तथ्यांक चोरी

फेसबुकले तथ्यांक बिक्री गरेको तथ्य मात्रै सार्वजनिक भएन, फेसबुकमा पटक पटक भएको ह्याकमा करोडौं प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक चोरी हुने गरेको खुलासा फेसबुक आफैंले गर्‍यो । यसले पनि प्रयोगकर्ताको तथ्यांक सुरक्षाका लागि फेसबुक गैरजिम्मेवार रहेको सन्देश दियो र कम्पनीको आलोचना भयो ।


सेयर नगरेको फोटो चोरी

डिसेम्बरमा फेसबुकले आफैंले के स्वीकार गरेको छ भने १५ सय बढी एपले प्रयोगकर्ताको स्मार्टफोनमा रहेका फोटाहरू चोरी गर्ने गरेका थिए । प्रयोगकर्ताले आफ्नो फेसबुकमा सेयर नगरेका फोटाहरू पनि लिने गरेको खुलासापछि फेसबुकको आलोचना झन् बढ्यो । त्यसैले यो वर्ष संसारभर सबैभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुकका लागि सुखद भएन । उसका प्रयोगकर्ताका लागि पनि कम्पनीप्रतिको विश्वासका हिसाबले सुखद भएन ।


वर्षभरि तथ्यांक चोरी, दुरुपयोग र प्रयोगकर्ताको गोपनीयता राख्न असफल कम्पनीका हिसाबले फेसबुकको आलोचना भई नै रह्यो ।

प्रकाशित : पुस १३, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?