२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

ठूला स्क्रिनको होड

हेलो शुक्रबार

काठमाडौँ — हरेक अंग्रेजी वर्षको पहिलो महिनाको पहिलो सातामा हुने कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीइएस) लाई त्यो सालको प्रविधिको हिसाबले महत्त्वपूर्ण मानिन्छ । अमेरिकाको लास भेगासमा हुने शोमा विश्वका ठूला कम्पनी र स्टार्टअपहरूले आफूले तयार पारेका नयाँ प्रविधिको घोषणा र सार्वजनिक गर्ने गर्छन् । त्यसैले सीईएसमा घोषणा हुने र सार्वजनिक गरिने नयाँ प्रविधिले वर्षभरि नै प्रविधि बजार निर्देशित गर्छ ।

ठूला स्क्रिनको होड

सन् २०१९ मा फाइभजी प्रविधि, चालकविहीन कार र पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोनबारे बढी चर्चा हुने अपेक्षा छ । तर, सीइएसमा सार्वजनिक गर्ने प्रविधिको सूची हेर्दा यो वर्ष बढी ठूला स्क्रिनको चर्चा हुने अनुमान गर्न सकिन्छ किनकि स्क्रिन उत्पादनमा नाम कमाएका ठूला कम्पनीहरूले यो वर्ष आफूले उत्पादन गरेका नयाँ खालका स्क्रिनहरू सार्वजनिक गर्ने तयारी गरेका छन् ।


यो वर्ष सार्वजनिक हुने स्क्रिनहरू नवीनतम आविष्कार भने होइनन् । पहिल्यै घोषणा भएका वा प्रोटोटाइप सार्वजनिक भएका स्क्रिनको परिस्कृत रूप शोमा देखाइने छन् । तर, यी स्क्रिनहरू अब उपभोक्ताका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको छ ।


यसपालि सीइएसको ठूलोमध्येको एक घोषणा एलजीको पट्याउन मिल्ने टेलिभिजनको घोषणा पनि हो । कम्पनीले यसअघि नै यस्तो टीभीको घोषणा गरे पनि त्यो प्रोटोटाइप मात्रै थियो । अब भने उपभोक्ताले खरिद गर्न मिल्ने गरी टीभी बजारमा ल्याउने अपेक्षा छ । आवश्यकता अनुसार पट्याउन मिल्ने ६५ इन्चको टीभीमा ओलेड डिस्प्ले हुनेछ । यो टीभीलाई आवश्यकताअनुसार पूरै वा थोरै स्क्रिनमा हेर्ने गरी पट्याउन पनि सकिनेछ । यस्तो स्क्रिन भएको टीभीको सुलभताले आगामी दिनमा ठूला स्क्रिनको भविष्य बदलिने अपेक्षा गरिएको छ ।


अघिल्लो वर्षको सीइएसमा सामसुङको १२ फिट लम्बाइको होम थिएटरको घोषणाले धेरैको ध्यान तान्यो । भित्तामा तलदेखि माथिसम्म राख्न मिल्ने भएकाले यसको नामै ‘दी वाल’ राखिएको थियो । यो अहिले पनि बजारमा उपलब्ध छ । तर, कम्पनीले यो वर्ष सीइएसमा यसको सानो संस्करण सार्वजनिक गर्ने अपेक्षा छ । अहिले पनि सामसुङ एट के रिजोलुसन भएको टीभीमा बजारको नेतृत्व गरिरहेको छ । उसले अघिल्लो वर्ष ८५ इन्च स्क्रिनको टीभी बिक्री सुरु गरेको थियो । यही मोडलको ६५ इन्च स्क्रिनको टीभी यसपालि सार्वजनिक गर्ने अपेक्षा छ । सीइएसमा सामसुङले नयाँ स्क्रिनसहित आफ्नो भ्वाइस असिस्टेन्ट विक्सबाई सुविधासहितको नयाँ डिभाइस पनि घोषणा गर्ने अपेक्षा गरिएको छ ।


सोनी पनि टेलिभिजन बजारमा अग्रणी स्थानमा छ । तर, हरेक वर्ष आफूले सार्वजनिक गर्ने नयाँ टीभी उसले गोप्य राख्ने गर्छ । यो वर्ष सोनीले सीईएसको मौका छोपी आफ्नो एट के मोडल टीभीको अपडेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । गत वर्ष पनि उसले आफ्नो एक्स वान प्रोसेसरसहितको एटके टेलिभिजन ल्याएको थियो ।


सोनीले एन्ड्रोइड एटसहितको नयाँ टीभी पनि ल्याउने अनुमान गरिएको छ । यसअघिकै सोनी टीभीमा ओरियो अपडेट आइसकेको भए पनि नयाँ टीभीमा भने गुगल असिस्टेन्टमार्फत हुने सर्च सुविधा परिस्कृत हुनेछ । यसमा गुणस्तर र प्रयोगकर्तामैत्री हुने गरी प्राविधिक पक्ष सुधारिने अपेक्षा छ ।


यसबाहेक भिजियो, टीसीएल, हिसेन्सजस्ता टीभी उत्पादकहरूले कम मूल्यका नयाँ अपडेटसहितको टीभी सार्वजनिक गर्ने अपेक्षा छ । सन् २०१९ टीभीमा प्रविधिका हिसाबले क्रान्ति नै नभए पनि टीभी परिस्कृत हुँदै गएको हिसाबले सुधार हुने अनुमान गर्न सकिन्छ । किनकि अधिकांश कम्पनीले नयाँ आविष्कार भएका स्क्रिन र टीभी नभई परिस्कृत संस्करण सार्वजनिक गर्नेछन् ।

[email protected]

प्रकाशित : पुस २०, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?