कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेन्चका स्टार 

थ्री–स्टारविरूद्ध हामीले यति प्रभावशाली खेल देखायौं कि चोटको समस्या नै बिर्सियौं । त्यही खेलपछि हो हामीले लिग जित्न सक्छौं भनेर विश्वास गरेको ।
कुशल तिमल्सिना

काठमाडौँ — मनाङमस्र्याङ्दी क्लबले दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ को उपाधि कब्जा गर्‍यो । उसको च्याम्पियन यात्रामा मिडफिल्डर हेमन गुरूङ प्रभावशाली देखिए । दुवै खुट्टा उत्तिकै चलाउने उनको करिअरले उचाइ लिइरहेको छ ।

बेन्चका स्टार 

राष्ट्रिय फुटबल टिम सन् १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को स्वर्ण जितेपछि उपाधिविहीन यात्रामा थियो । त्यसको २६ वर्षपछि आएर सन् २०१६ मा नेपाली टिमले तीन उपाधि जित्यो, बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र यू–२३ को १२ औं साग । यी तीनै उपाधि यात्रामा मिडफिल्डर हेमन गुरुङले महत्त्वपूर्ण योगदान गरेका थिए । त्यसयता राष्ट्रिय टिमको स्तर र नतिजा फेरि खस्किरहेको छ । हेमनको करिअरले भने उचाइ लिइरहेको छ । तर, उनले नेपालको जर्सी लगाएर मैदानमा उत्रने अवसर भने अत्यन्तै कम पाएका छन् । उनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि गज्जबकै प्रदर्शन गरिरहेका छन् । लिगमा दुई खेल अगावै मनाङमस्र्याङ्दी च्याम्पियन हुनुमा उनको भूमिका महत्त्वपूर्ण रहेको छ ।


एक हिसाबले भन्ने हो भने राष्ट्रिय टिममा बेन्चमै सीमित हुनुको मीठो जवाफ हेमनले लिगमा दिइरहेका छन् । मनाङको कीर्तिमान आठपल्टको च्याम्पियन यात्राका हरेक गोलमा हेमनको योगदान रहेको छ । ब्रिगेड ब्वाइजविरुद्ध गोल पनि गरेका उनलाई ‘निर्णायक’ खेलमा संकटाविरुद्ध दुईपल्ट गोलपोस्ट बाधक बनेको थियो । आधुनिक फुटबलमा मिडफिल्डलाई मुटुका रूपमा लिइन्छ । त्यही भूमिकामा हेमनले एकपछि अर्को खेलमा आफूलाई सिद्ध गरिरहेका छन् । लिगको उत्कृष्ट मिडफिल्डरको स्वाभाविक दावेदार रहेका उनको कौशल एकपछि अर्को खेलमा सुधारिएको देखिन्छ । लिगमा हेमनको उच्चस्तरको प्रदर्शन राष्ट्रिय टोलीका प्रशिक्षकका लागि गतिलो झापड पनि हो ।

सन् २०१४ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेयता उनले १२ क्याप जितेका छन् । सिनियर टिमसँगको पहिलो प्रतियोगिता (साफ च्याम्पियनसिप २०१६) मा असफल रहेका हेमनले त्यसपछि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र गुवाहटीमा सम्पन्न १२ औं सागमा प्रभावशाली प्रदर्शन गरेका थिए । त्यसयता उनी राम्रै लयमा छन् । घाइते पनि होइनन् । क्लब फुटबल निरन्तर खेलिरहेका छन् । राष्ट्रिय टिममा किन अवसर पाइँदैन त ? ‘थाहा छैन,’ २४ वर्षीय उनले भने ।


पाँच फिट तीन इन्च अग्ला उनलाई उचाइ बाधक भएको हो त ? ‘सायद’ उनले भने, ‘किनभने अरू सबै कुरामा म उस्तै छु, जस्तो पहिला थिएँ । खेल थप राम्रो भएको छ । तर, उचाइकै कारण मैले टिमबाट बाहिर निस्कनुपर्ने अवस्था देख्दिनँ, किनभने म नेपाली खेलाडीको औसत उचाइभन्दा एक या दुई इन्चमात्र होचो छु । हामीले एयर बल वा लामो पास खेल्नुपर्छ भन्ने छैन । हेडिङ गर्न सक्दिन होला, बल कन्ट्रोल र खुट्टाको काम त म उत्तिकै गर्न सक्छु नि π’

उनको क्षमता लिगमा प्रशिक्षक तोपे फुजाले पहिल्याए । उनलाई मिडफिल्डमा मुख्य जिम्मेवारी दिइयो र भनियो, फरवार्डलाई बल उपलब्ध गराउने जिम्मा तिम्रो । ‘उहाँले मलाई जुन विश्वास गर्नुभयो, त्यो पूरा गर्न सकेकामा खुसी लागेको छ,’ लिग उपाधिको श्रेय प्रशिक्षकलाई दिँदै उनले थपे, ‘उहाँको ठाउँमा कुनै नेपाली प्रशिक्षक भएको भए मनाङ कस्तो हुन्थ्यो, म भन्न सक्दिनँ ।’ लिगको सुरुमै सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी घाइते भए पनि प्रशिक्षक फुजाले होसियारीपूर्वक ‘बेन्च’ लाई उपयोग गरेको उनले बताए ।


कागजमा मनाङको सहायक प्रशिक्षक रहेका फुजाको टिममा कामबारे हेमनले भने, ‘उहाँले हरेक टिमविरुद्ध फरक रणनीति र फर्मेसनमा खेलाउनुहुन्थ्यो । लिगमा उहाँको यही खुबी सफल भएको हो ।’ खेलाडीको चोटको पीडा र विदेश पलायनले समस्याग्रस्त भएकै बेला मनाङले लिगको तेस्रो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी थ्री–स्टारको सामना गर्नुपर्‍यो । ‘थ्री–स्टारविरुद्ध हामीले यति प्रभावशाली खेल देखायौं कि चोटको समस्या नै बिर्सियौं । त्यही खेलपछि हो हामीले लिग जित्न सक्छौं भनेर विश्वास गरेको । त्यसपछि हामीले जितिरह्यौं, थ्री–स्टार उल्टो गतिमा गयो,’ उनले भने ।

असोज १३ मा सुरु भएको लिग यही महिना सकिँदै छ । घरेलु फुटबलको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता काठमाडौंमा सीमित छ भने यो त्यत्तिकै छोटो पनि । एउटा खेलाडीका लागि यो पनि निराशाजनक कुरा नै हो । ‘अस्ति भर्खरै सुरु भएजस्तो लाग्छ, एकैछिनमा सकिएजस्तै भयो,’ हलचोक र सातदोबाटोमा खेलिरहेको लिगको अनुभव उनले सुनाए, ‘दशरथ रंगशालामा हुँदा धेरै दर्शक आउँथे । रमाइलो लाग्थ्यो ।’ एन्फा एकेडेमीबाट उत्पादित हेमनले २०६४ सालयता यू–१३ देखि सबै उमेरका राष्ट्रिय टिमबाट खेले । उनी कप्तान पनि भएका थिए ।


उनी दुवै खुट्टा उत्तिकै चलाउँछन् । ‘मैदानमा उनको खुट्टा यसरी चल्छ कि हेरिरहुँ लाग्छ,’ मनाङका गोलकिपर विशाल श्रेष्ठले भने, ‘उनको पास पनि उत्तिकै सटीक हुन्छ ।’ १९ वर्षको छँदा राष्ट्रिय टिमबाट खेल्दा र अहिले आफूमा आएको परिवर्तनलाई उनी सकारात्मक मान्छन् । करिअरको ग्राफले उचाइ लिइरहेका बेला उनी नेपालको पछिल्ला १२ खेलमा बेन्चमै रहेर टिमको असफलता हेर्न बाध्य भए । उनी एसियन कप छनोटका ६ मध्ये ५ खेलमा मैदानमै ओर्लनै पाएनन् । चार महिनाअघिको साफ च्याम्पियनसिप र त्यसयताको बंगबन्धुमा पनि उनी बेन्चको दर्शकमै सीमित भए । यसरी बेन्चमै बसिरहँदा उनमा निराशा छाएको छ । उनलाई लाग्न सक्छ, नेतृत्व नै गलत पो हो कि ?


‘राष्ट्रिय टिममा परेका सबै खेलाडी समान हुन् । उनीहरू खेल्ने पालो कुरेर बसिरहेका हुन्छन्,’ उनले भने, ‘सबैले एकैपटक खेल्न पाउँछन् भन्ने छैन । तर, बेन्चमा बस्ने खेलाडीलाई टिमको जितमा खुसी हुने वातावरण बनाउन सक्नुपर्छ । उनीहरूलाई पनि राष्ट्रिय खेलाडीकै जस्तो व्यवहार हुनुपर्छ ।’


नेपाली टिममा विदेशी प्रशिक्षकलाई उच्च सम्मान दिइन्छ । विदेशका चार प्रशिक्षकको नेतृत्वमा टिममा रहेका उनी भन्छन्, ‘विदेशी प्रशिक्षकले खेलाडीको प्रतिभा चिन्छन् न कि उसको शारीरिक ढाँचा । सिनियर टिममा आएपछि मैले पहिलोपटक विदेशीको प्रशिक्षण पाएँ । उहाँ (ग्राहम रोबर्ट्स) ले तिम्रो यो राम्रो छ, यसलाई निरन्तरता दिनु, यो नराम्रो छ, यसलाई कम गर्दै लैजानु भनेर सल्लाह दिनुभयो । राम्रो खेल्दा ताली र नराम्रो खेल्दा गाली दिनुभयो । जसले मैले सुधारको अवसर पाउँथें । जुनियरमा छँदा त्यस्तो सल्लाह कहिल्यै पाइनँ ।’


हाल नेपालको स्तर खस्किनुको कारणबारे हेमनको आफ्नै तर्क छ, ‘हामीले लगातार एकै फर्मेसनमा खेल्दा विपक्षीलाई धेरै ठाउँ दिइयो ।’ साफ २०१८ को सेमिफाइनलमा माल्दिभ्सविरुद्ध त्यस्तै भयो । समूह चरणमा एक गोल पनि गर्न नसकेको माल्दिभ्सले नेपाली मिडफिल्डलाई चल्नै दिएन । उनले भने, ‘त्यसबेला हामीले अतिरिक्त मिडफिल्डर हाल्नुपर्ने ठाउँमा स्ट्राइकर थपेर, मिडमा खेल्ने ठाउँ दिइयो । त्यो पोजिसनअनुसारको फुटबल भयो त ?’


रणनीति, परिश्रम, खेलाडीप्रतिको व्यवहार सामीप्यता र योगदान नेपाली प्रशिक्षकको तुलनामा विदेशी प्रशिक्षकमा धेरै हुने हेमनको अनुभव छ । स्वदेशी प्रशिक्षकले एकै खेलको आधारमा खेलाडीको क्षमता मूल्यांकन गरेको धेरै खेलाडीको गुनासो छ । र, अर्को कुरा सधैं खेलाडीलाई राम्रो खेलेन भनेर दबाब थोपर्ने मात्रै गर्छन् । खासमा फुटबलमा मुख्य जिम्मेवार त प्रशिक्षक हुने गर्छ तर यहाँ पन्छिने चलन बसेको छ । ‘लामो अनुभवले नै स्तरीय खेलाडी बन्ने हो । तर, राष्ट्रिय टोलीमा अहिले पनि एउटै खेलबाट राम्रो–नराम्रो छुट्याउने अभ्यास भइरहेको छ,’ उनले भने, ‘आज राम्रो खेल्यो भने भोलि प्लेइङसेटमा परिन्छ । एउटा खेलमा नराम्रो खेल्यो भने त्यो सिधै बेन्चमा पुग्छ । यस्तो परिपाटी कहिलेसम्म ?’

[email protected]

प्रकाशित : पुस २०, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?