अभिनयको भोक

हामी कलाकारका कारण फिल्म चल्दैन, त्यसका लागि हाम्रो औकात छैन भन्ने दिमागमा भराइन्छ । फिल्म चल्नलाई सुपरस्टार नै हुनुपर्छ ।
सुशील पौडेल

काठमाडौँ — ‘रेसम फिलिली’ मा हरियाको भूमिकामार्फत चर्चामा आएका थिए कामेश्वर चौरासिया । पलाँस, अमेरिका ब्वाइज, साढे सात, राज्जारानी, गरूड पुराणमा पनि अभिनय गरेका उनी अचेल गुजारा चलाउन पनि संघर्षरत छन् ।

अभिनयको भोक

भाइको छोरा इन्जिनियर थिए । कामेश्वर चौरासियाका बाबु पनि चाहन्थे, छोरो इन्जिनियर वा डाक्टर बनोस् । रामलीला हेरेरै हुर्केका कामेश्वरको बालमस्तिष्कमा नै कलाकारको चस्का पसिसकेको थियो । चाहन्थे, काठमाडौं गएर हिरो बनुँ । एसएलसी दुईचोटिमा उत्तीर्ण भए । पढाइमा कमजोर, कलाकारको ज्यादा भोक भएपछि बाबु–छोराबीच ठूलो द्वन्द्व पर्‍यो नै ।


‘आफूले चाहेअनुसार कलाकार बन्न नपाउने भएपछि त्यो बेला मैले दुईचोटि आत्महत्या गर्ने प्रयास पनि गरें । एकपटक नाडी काटें । अर्कोपटक विष खाएँ तर मेरो कुकुर भुक्यो र बचायो,’ पछि कामेश्वरलाई ठीक भएर घरबाट जा, जे गर्छस् गर भनेर बाटो फुकाइदिए । वीरगन्जमा जन्मेर बारामा हुर्केका कामेश्वरले केही समय गाउँमै अभिनय देखाए । ३० वर्षको छँदा दस वर्षअघि काठमाडौं छिरे । ‘गाउँमै छँदा गुरुकुलका बारेमा पत्रिकामा खुब पढेको थिएँ । काम पाइन्छ भनेर आएँ । तर एक वर्ष कुर्दा पनि पाइएन । फेरि अनुप बराल सरको एक्टर्स स्टुडियो गएँ । त्यहाँ पनि ३/४ महिना त्यसै बित्यो,’ तर पनि बेकार कलाकार बन्न आइएछ भन्ने कहिल्यै नलागेको उनले बताए ।


हरेकको एक दिन आउँछ । कामेश्वरको पनि आयो । ‘रेशम फिलिली’ मा हरियाको भूमिका निर्वाहको प्रस्ताव आयो । कलाकारका रूपमा आफूलाई प्रमाणित गर्नु थियो, कामेश्वरले खेले । फिल्म रिलिज भयो, २०७२ वैशाख ११ गते । दर्शक प्रतिक्रियाका लागि कामेश्वर पनि हलतिर निस्किए । ‘त्यो दिन मलाई जादुयी महसुस भएको थियो । एक दिनका लागि आफूलाई स्टार अनुभव गरें,’ त्यही एक दिनको भोलिपल्ट देशमा महाभूकम्प गयो । कामेश्वरको जग मात्रै लागेको करिअरको संरचना पनि गल्र्याम्म ढल्यो ।


अचेल उनमा स्टारको भूत छैन । भन्छन्, ‘हामी कलाकारका कारण फिल्म चल्दैन, त्यसका लागि हाम्रो औकात छैन भन्ने दिमागमा भराइन्छ । अब त मेरो दिमागमा पनि त्यही घुसिसक्यो । फिल्म चल्नलाई सुपरस्टार नै हुनुपर्छ । एक, दुई सुपरहिट फिल्म दिएको हुनुपर्छ ।’


बरु अचेल उनलाई बेकार कलाकार बन्न आएछु भन्ने पनि लाग्न थालेको रहेछ, सँगैका साथीहरूको अरू क्षेत्रमा प्रगति देख्दा । साथीहरू भेट्न पनि हच्किन थालेका छन् । बरु पेप्सीकोलाकै भाडाको कोठामा दिनभर बस्छन्, कतै निस्कँदैनन् । अर्का कलाकार प्रकाश गन्धर्वसँग एउटै कोठा साझेदारी गरेर बसेका कामेश्वरलाई यतिबेला दैनिक गुजारा चलाउन पनि हम्मेहम्मे छ ।


बीचमा पलाँस, अमेरिका ब्वाइज, साढे सात, राज्जारानी, गरुड पुराण गरे पनि कामेश्वरलाई पैसाको अभाव अझै चर्को छ । तीन वर्षअघि बिहे गरे । सत्र महिनाको सन्तान छ । उनीप्रति परिवारको अपेक्षा दिनानुदिन बढ्दो छ । ‘घरको अपेक्षा पूरा गर्न म अहिलेसम्म असफल छु । अहिलेको यो अवस्थामा आएर परिवारसँग मेरो सम्पर्क पनि पातलिँदै गएको छ । त्यो नहुनुपर्ने । मलाई यी कुरा भन्दा गाह्रो भइरहेको छ । प्लिज यी कुराहरू भन्न मन छैन,’ उनी केहीबेर मन गाँठो पारेर बसे ।


कामेश्वर अहिले लामो समयदेखि कामविहीन छन् । भन्छन्, ‘कलाकार मात्रै भएर पुगेन । अलिकति बाठो पनि हुनुपथ्र्यो, चाप्लुसी पनि गर्नुपथ्र्यो । काम गरेर पैसा पनि नमाग्ने खालको हुनुपथ्र्यो, जसले आफ्नो स्वार्थका लागि जहाँ बोलायो, त्यहीँ पुगिहाल्ने खालको भएको भए सायद म टिक्थें । काममा कमी हुँदैनथ्यो ।


कामेश्वरलाई रेशम फिलिलीमा जति हरियाको चरित्रले चिनायो, त्यति नै बोके डनको चर्तिकलाले डुबायो । ‘अत्ति भयो,’ अहिले पनि धेरैले बोके डन भनेर चिन्ने गरेको तीतो पोख्दै उनले भने, ‘स्क्रिप्ट सुन्दै मैले कतिचोटि अनुरोध पनि गरेको थिएँ, दाइ प्लिज यार, यो खालको सिन अलिकति नगर्दिनु भए राम्रो हुन्थ्यो होला । तर उहाँहरूबाट यो जोकको सेन्स तिमी बुझ्दैनौं भन्ने खालको जवाफ पाएँ ।’ कति वर्षदेखि मौका पर्खिरहेका कामेश्वरले त्यसैका लागि फिल्म छोड्न पनि सकेनन् । ‘आफूलाई कलाकारका रूपमा प्रमाणित गर्न भए पनि फिल्म चाहिएको थियो । प्रमाणित गरे पनि । त्यो दृश्य पनि भुलिहाल्छ होला ठानेको थिएँ तर अप्राकृतिक भएकाले भुल्न सकेनन्,’ उनले त्यसलाई भुलाउन पनि लगातार केही फिल्म खेले । तर भएन ।


यतिबेला कामेश्वर बाँच्नकै लागि संघर्ष गरिरहेका छन्, काठमाडौंमा । ‘यहाँ त पिसाब फेरेको पनि पैसा लाग्छ । फिल्म खेल्न पनि आफूलाई बचाइराख्नु छ । अब म जे रोल आए पनि खेल्न तयार छु । मलाई बाल छैन । पर्याप्त पैसा भइदिएको भए छानेर वर्षमा वा दुई वर्षमा एउटा आफूलाई प्रयोग गर्न सक्ने खालको राम्रो फिल्म खेल्नुहुन्थ्यो,’ हिरो बन्न राजधानी आएका उनी अचेल विक्षिप्त चरित्रको, धोखेबाज, खुनी चरित्र गर्न मन लाग्ने गरेको सुनाउँछन् । किन त ? भन्छन्, ‘मैले दुनियाँमा यस्तै बढी देखें । जुन चरित्रलाई समाजले मन पराउँदैन, त्यो चरित्र मलाई मन पर्छ । समाजले तिरस्कार गरेको पात्र, चरित्रले मलाई भयंकर छुन थालेको छ ।’


भविष्य सोच्यो भने टाढा–टाढासम्म कालो देख्छन् कामेश्वर । तर आत्महत्याको सोच भने नआएको बताउँछन् । ‘अब त काल नै आउने बेला भइसक्यो । के मर्नु ?’ तर अभावले बाँच्न मुस्किल भने पारेकै छ, ‘अभिनय गरेरै म बाँचे भने पैसा कमाउनलाई अरू गर्दिन । किन गर्नु अरू काम ?’ तर भोको पेटको दु:ख उनलाई राम्रै थाहा छ । मीठो खानसमेत कार्यक्रम पर्खनुपर्ने अवस्था रहेको उल्लेख गर्दै कामेश्वरले सुनाए, ‘मान्छे भोकाएपछि लाज नलाग्दो रहेछ । गम्भीर रूपमा भन्नुपर्दा एक समय जिगोलो बनुँ भन्ने पनि सोच आएको थियो । काठमाडौंमा यस्तो पनि हुन्छ रे भन्ने सुनेपछि साथीले भन्थ्यो, दादा, खान पनि पाइन्छ, फाइभ स्टार होटलमा बस्न पनि पाइन्छ । दिमागमा त्यहाँसम्मको कुरा सोचियो । धन्न लागिएन ।’

[email protected]

प्रकाशित : पुस २७, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?