सीइएसमा नयाँ

काठमाडौँ — अमेरिकाको लस भेगासमा हरेक जनवरीमा हुने कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) संसारभरका प्रविधि कम्पनीहरूका लागि महाकुम्भ हो । यहाँ प्राय: सबै कम्पनीले आफ्ना नयाँ उत्पादनहरू प्रदर्शन गर्छन् । गत साता सकिएको सीईएसमा यो वर्ष विशेष के रह्यो त ?

सीइएसमा नयाँ


पहिलो फोल्डेबल फोन

सामसुङको फोल्डेबल फोनको चर्चा हुन थालेको करिब तीन वर्ष भइसक्यो । यसअघिकै सीईएसमा एलजीले पट्याउन मिल्ने र मोबाइलमा प्रयोग गर्न मिल्ने स्क्रिन प्रदर्शन गरिसकेको थियो । तर, त्यसलाई मोबाइल डिभाइसमा प्रयोग गर्दा कस्तो देखिन्छ ? यो उत्सुकताको अन्त्य रायोलेको फ्लेक्सपाइले गरिदिएको छ । अमेरिकामा रहेको चिनियाँ कम्पनीले सीईएसमा आफ्नो डिभाइस प्रदर्शन गरेको हो ।


यो अहिले उपभोक्ताको लागि नभई डेभलपरहरूका लागि मात्रै उपलब्ध छ । कम्पनीले २ हजार बढी डिभाइसको अर्डर पाइसकेको जनाएको छ । यसलाई नपट्याई ट्याब्लेट मोडमा राख्दा यसको स्क्रिन ७.८ इन्चको छ । यसलाई सजिलै पट्याउन मिल्ने गरी बनाइएको छ । यही वर्ष सामसुङ, हुवावे र एलजीले पनि यस्तै खालको फोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।



पट्याउन मिल्ने टीभी बजारमा

एलजीले अघिल्लो वर्ष नै पट्याउन मिल्ने टीभी स्क्रिनको अवधारणा सार्वजनिक गरेको छ । तर, यो पटक भने कम्पनीले उपभोक्ताका लागि हुने गरी यस्तो टीभी सार्वजनिक गर्‍यो । टीभी यही वर्षदेखि बिक्री सुरु गर्ने घोषणा गरे पनि यसको मूल्य तोकिएको छैन । विश्लेषकहरूका अनुसार भने पट्याउन मिल्ने टीभीको मूल्य अत्यधिक हुने भएकाले उपभोक्ताका लागि त्यति आकर्षक नहुन सक्छ । टीभीको स्क्रिनलाई आवश्यक नपरेका बेला सानो आकारमा पट्याउन मिल्छ । साथै, टीभीको बेसमा ध्वनि प्रणाली जडान गरिएका कारण सानो स्क्रिन हुँदा पनि यसको आवाज उस्तै रहने कम्पनीको दाबी छ ।


लुगा पट्याउने मेसिन

अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनी ‘फोल्डीमेट’ ले बनाएको लुगा पट्याउने मेसिन पनि यो वर्षको सीईएसको आकर्षण हो । करिब एक हजार डलर मूल्य राखिएको यो मेसिन सम्भवत: कमै प्रयोगकर्ताले किन्लान् तर यसले कसरी काम गर्छ भन्नेचाहिँ उत्सुकताको विषय भएको छ ।


हेर्दा ठूलो प्रिन्टर जस्तो लाग्ने यो मेसिनमा प्रयोगकर्ताले लुगा छिराए मात्रै पुग्छ । लुगाअनुसार मेसिन आफैंले पट्याउन सक्छ र फिर्ता पठाउँछ । यसले प्रयोगकर्ताको लुगा पट्याउने समयको बचत त गर्ला तर एक हजार डलर तिरेर यो किन्नु उपयुक्त हुन्छ ? यसको जवाफ उपभोक्ताले यो डिभाइस कत्तिको किन्छन्, त्यसैबाट थाहा लाग्छ । कम्पनीले यसै वर्षभित्र बिक्रीका लागि यो डिभाइस बजारमा पठाउने जनाएको छ ।



साइकल चलाउनेलाई एयरब्याग

एयरब्याग सामान्यतया कारमा राखिएको हुन्छ । तर, सीईएसमा भने यसपटक साइकल चलाउनेका लागि तयार गरिएको एयरब्याग प्रदर्शनीमा राखिएको थियो । यसले साइकलबाट लड्दा हुने चोटपटकबाट बचाउने उत्पादक फ्रान्सेली कम्पनी हेलाइटको दाबी छ ।


हेलाइटले विशेषत: प्यारासुट उत्पादन गर्दै आएको छ । साइकल चलाउनेका लागि तयार पारिएको एयरब्यागले उनीहरू लड्दा ढाड र पेटको भागमा लाग्ने चोट रोक्नेछ । हेर्दा सामान्य कपडा जस्तो देखिने एयरब्यागमा सेन्सर प्रयोग गरिएको छ, जसले साइकलबाट लड्दा भित्र सामान्य विस्फोट गराएर ब्यागमा ग्यास भर्न सघाउँछ ।


प्रकाशित : पुस २७, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?