के पढ्दै छन् युवा ?

‘अरु काम नभएका बेला पुस्तक नै पढ्छु भन्ने धेरैले सोच्नै छोडिसके । त्यस्तो अतिरिक्त समयमा सामाजिक सञ्जालमा रमाउनेको कमी छैन ।’
विभु लुइटेल

काठमाडौँ — काठमाडौंका सौरभ पराजुलीलाई सानै छँदा बा–आमाले हातमा पुस्तक थमाइदिएका थिए । कृष्णप्रसाद पराजुलीका ‘रमाइला नानी’ बाट सुरु भएको उनको पठन यात्रामा उनले समयक्रममा कविताबाहेकका अन्य विधा रुचाउँदै गए । ‘अचेल खासै कविता पढ्दिनँ,’ उनले सुनाए ।

सोह्र–१७ को उमेरमा आख्यान भनेपछि उनी हुरुक्कै हुन्थे । हारुकी मुराकामीका कृति दोहोर्‍याई–तेहेर्‍याई पढ्ने गर्थे । तर, अहिले आख्यानले पनि उनलाई खासै तान्दैन । गैरआख्यानतर्फ उनको झुकाव बढेको छ । अचेल विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिजस्ता विषयमा लेखिएका पुस्तकमा उनको गहिरो रुचि रहेको छ । आत्मकथा तथा संस्मरण पनि उनका मन पर्ने विधामा पर्छन् ।

राजधानीकै प्रतीक्षा शर्माको भने भिन्न पठन अनुभव छ । सानैदेखि पुस्तक पढ्न खासै मन नलाग्ने उनले पढेको पहिलो साहित्यिक कृति नै सुबिन भट्टराईको ‘समर लभ’ हो । ‘साथीले पढ् भनेका भरमा पढें । निकै राम्रो लाग्यो,’ उनले अनुभव साटिन् । ‘समर लभ’ पछि सुविन भट्टराईका अन्य पुस्तक पनि सबै पढिन् उनले । त्यसपछि उनले पढेका अर्का लेखक हुन्, चेतन भगत ।

भारतीय लेखक चेतन भगतका कृतिमा निकै सरल भाषा प्रयोग गरेको पाइन्छ । त्यसैले पनि उनका कृतिहरू पढ्न सजिलो हुन्छ । ‘फाइभ पोइन्ट समवान’, ‘वान नाइट एट द कल सेन्टर’, ‘थ्री मिस्टेक्स अफ माई लाइफ’ जस्ता कृतिका लेखक चेतन भगतको विशेषता नै आफ्ना कृतिमा सबैले सजिलो गरी बुझ्नेभाषाको प्रयोग गर्नु हो । अहिले उनको नेपाली पठन भने ठप्प छ । ‘नेपालमा अरू पनि लेखक छन् भनेर नै थाहा थिएन,’ उनी आफ्नो साहित्य चेतनाबारे प्रकाश पार्छिन् ।

मण्डला बुक पोइन्ट कान्तिपथमा अनेकथरी पाठक दैनिक रूपमा आउँछन् । यसका बजार व्यवस्थापक सिद्धार्थ महर्जनका अनुसार कुनै समयमा धेरै युवाको रुचिमा चेतन भगत,सिड्नी सेल्डन, निकोलस स्पाक्र्सजस्ता लेखक पर्ने गर्थे । अहिले त्यो संख्यामा केही कमी आएको र उनका अधिकांश युवा ग्राहक ‘सेल्फ–हेल्प’ तर्फ केन्द्रीकृत भएको उनले बताए ।

पुस्तकप्रेमीहरूको फेसबुक समूह ‘बुकाहोलिक्स’ की संस्थापक सगुना शाहले पराजुलीजस्ता पाठक पनि देखेकी छन्, शर्माजस्ता पनि । आफ्नो रुचि जेमा छ, त्यही विधाका पुस्तक पढ्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् ।
बुकाहोलिक्समा साहित्यका गहन कृतिदेखि लिएर सामान्य पाठकले बुझ्नेसम्मका कृतिबारे छलफल गरिन्छ । ग्रुपमा कसैले आफूले पढेको वा पढ्न मन लागेको कृतिबारे पोस्ट गर्छन् र छलफल कमेन्टमा हुन्छ । हरेक महिनाको अन्तिम शनिबार कुनै एक कृतिमाथि यस समूहले प्रत्यक्ष भेटघाट गरी समीक्षा पनि गर्ने गरेको छ । धेरै युवा यसबाट आफू लाभान्वित भएको अनुभूति गर्छन् ।

पठन संस्कृतिलाई क्रान्तिका रूपमा विस्तार गर्ने जमर्को गरेकी शाहसँग कुन पुस्तक पढ्ने भन्ने सुझाव माग्न आउने पनि थुप्रै छन् । पछिल्लो समय उनले अत्यधिक सिफारिस गरेका अंग्रेजी पुस्तकमा मार्क म्यान्सनको ‘द सटल आर्ट अफ नट गिभिङ अ फक’, ग्यारी भेनरचकको ‘क्रस इट’ लगायत छन् । झुम्पा लाहिरी, अरुन्धती रोय, सुकेतु मेहता, रोहिन्टन मिस्ट्री, खुसवन्त सिंहजस्ता लेखकका पुस्तक पनि उनले सिफारिस गर्ने गरेकी छन् । ‘नेपाली पुस्तक पढ्न चाहनेलाई पनि उनीहरूका रुचिअनुसारका सुझाव दिने गरेकी छु,’ शाह बताउँछिन् । शिक्षण पेसामा आबद्ध उनी पठन संस्कृति विकास गर्दै लैजाने उद्देश्यले समय–समयमा आफ्ना विद्यार्थीलाई पुस्तक समीक्षा गरी कक्षामा सुनाउन पनि लगाउँछिन् ।

एकातिर बुकाहोलिक्स, र्‍यान्डम रिडर्स सोसाइटीजस्ता बुक क्लबमा युवाहरूको सक्रियता बढेसँगै पठन संस्कृति मौलाउँदै गएको अनुभूति गर्न सकिन्छ भने अर्कातिर अधिकांशमा सामाजिक चेतको कमी, इन्टरनेटको बढ्दो प्रयोगका कारण त्यस विचारमाथि पुन: प्रश्न पनि गर्न सकिन्छ । ‘अरू काम नभएका बेला पुस्तक नै पढ्छु भन्ने धेरैले सोच्नै छोडिसके,’ शाह गुनासो पोख्छिन्, ‘त्यस्तो अतिरिक्त समयमा सामाजिक सञ्जालमा रमाउनेको कमी छैन ।’ अहिलेको ‘गुगल पुस्ता’ ले पुस्तकलाई कम महत्त्व दिने गरेको उनले अनुभूति गरेकी छन् ।
twitter : @LuitelBibhu

प्रकाशित : पुस २७, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एक्सलको पुनरागमन

हिमेश

काठमाडौँ — लामो समय ‘गन्स एन रोजेज’ मा बिताएका एक्सल रोज ब्यान्डका पछिल्ला टुरमा पनि निस्किसकेका छन् । अब ‘एसी डीसी’ ब्यान्डको फ्रन्टम्यान नै एक्सल हुन् भन्ने हल्ला चल्यो । ‘एसी डीसी’ भित्रै कलह रहेको स्थितिमा यो पनि हल्लामै सीमित रह्यो ।

गन्स एन रोजेज’ ब्यान्डको अस्तित्व अहिले छ भन्न पनि गाह्रो । छैन भन्न पनि गाह्रो । भर्खरै यो ब्यान्डले एउटा लामो टुर सकाएको छ, ‘नट इन दिस लाइफ टाइम’ । खुबै सफल रह्यो, नत्र यसले ५६ करोड ३० लाख अमेरिकी डलर कमाउने थिएन् । यसमा ब्यान्डका तीन प्रमुख सदस्य सहभागी थिए, एक्सल रोजदेखि स्लायस र डफ म्याककेगन । तर ब्यान्डले कुनैनयाँ गीत रिलिज नगरेको पनि धेरै भइसकेको छ । दस वर्ष भन्दा बढी ।

सन् २००८ मा ब्यान्डले अन्तिक पटक एल्बम रिलिज गरेको थियो र त्यो थियो, ‘चाइनिज डेमोक्रेसी’ । टुरकै क्रममा के पनि हल्ला चल्यो भने अब ब्यान्डमा पुनर्मिलन हुनेछ । तर यो हल्ला भन्दा केही पनि बढी भएन् । धेरैको आशंका के छ भने ब्यान्डमा दुई फ्रन्टम्यान हुन्, एक्सल र स्लायसबीच सम्बन्ध राम्रो हुन सकेको छैन् । दुवैको कुरा मिल्दैन । टुर केही नभए पनि दुई वर्ष जति लामो थियो, तर यति समय सँगै बस्दा पनि मन भने मिलेन ।

त्यसैले पनि ब्यान्डलाई लिएर केही भइरहेको छैन । खासमा विवाद विषय संगीतको स्वरूपलाई लिएर हो । अब ‘गन्स एन रोजेज’ ले लिने गीतको दिशा हुनेछ, त्यसमै कुरा अड्केको छ । एक्सल एकातर्फ फर्केका छन् भने स्लाय्स अर्कोतर्फ । अहिले यो सबै चर्चा किन भन्दा एक्सल आफैले भर्खर एउटा नयाँ गीत रिलिज गरेका छन् । यो ‘गन्स एन रोजेज’ पाराको छैन, बरु यसमा केही न केही गन्ध ‘एसी डीसी’ को छ । त्यस्तै त्यस्तै सुनिन्छ ।

यहाँनिर सम्झनु नै पर्छ, एक्सलले लामो समय त्यही ब्यान्डमा पनि बिताएका छन् र केही टुरमा पनि निस्किसकेका छन् । हल्ला त के पनि चलेको थियो भन्दा अब ‘एसी डीसी’ ब्यान्डको फ्रन्टम्यान नै एक्सल हुन् । ‘एसी डीसी’ ब्यान्ड भित्रै कलह रहेको स्थितिमा यो पनि हल्लामै सीमित रह्यो । अहिले एक्सलले रिलिज गरेको गीत हो, ‘रक द रक’ । उनले त्यही ‘चाइनिज डेमोक्रेसी’ पछि कुनै नयाँ गीतमा स्वर दिएको नै यो पहिलोपल्ट हो ।

पहिलोपल्ट यो गीत झट्ट सुन्नुपर्छ, ‘गन्स एन रोजेज’ को कुनै पनि छनक पाइन्न । यो गीतमा उनलाई स्लायस र क्याककेगनले साथ दिएका पनि छैनन् । सायद एक्सल बढी नै ‘एसी डीसी’ सँग अभ्यस्त भए कि ? खासमा एक्सल ‘लोन्ली टाइम्स’ एमिनेटेड सिरिजका खुबै प्रशंसक हुन् । यसकै एक भागका रूपमा यो गीत रिलिज भएको हो । यसमा एक्सल आपैंm एमिनेटेड रूपमा छन् । क्रिसमसको समयलाई ध्यानमा राखेर रिलिज गरिएको यस गीतमा एक्सललाई साथ दिइरहेका छन्, बग्स बनी र पोर्की पिग्सले ।

गीतमा पृथ्वीमा पुगिरहेको हानिलाई लिएर चिन्ता छ र आफ्नो संगीतको माध्यमबाट सबैलाई एकजुट गरेर विश्वलाई बचाउने सन्देश दिइएको छ । जे होस्, एक्सलका लागि यो पुनरागमन हो । ‘गन्स एन रोजेज’ ले आफ्नो भर्खरै सकिएको टुरका क्रममा प्रत्येक कन्सर्ट अगाडि त्यही ‘लोन्ली टाइम्स’ को थिम गीत बज्ने गरेको थियो । यसलाई मीठो संयोग नै मान्नुपर्छ । कतै यही निहुँमा ‘गन्स एन रोजेज’ ब्यान्ड एकजुट हुने त होइन ? कम्तीमा सकारात्मक होऔं ।
twitter : @himeshratna

प्रकाशित : पुस २७, २०७५ ११:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT