कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के पढ्दै छन् युवा ?

‘अरु काम नभएका बेला पुस्तक नै पढ्छु भन्ने धेरैले सोच्नै छोडिसके । त्यस्तो अतिरिक्त समयमा सामाजिक सञ्जालमा रमाउनेको कमी छैन ।’
विभु लुइटेल

काठमाडौँ — काठमाडौंका सौरभ पराजुलीलाई सानै छँदा बा–आमाले हातमा पुस्तक थमाइदिएका थिए । कृष्णप्रसाद पराजुलीका ‘रमाइला नानी’ बाट सुरु भएको उनको पठन यात्रामा उनले समयक्रममा कविताबाहेकका अन्य विधा रुचाउँदै गए । ‘अचेल खासै कविता पढ्दिनँ,’ उनले सुनाए ।

के पढ्दै छन् युवा ?

सोह्र–१७ को उमेरमा आख्यान भनेपछि उनी हुरुक्कै हुन्थे । हारुकी मुराकामीका कृति दोहोर्‍याई–तेहेर्‍याई पढ्ने गर्थे । तर, अहिले आख्यानले पनि उनलाई खासै तान्दैन । गैरआख्यानतर्फ उनको झुकाव बढेको छ । अचेल विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिजस्ता विषयमा लेखिएका पुस्तकमा उनको गहिरो रुचि रहेको छ । आत्मकथा तथा संस्मरण पनि उनका मन पर्ने विधामा पर्छन् ।


राजधानीकै प्रतीक्षा शर्माको भने भिन्न पठन अनुभव छ । सानैदेखि पुस्तक पढ्न खासै मन नलाग्ने उनले पढेको पहिलो साहित्यिक कृति नै सुबिन भट्टराईको ‘समर लभ’ हो । ‘साथीले पढ् भनेका भरमा पढें । निकै राम्रो लाग्यो,’ उनले अनुभव साटिन् । ‘समर लभ’ पछि सुविन भट्टराईका अन्य पुस्तक पनि सबै पढिन् उनले । त्यसपछि उनले पढेका अर्का लेखक हुन्, चेतन भगत ।


भारतीय लेखक चेतन भगतका कृतिमा निकै सरल भाषा प्रयोग गरेको पाइन्छ । त्यसैले पनि उनका कृतिहरू पढ्न सजिलो हुन्छ । ‘फाइभ पोइन्ट समवान’, ‘वान नाइट एट द कल सेन्टर’, ‘थ्री मिस्टेक्स अफ माई लाइफ’ जस्ता कृतिका लेखक चेतन भगतको विशेषता नै आफ्ना कृतिमा सबैले सजिलो गरी बुझ्ने भाषाको प्रयोग गर्नु हो । अहिले उनको नेपाली पठन भने ठप्प छ । ‘नेपालमा अरू पनि लेखक छन् भनेर नै थाहा थिएन,’ उनी आफ्नो साहित्य चेतनाबारे प्रकाश पार्छिन् ।


मण्डला बुक पोइन्ट कान्तिपथमा अनेकथरी पाठक दैनिक रूपमा आउँछन् । यसका बजार व्यवस्थापक सिद्धार्थ महर्जनका अनुसार कुनै समयमा धेरै युवाको रुचिमा चेतन भगत, सिड्नी सेल्डन, निकोलस स्पाक्र्सजस्ता लेखक पर्ने गर्थे । अहिले त्यो संख्यामा केही कमी आएको र उनका अधिकांश युवा ग्राहक ‘सेल्फ–हेल्प’ तर्फ केन्द्रीकृत भएको उनले बताए ।


पुस्तकप्रेमीहरूको फेसबुक समूह ‘बुकाहोलिक्स’ की संस्थापक सगुना शाहले पराजुलीजस्ता पाठक पनि देखेकी छन्, शर्माजस्ता पनि । आफ्नो रुचि जेमा छ, त्यही विधाका पुस्तक पढ्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् ।

बुकाहोलिक्समा साहित्यका गहन कृतिदेखि लिएर सामान्य पाठकले बुझ्नेसम्मका कृतिबारे छलफल गरिन्छ । ग्रुपमा कसैले आफूले पढेको वा पढ्न मन लागेको कृतिबारे पोस्ट गर्छन् र छलफल कमेन्टमा हुन्छ । हरेक महिनाको अन्तिम शनिबार कुनै एक कृतिमाथि यस समूहले प्रत्यक्ष भेटघाट गरी समीक्षा पनि गर्ने गरेको छ । धेरै युवा यसबाट आफू लाभान्वित भएको अनुभूति गर्छन् ।


पठन संस्कृतिलाई क्रान्तिका रूपमा विस्तार गर्ने जमर्को गरेकी शाहसँग कुन पुस्तक पढ्ने भन्ने सुझाव माग्न आउने पनि थुप्रै छन् । पछिल्लो समय उनले अत्यधिक सिफारिस गरेका अंग्रेजी पुस्तकमा मार्क म्यान्सनको ‘द सटल आर्ट अफ नट गिभिङ अ फक’, ग्यारी भेनरचकको ‘क्रस इट’ लगायत छन् । झुम्पा लाहिरी, अरुन्धती रोय, सुकेतु मेहता, रोहिन्टन मिस्ट्री, खुसवन्त सिंहजस्ता लेखकका पुस्तक पनि उनले सिफारिस गर्ने गरेकी छन् । ‘नेपाली पुस्तक पढ्न चाहनेलाई पनि उनीहरूका रुचिअनुसारका सुझाव दिने गरेकी छु,’ शाह बताउँछिन् । शिक्षण पेसामा आबद्ध उनी पठन संस्कृति विकास गर्दै लैजाने उद्देश्यले समय–समयमा आफ्ना विद्यार्थीलाई पुस्तक समीक्षा गरी कक्षामा सुनाउन पनि लगाउँछिन् ।


एकातिर बुकाहोलिक्स, र्‍यान्डम रिडर्स सोसाइटीजस्ता बुक क्लबमा युवाहरूको सक्रियता बढेसँगै पठन संस्कृति मौलाउँदै गएको अनुभूति गर्न सकिन्छ भने अर्कातिर अधिकांशमा सामाजिक चेतको कमी, इन्टरनेटको बढ्दो प्रयोगका कारण त्यस विचारमाथि पुन: प्रश्न पनि गर्न सकिन्छ । ‘अरू काम नभएका बेला पुस्तक नै पढ्छु भन्ने धेरैले सोच्नै छोडिसके,’ शाह गुनासो पोख्छिन्, ‘त्यस्तो अतिरिक्त समयमा सामाजिक सञ्जालमा रमाउनेको कमी छैन ।’ अहिलेको ‘गुगल पुस्ता’ ले पुस्तकलाई कम महत्त्व दिने गरेको उनले अनुभूति गरेकी छन् ।

twitter : @LuitelBibhu

प्रकाशित : पुस २७, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?