१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

केटीहरूको ब्वाई ब्यान्ड

केटाहरु जस्तो देखिन रुचाउँछौं । बेफिक्रिपन र गायन शैली मनपर्छ । केटीहरु पनि ब्वाई ब्यान्ड बन्न सक्छन् भन्ने देखाउनु हाम्रो एक मात्र लक्ष्य हो ।
सजना बराल

काठमाडौँ — महिलाहरुको सांगीतिक समूह ‘फ्यान्सी रेड’ को लोकप्रियता बढेसँगै सी–पप (चाइनिज पप) को पनि विश्वव्यापी चर्चा हुन थालेको छ । पाँच महिलाको यो ब्यान्ड अरुभन्दा अलग छ । लैंगिक विषयमा संकुचित मानिएको चिनियाँ समाजमा यो ब्यान्ड कतिञ्जेल टिक्ला भन्नेमा धेरैको चासो छ ।

केटीहरूको ब्वाई ब्यान्ड

चीनमा के–पपको अघोषित प्रतिबन्धपश्चात् स्थानीय प्रतिभालाई मलजल गर्न थालिएको छ । पुरुष र महिला सांगीतिक समूह प्रशस्त निर्माण भइरहेका छन् । तीमध्ये फरक ‘फ्यान्सी रेड’ अहिले विशेष चर्चित छ । यसमा पाँच युवती छन् जो पुरुष शैलीमा प्रस्तुत हुन्छन् । र, उनीहरू आफूलाई ‘ह्यान्डसम युथ’ भन्न रुचाउँछन् ।


यस समूहले संगीतमा लैंगिक भेदभावलाई तोड्न चाहेको आभाष हुन्छ । सुरुवाती दिनमा आफूलाई ‘अक्रस’ नाउँले चिनाउने उनीहरू अहिले फ्यान्सी रेडमा परिणत भएका हुन् । अक्रसमा ‘अ’ को अर्थ एडोनिस र ‘क्रस’ लाई आशक्तिका रूपमा अथ्र्याइएको छ । एडोनिस ग्रिक देवता हुन् जो सौन्दर्यका लागि चिनिन्छन् । अक्रस एडिनोसबाट किन प्रभावित छ भने ऊ पनि सौन्दर्यदेव झैं अन्तरलैंगिक चरित्र स्थापना गर्न खोज्दै छ ।


समूहका पाँच किशोरीले पुरुष शैली अपनाएका छन् । फ्यान्सी रेडलाई उनीहरू विशुद्ध गर्ल वा ब्वाई ब्यान्ड भन्दैनन् । उनीहरूका अनुसार यो एन्ड्रोजेनस अर्थात् महिला–पुरुष दुवैको चरित्र भएको समूह हो । तथापी आफूहरूलाई ‘केटीहरूको ब्वाइ ब्यान्ड’ का रूपमा चिनाउँछन् । विबो (ट्वीटरजस्तै) र इन्स्टाग्राममा यिनलाई पछ्याउनेको संख्या ठूलो छ । ‘हामीबारे मान्छेहरू निकै कौतुहल छन्,’ समूहकी पेङ जिचेनले भनेकी छन्, ‘एन्ड्रोजेनस स्टाइल मनपराउने केटीहरू धेरै भएकाले हाम्रो शैली समसामायिक छ ।’


फ्यान्सी रेडसँगै सी–पप (चाइनिज पप) को पनि चर्चा बढेको छ । यसअघि त्यहाँ द लिटल टाइगर्स, एफ फो, ट्वीन्स, सी, टीएफ ब्वाइज जस्ता समूह कहलिएका थिए ।


फ्यान्सी रेड यीभन्दा अलग निस्किएको छ । तसर्थ, देश/विदेशका सञ्चार माध्यमले समेत यसबारे खोजिनीति गर्दै आएका छन् । लैंगिक विषयमा संकुचित मानिने चिनियाँ समाजमा समूह कतिञ्जेल टिक्ला भन्नेमा धेरैको चासो छ ।

त्यहाँको सरकारी नेतृत्व पुरुषप्रधान रहेको र लैंगिक भेदभावयुक्त सोच विद्यमान रहेकाले फ्यान्सी रेड समूहलाई गाह्रो पर्ने ठानिएको छ । सन् २०१५ को अन्तर्राष्ट्रिय महिला दिवसमा यौन हिंसाविरुद्ध सचेतना फैलाउने कार्यक्रम आयोजना गर्न लागेको भन्दै स्थानीय प्रशासनले पाँच महिला अधिकारकर्मीलाई नियन्त्रणमा लिएको थियो । त्यही घटनाले पनि उक्त समाज कति खुम्चिएको छ भन्ने बुझ्न सकिन्छ ।


फ्यान्सी रेडलाई यी सब कुरासँग खास सरोकार भने छैन । आफूहरू इच्छाएको काम गर्न आएको समूहले बताउँदै आएको छ । ‘हामी कुनै राजनीतिक सन्देश दिन चाहँदैनौं,’ फ्यान्सी रेड भन्छ, ‘केटाहरू जस्तो देखिन रुचाउँछौं । उनीहरूको बेफिक्रिपन र गायन शैली हामीलाई मनपर्छ । केटीहरू पनि ब्वाई ब्यान्ड बन्न सक्छन् भन्ने देखाउनु हाम्रो एक मात्र लक्ष्य हो ।’


अक्रसलाई प्रेम पत्रको बाढी त आउने गरेको छ तर सबैले यिनको शैली रुचाएका छैनन् । कतिले यिनलाई समलिंगी ठान्छन् । उनीहरूले चाहिँ आफ्नो लैंगिकता खुलाएका छैनन् । ‘मान्छेले हाम्रो शैली बुझ्दैनन्,’ लु केरनले भनेकी छन्, ‘म बच्चैदेखि कपाल छोटो राख्थेँ । त्यो बेला फुच्चे केटो ठानेर मलाई केटीको ट्वाइलेटबाट धपाइन्थ्यो ।’


हङकङ बाप्टिस्ट विश्वविद्यालयका प्रोफेसर लुसेत्ता कमका अनुसार चीनमा अन्तर–लैंगिक प्रस्तुतिको इतिहास धेरै पुरानो हो । रंगमञ्चहरूमा पुरुषले महिला र महिलाले पुरुषको भूमिका निर्वाह गर्ने चलन धेरै अघि सुरु भएको उनले बताएका छन् । ‘महिलावादी मुद्दा अहिले राजनीतिक रूपमा संवेदनशील बनेका छन्,’ उनी भन्छन्, ‘लैंगिक विवाद सिर्जना नगरी, मनोरञ्जनमुखी रहेर यस्तो शैली अपनाउँदा केही फरक पर्दैन ।’


समूहमा लु केरन, आन जुन्सी, पेङ सिचेन, लिनफाङ र पेङ यियाङ आबद्ध छन् । उनीहरूले सन् २०१७ मा ‘एक्सन...’ र ‘आम सरी...’ बोलका गीत सार्वजनिक गरेका थिए । पहिलो पटक मिडियामा आउँदा उनीहरूलाई केटी भनेर कमैले पत्याए । भिडियोमा उनीहरूको दुरुस्त ब्वाई ब्यान्ड देखिन्छन् । लवाइ, शैली, स्वर, नृत्य सबै केटा टोलीजस्तो । यही अस्तित्व ब्यान्डले अद्यापि जोगाउँदै आएको छ ।

–एजेन्सीहरुको सहयोगमा

[email protected]

प्रकाशित : पुस २७, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?