२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मानिसका कथा

काठमाडौँ — उम्दा तस्बिर मात्र होइन, ती तस्बिरमा देखिएका व्यक्तिको जीवन भोगाइका कथा विभिन्न सामाजिक सञ्जालमा फिचर गरी अहिले धेरै फोटोग्राफर फोटोब्लगरका रुपमा स्थापित भइरहेका छन् ।

मानिसका कथा

एक त आफ्नो फोटोग्राफी परिस्कृत गर्दै लैजान सकिने, त्यसमाथि विभिन्न क्षेत्रका मान्छेसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउने अवसर । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले समेत यिनलाई आफ्ना फोटो परियोजनामा सामेल गराउँदै आएका छन् । तीमध्ये केही :




ह्युमन्स अफ न्युयोर्क

सन् २०१० नोभेम्बरमा अमेरिकी लेखक तथा फोटोग्राफर ब्रान्डन स्ट्यान्टनले सुरु गरेको ह्युमन्स अफ न्युयोर्कले आठ वर्ष लामो दूरी तय गर्दा फेसबुकमा मात्र एक करोड बढी फलोअर्स कमायो । सिकागोमा जागिर खोसिएपछि फोटोग्राफी नै गर्छु भनी न्युयोर्क पुगेका ब्रान्डनले त्यहाँ १० हजार बढीको फोटो खिचे, तिनका कथा सुने । तिनलाई संग्रह गर्न उनले बनाएको फेसबुक पेज सबैले रुचाउँदै गए ।


न्युयोर्कबाट सुरु भएको यो फोटोब्लग त्यही सहरमा मात्र सीमित रहेन । अमेरिकाका विभिन्न साना–ठूला सहरदेखि लिएर इरान, इराक, जोर्डन, इजरायल, कंगो, केन्या, युगान्डा, दक्षिण सुडान, युक्रेन, भारत, नेपाल, भियतनाम र मेक्सिकोका कथासम्म ब्रान्डनले यसमार्फत सुनाए । ती सबैलाई संग्रह गरी ब्रान्डनले निकालेको पुस्तक लामो समयसम्म बेस्ट सेलरको सूचीमा अग्रपंक्तिमा रह्यो । उनकै पदचाप पछ्याउँदै धेरै यस्ता फोटोब्लग सुरु भए ।



ह्युमन्स अफ पाकिस्तान

ह्युमन्स अफ न्युयोर्कबाट प्रेरित अर्को फोटोब्लग हो– ह्युमन्स अफ पाकिस्तान । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा दिनहँ‘ु पाकिस्तानबारे आउने हजारौं नकारात्मक, भ्रामक समाचार तथा प्रतिक्रियाको जवाफस्वरूप इस्लामावादका अलि हैदरले यो फोटोब्लग सुरु गरेका हुन् । फेसबुकमा हालसम्म यसका पाँच लाख बढी फलोअर्स छन् । ‘पाकिस्तानी पनि मानिस हुन्’ भन्ने सन्देश प्रवाह गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको हैदरले भनेका छन् । भारतबाट पाकिस्तान छुट्टिएपछि न यता न उताका भएका व्यक्ति, युद्धमा ज्यान गुमाएका सैनिकका परिवारका कथालाई यसमा अधिकांशले रुचाउने गरेका छन् ।



स्टोरिज अफ नेपाल

काठमाडौं मात्र होइन, नेपालका कुनाकाप्चा पुगी धेरै थरी व्यक्तिको कथा सुनेका जय पौड्यालको स्टोरिज अफ नेपाल पनि ह्युमन्स अफ न्युयोर्कबाटै प्रेरित भएको हो । नेपालका मात्र होइन, विश्वभरका विभिन्न सञ्चारमाध्यमले उनको यस फोटोब्लगका तारिफमा केही सुन्दर शब्द दिएका छन् । दु:खैदु:खका बीच पिल्सिएर पनि मुहारमा सधैं मुस्कान सुसज्जित हुने आमनेपालीका कथा सुनाउँदै आएका उनको यस पेजमा चार लाख बढी लाइक्स छन् । पछिल्लो समयमा उनैलाई पछ्याउँदै नेपाल ट्राभल टेल्सजस्ता फोटोब्लग पनि सुरु भएको छ । उनले खिचेका केही दु:ख पाएका पात्रले आर्थिक सहयोगसमेत प्राप्त गरेका छन् ।



जीएमबी आकाश

नेसनल जियोग्राफिक, गार्डियन, भोग, टाइम, द इकोनोमिस्ट, न्युजविकजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फिचर गरिसकेको फोटोब्लग हो जीएमबी आकाश । आफ्नै नामबाट फोटोब्लग सुरु गरेका यी बंगलादेशी फोटोग्राफरका पेजमा सुखद पोस्ट कमै पाइन्छन्, दु:खद र हृदयविदारक धेरै । बंगलादेशका गल्ली–गल्लीका कथा सुनाएका आकाशका माध्यमबाट विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले त्यहाँका व्यक्तिलाई सहयोग पनि गरेका छन् । एक फोटोग्राफर मात्र होइनन्, बंगलादेशीहरूका जीवनका ‘मसिहा’ का रूपमा चर्चित् छन् उनी । आफूले खिचेका तस्बिर संगृहीत गरी उनले दुई पुस्तक पनि ल्याइसकेका छन् ।



ह्युमन्स अफ बम्बै

भारतको मुम्बईबाट सन् २०१४ देखि फेसबुकमा सुरु भएको यो फोटोब्लगमा करिब नौ लाख फलोअर्स छन् । यसकी सञ्चालक करिश्मा मेहताले घरेलु हिंसा, लागूऔषध, सामाजिक बहिष्कारलगायतमा परेका हजारौंलाई फिचर गरिसकेकी छन् ।


ब्रान्डनको ह्युमन्स अफ न्युयोर्कबाट प्रेरित भई मेहताले यो फोटोब्लग सुरु गरेकी हुन् । सुरुमा बाटोमा गई अपरिचित व्यक्तिसँग कुराकानी गर्न खोज्थिन् । तर, कोही आफ्ना कथा सुनाउन चाहँदैनथे । अहिले भने अनिल कपुर, श्रद्धा कपुर, बिबिकी भाइन्सका भुवन बाम, तापसी पन्नु, सपना भवानीजस्ता सेलिब्रिटीले समेत यस फोटोब्लगमार्फत आफ्ना जीवनका महत्त्वपूर्ण अनुभव बाँडिसकेका छन् । ब्रान्डनजस्तै मेहताले पनि आफूले खिचेका फोटो संग्रह गरी पुस्तक ल्याइसकेकी छन् ।

प्रकाशित : माघ ४, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?