२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छिरिङको छलाङ

‘शिक्षित व्यक्ति अगाडि आए केही होला भन्ने अपेक्षा गाउँवासीको छ । पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्छ ।’
विमल खतिवडा

काठमाडौँ — सँगै पढेका साथी अहिले जापान र अमेरिका छन् । कोही अध्ययन त कोही रोजगारीको सिलसिलामा विदेश उडे । तर माथिल्लो मुस्ताङको लोगेकर दामोदरकुण्ड गाउँपालिका १ की छिरिङ ल्हामो गुरुङ भने गाउँघरमै रमाइरहेकी छन् ।

छिरिङको छलाङ

उनलाई विदेश मोहले छोएन । ०७४ असोजमा जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख पनि भएकी छन्, त्यसयता २५ वर्षीया उनको व्यस्तता बढेको छ ।


७७ जिल्लामध्ये २ जिल्लामा मात्र समन्वय समिति प्रमुखमा महिला छन् । छिरिङ एक हुन् भने अर्की स्याङ्जाको प्रमुख सीता सुन्दास । देशभरका प्रमुखमा सबैभन्दा कान्छी छिरिङ हुन् । ‘युवा अवस्थामै ठूलो जिम्मेवारी पाएकी छु,’ राष्ट्रिय जलवायु सम्मेलनका क्रममा सिन्धुपाल्चोकको गुफाडाँडामा भेटिएकी उनले भनिन्, ‘त्यसैले पाएको जिम्मेवारी पूरा गर्न कत्ति पनि पछि हट्ने छैन ।’

उनलाई घरबाट कार्यालय पुग्न एक दिन नै लाग्छ । त्यसैले जोमसोमस्थित कार्यालयकै क्वार्टरमा बस्छिन् । राजनीतिमा लागेको धेरै भएको छैन । जब जनहित माध्यमिक विद्यालयबाट कक्षा १२ सकिन् तब उनलाई पार्टीबाट अवसरहरू आउन थाले । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई जिल्ला समन्वय समितिको प्रमुखका लागि अघि सारेको थियो । उनी भन्छिन्, ‘यो मेरा लागि ठूलो अवसर हो, नेतृत्व तहमा अब पनि हामी युवा नआए कहिले आउने ?’

उनी परिवारमा एक्ली सन्तान हुन् । बुबाआमा गाउँमै बस्छन् । परिवारबाट राम्रो साथ रहेको उनले सुनाइन् । ‘घरको छोरा, छोरी, जे भने पनि म एक्लो सन्तान हो,’ उनी भन्छिन्, ‘मेरो हिँडिरहने काम पर्छ, बुबाआमाले पनि उमेर भएका तिमीहरूले नै गाउँठाउँको विकास गर्नुपर्छ भन्नुहुन्छ ।’ उनी शनिबार प्राय: घर पुग्छिन् ।


अहिले उनी शिक्षा संकायतर्फ स्नातक तह अध्ययनका लागि पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भएकी छन् । क्याम्पस भर्ना भए पनि व्यस्तताले नियमित कक्षा लिन सक्ने अवस्था छैन । स्वाध्ययन गरेर परीक्षा दिने तयारीमा छिन् उनी । ‘बाहिर भनिएजस्तो राजनीति फोहोरी खेल होइन, हामी युवा पुस्ता सक्रिय भएर लागे यसलाई सफा बनाउन सकिन्छ,’ उनले भनिन्, ‘राजनीतिमा पनि नराम्रो बाटो समाते मात्र खराब हुने हो । त्यसैले यो जनताको सेवा गर्ने ठाउँ हो । हामी जनताको सुखदु:खमा साथ दिने सेवक हौं ।’


समन्वय समितिमा गाउँलेबाटै नेतृत्व दिनुपर्ने माग थियो । ‘शिक्षित व्यक्ति अगाडि आए केही होला भन्ने अपेक्षा गाउँवासीको छ,’ उनी भन्छिन्, ‘पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्छ ।’ राजनीतिलाई डामाडोल पार्ने हो भने मात्र नपढ्दा पनि हुने उनको बुझाइ छ । जिल्लाको जनसंख्या १४,९८१ रहेको छ, तर उनको गाउँमा ५ सय बस्छन् । बुबाआमा राजनीतिमा छैनन् । ‘मलाई पार्टीको सिद्धान्त मन परेर लागेको हो,’ उनी भन्छिन्, ‘यसमा कसैको कुनै करकाप छैन ।’


उनको काम संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने हो । समन्वय समिति भनेको स्थानीय तहका जनप्रतिनिधिहरूबाट निर्वाचित अंग हो । यसले समन्वय र अनुगमनको काम गर्ने संविधानमा उल्लेख छ । यसले गाउँपालिका, नगरपालिकाबीचमा विकासका कामदेखि लिएर सबै काम गर्नका लागि जिल्लास्थित सरकारी, संघ–संस्था, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गर्नुपर्छ । उनी यसैमा मात्र सीमित छैनन् । जिल्लामा आयोजना हुने कार्यक्रममा कतै प्रमुख अतिथि त कतै विशिष्ट अतिथिका रूपमा उनको उपस्थिति नियमित हुन्छ ।


‘म मैत्री छु, सबैसँग बोल्छु,’ उनी भन्छिन्, ‘आफूले नजानेका कुरा जान्नेसँग सोधेर, बुझेर मात्र काम गर्छु ।’ जिल्लाको जनसंख्या थोरै छ, जहाँ पाँच गाउँपालिकामात्र छन् । ‘हाम्रोतिर पुरुषप्रधान समुदाय एकदमै न्यून छ । अहिले म प्रमुख हुँदा बढी खुसी पुरुष नै छन्,’ उनले भनिन् ।


युवा पुस्ता बर्सेनि विदेश पलायन हुनुको मुख्य कारण बेरोजगारी रहेको उनको बुझाइ छ ।


‘युवालाई प्रोत्साहन हुने गरी काम गर्ने छु,’ उनले आफ्नो कार्ययोजना बताइन्, ‘यसबाट मेरो पुस्ताले केही सिक्न सकुन् । केही जानुन् भन्ने नै हो ।’ जिल्ला समन्वय समिति महासंघकी केन्द्रीय अध्यक्ष सीता सुन्दासका अनुसार ७७ जिल्लाकै समन्वय समिति प्रमुखहरूमध्ये छिरिङ सबभन्दा कम उमेरकी हुन् । ७७ जिल्लामध्ये ७५ समन्वय समितिमा प्रमुख पुरुष रहे पनि उपप्रमुखमा भने ४८ जना महिला छन् ।


[email protected]

प्रकाशित : माघ ४, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?