१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्वर्गमा आँसु

मैले जतिलाई प्रेम गरें, लगभग सबैले मलाई छाडे । त्यसैले कहिलेकाहीँ लाग्छ, मलाई आफ्नै आमाले छाडेर पनि ठीक गरिन् ।

काठमाडौँ — एल्बम बिक्रीमा एरिक क्लाप्टनको कीर्तिमान भनिरहनु पर्दैन । ग्रायमी अवार्ड १८ पल्ट जितेका उनी तीनपल्ट ‘रक एन्ड रोल हल अफ फेम’ मा समावेश पनि भइसकेका छन् ।

स्वर्गमा आँसु

हालै उनको बायोग्राफी बजारमा आएको छ, ‘स्लोह्यान्ड : द लाइफ एन्ड म्युजिक अफ एरिक क्लाप्टन’ । यसले फेरि उनका दु:खका दिनहरुलाई चर्चामा ल्याइदिएको छ । यसबारे हिमेश बज्राचार्य लेख्छन् :


के तिमीलाई मेरो नाम थाहा हुनेछ

यदि मैले तिमीलाई स्वर्गमा भेट्छु भने ?

के स्थिति उस्तै हुनेछ

यदि मैले तिमीलाई स्वर्गमा भेट्छु भने ?

म त्यति बेला बलियो हुनुपर्नेछ

र आफूलाई सम्हाल्नुपर्नेछ

किनभने म स्वर्गका लागि ठीक छैन


‘टिएर्स इन हेभन’ गीतको सुरुआती अंशको आशय यस्तै–यस्तै छ । कसलाई मात्र थाहा छैन र यो एरिक क्लाप्टनको गीत हो भनेर । यदि कोही कसैले उनको गितारबाट निस्केको धुन सुनेको छैन भने के पश्चिमी संगीत सुनेको छ भन्ने र ? गज्जबका गितारिस्ट हुन्, उनी । उनी गितारमै मात्र सीमित छैनन्, रक र ब्लुजका अब्बल दर्जाका गायक पनि हुन् अनि उत्तिकै उम्दा गीतकार पनि । सन् सत्तरीतिरको पश्चिमेली संगीतको चर्चा गर्दा उनी कहिले पनि छुट्ने नाम होइनन् ।

त्यसैले त अमेरिकामा मात्र उनका एल्बम कीर्तिमान १३ करोड प्रति बिकेका छन् । उनले जितेका ग्रायमी अवार्डको संख्याले १८ छोइसकेको छ । अनि उनलाई तीनपल्ट ‘रक एन्ड रोल हल अफ फेम’ मा समावेश गरिएको छ । यस्तो उपलब्धि अरू कसैको नाममा छैन । उनले यो अहोभाग्य एकपल्ट यार्डबर्डका लागि पाए, दोस्रोपल्ट क्रिमका लागि । अनि तेस्रोपल्ट सोलो आर्टिस्टका रूपमा । यति भनेपछि उनको थप अरू परिचय चाहिन्छ र भने !


यति हुँदा–हुँदा पनि एउटा प्रश्न क्लाप्टनलाई लिएर कहिले पनि छुट्दैन । यदि उनको जीवन अरूको जत्तिको सामान्य भएको भए उनी अझ कति राम्रा गायक, गीतकार र गितारिस्ट हुने थिए ? अथवा उनको जीवनमा दु:ख नै दु:ख नहुँदो हो त उनले अहिले जत्तिको संगीत पनि दिन सक्ने थिएनन् कि १ यसको उत्तर कोहीसँग पनि हुने छैन । आफ्नो जीवनमा उनी वास्तवमै कति धेरै दु:खी छन् भनेर हामी केही महसुससम्म भने गर्न सक्छौं, यदि उनको भर्खर निस्केको बायोग्राफी पढ्ने हो भने ।


फिलिप नोरमनले उनको आत्मकथा लेखेका हुन् । उनले यसअघि जोन लेनन र पउल म्याकार्टनीको पनि यस्तै आत्मकथा लेखिसकेका छन् । भर्खर डिसेम्बरमा मात्र निस्केको उनको अहिलेको पुस्तकको नाम रहेको छ,

‘स्लोह्यान्ड : द लाइफ एन्ड म्युजिक अफ एरिक क्लाप्टन’ । साँच्चै उनको जीवनमा धेरै दु:ख र पीडा थियो । कुनै समय उनी ‘ड्रग्स, अल्कोहल एन्ड सेक्स’ को लतमा नराम्रोसँग फसे । सन् सत्तरीतिरको समय पनि यस्तै थियो, पश्चिमतिर ।


त्यसबाट उनी के उम्केका मात्र थिए, उनका चार वर्षीय छोरा कर्नरको दु:खद मृत्यु भयो, उनले यो पीडालाई सहनै सकेनन् । त्यही पीडाको आवाज हो, ‘टिएर्स इन हेभन’ । इंग्ल्यान्डको सरेमा जन्मेका क्लाप्टन सन् १९९० तिर न्युयोर्कमा बस्थे । उनका छोरा कर्नरले भर्खर–भर्खर केही अक्षर लेख्न जानेका रहेछन् । त्यसैले उनले आफ्नी आमा लोरी डेल सान्टोलाई सोधेछन्, ‘ड्याडीलाई म चिठी लेख्न चाहन्छु, के लेखौं त ?’ त्यति बेला सान्टो क्लाप्टनकी गर्लफ्रेन्ड थिइन् ।


उनले भनिछन्, ‘आई लभ यु ड्याडी’ लेख्नु । उनले त्यस्तै लेखे र त्यसलाई चिठीको रूप दिएर बुबालाई पठाएछन्, हुलाकबाट । त्यसको केही समयमै कर्नर ५३ तल्लाको फ्ल्याटबाट तल खसे र उनको तत्काल मृत्यु भयो । क्लाप्टन

आफ्ना छोराको अन्त्येष्टि सकेर के घर मात्र फर्केका थिए, उनले पाए, त्यही चिठी । भर्खर मृत्यु भएको छोराले लेखेको ‘आई लभ यु ड्याडी’ पढेपछि उनले आफूलाई रोक्नै सकेनन् । त्यसकै भाव हो, ‘टिएर्स इन हेभन’ ।


त्यसैले पनि क्लाप्टन यो गीत धेरै गाउन चाहँदैनन् । धेरैले उनलाई फर्माइस गर्ने गीत यही हो, तर उनलाई यो गीत सुनाउनुमा मज्जा भने लाग्दैन । गितार बजाएरै चर्चित हुने उनी पहिलो स्टार थिए । उनले धेरै पटक भनेका छन्, ‘मेरो इच्छा धेरैपल्ट मृत्यु हुने गर्छ । मैले जुन जीवन पाएँ, त्यो मलाई मन पर्दैन ।’ नोरमनले लेखेअनुसार जति बेला क्लाप्टन नौ वर्षका भए, उनले आफ्नो जीवनबारे निकै तीतो सत्य थाहा पाए । त्यसैले उनी आपैंmले आपैंmलाई ‘घाइते बच्चा’ भन्ने गर्छन् ।


आत्मकथा पढ्दै जाँदा थाहा हुन्छ, जसलाई क्लाप्टनले आफ्ना आमाबुबा सम्झेका थिए, ती त उनका बाजेबज्यै मात्र रहेछन् । अनि उनले जसलाई आफ्नी दिदी सम्झेका रहेछन्, ती त खासमा उनकी आमा रहिछन्, जन्मदिने । आमा प्याट कम उमेरमै एक क्यानाडेली सैनिकको मायामा फसेकी रहिछन् । त्यसकै कारण क्लाप्टन जन्मे, तर उनलाई आफ्नो सन्तानका रूपमा हुर्काउन चाहिनन् । त्यो पीडाले उनलाई कहिले पनि छाडेन, त्यही त्यस्तै–त्यस्तै पीडा उनले पछि संगीतबाट पोखे ।


क्लाप्टनले आफ्ना बुबालाई कहिले पनि भेट्न पाएनन् । त्यसैले उनले यही भावना पोखे, ‘माई फादर्स आइज’ गीतमा । उनका चर्चित अरू दुई गीत हुन्, ‘लय्ला’ र ‘वन्डरफुल टु–नाइट’ । दुवै गीत उनले असाध्यै माया गर्ने प्याटी बोयडका लागि हो । कुनै समय यी बोयड बिटल्सका गितारिस्ट जर्ज ह्यारिसनकी पत्नी थिइन् । जुन बेला बिटल्स आफ्नो लोकप्रियताको चरम सीमामा थियो, त्यही बेला उनी यो ब्यान्डको भित्री घेरामा पर्नेमध्ये एक थिइन् ।


त्यति बेला ह्यारिसनले उनकै लागि भनेर चर्चित ‘समथिङ’ र केही अरू गीत लेखे । ह्यारिसनलाई छाडेपछि बोयडले क्लाप्टनसँग विवाह गरिन् । फेरि यहाँनिर सम्झनालायक के पनि छ भने ह्यारिसन र क्लाप्टन निकै मिल्ने साथी पनि हुन् । बोइड आफैं पनि सन् सत्तरीका चर्चित मोडल हुन् । बोइडले पछि क्लाप्टनलाई पनि छाडिन् । उनमा अझ दु:ख थपियो ।


एकपल्ट क्लाप्टनलाई झन्डै बिटल्समा समावेश गर्न लागिएको थियो । भएको के थियो भन्दा ह्यारिसनको सम्बन्ध ब्यान्डका बाँकी सदस्यसँग नराम्रोसँग बिग्रिएको थियो । त्यसैले उनी अभ्यास र रेकर्डिङमै पनि अनुपस्थित हुन थालेका थिए । त्यसैले जोन लेननले ह्यारिसनलाई ब्यान्डबाट निकालेर उनको स्थानमा क्लाप्टनलाई ल्याउन खोजेका थिए । बिटल्सका केही गीतमा क्लाप्टनको गितार पनि सुन्न पाइन्छ । तर निर्णायक मोडमा ह्यारिसन ब्यान्डमा फर्के र क्लाप्टन बिटल्समा अटाउन सकेनन् ।


जुन बेला क्लाप्टन संगीतको दृश्यमा थिएनन्, त्यति बेला संगीत भनेपछि गायक मात्र बुझिन्थ्यो । गीतमा पूर्णत: गायक नै हाबी हुने गथ्र्यो । उनले त्यही प्रवृत्तिलाई परिवर्तन गरे । उनले आफूलाई के गितारिस्टका रूपमा स्थापित गरे, त्यसले पछि ट्ेरन्डको रूप नै लियो । यो त सबै पुराना कुरा भए । अहिले उनी ७३ वर्षका भए । लन्डनमा शान्त जीवन बिताइरहेका छन् । धेरै यताउता कुरा गर्न चाहँदैनन् । अहिले उनको यी सबै चर्चा आत्मकथाकै कारण हो ।

उनले एकपल्ट भनेका थिए, ‘केही खराब हुन्छ भने त्यो नै मेरो विशेषता हुने गथ्र्यो । मेरो विचारमा म केहीका लागि पनि उपयुक्त छैन, न त केहीका लागि ठीक छु । मैले जतिलाई प्रेम गरें, लगभग सबैले मलाई छाडे । त्यसैले कहिलेकाहीँ लाग्छ, मलाई आफ्नै आमाले छाडेर पनि ठीक गरिन् ।’ उफ, कति धेरै पीडा हो यो । उनको आत्मकथा पढेपछि थाहा हुन्छ, उनी साँच्चै किन यति धेरै दु:खी छन् भनेर । यस्तै पीडाले नै उनका संीतलाई अझ मिठासपूर्ण बनाएको हो कि !

प्रकाशित : माघ ४, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?