२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘द हु’ को अन्तिम प्रयास

हिमेश

काठमाडौँ — द हु’ ब्यान्डका प्रशंसक अझै धेरै छन् । सन् साठी र सत्तरीतिर धेरै नै ब्यान्ड अस्तित्वमा आए ।

‘द हु’ को अन्तिम प्रयास

त्यसमध्ये केही निकै सफल रहे । त्यसमध्ये पनि केही अझै सक्रिय छन् । यसमै पर्छ, इंग्लिस रक ब्यान्ड ‘द हु’ । सफल पनि । सक्रिय पनि । उनीहरूको दस करोड प्रतिभन्दा बढी एल्बम बिक्री भएको तथ्यले नै देखाउँछ, यो साँच्चै कति सफल ब्यान्ड हो भनेर । यो ब्यान्डको प्रशंसक हो भने उनीहरूका लागि सन् २०१९ ले खुसीको समाचार ल्याएको छ ।


र, यो समाचार हो, ‘द हु’ नयाँ एल्बमको तयारीमा छ । ब्यान्डका दुई प्रमुख अनुहार हुन्, पेट टाउन्सहेन्ड र रोजर डलट्ेर । टाउन्सहेन्ड भए, ७३ वर्षका । डलट्ेर त अझ एक वर्ष जेठा छन् । तर उनीहरूको जोस हेरिनसक्नु छ । उनीहरू एल्बम निकाल्ने सुरमा मात्र छैनन्, त्यससँग वल्र्ड टुर गर्ने योजनामा पनि छन् । खासमा ‘द हु’ ले वल्र्ड टुरका लागि निकै आकर्षक प्रस्ताव पाएको छ । अब यस्तो टुरमा निस्केपछि केही नयाँ गीत पनि त चाहियो नै ।


त्यसैले एल्बमको पनि सोच तयार भएको हो । ‘द हु’ ले अन्तिकपटक सन् २००६ मा आफ्नो एल्बम निकालेको थियो, ‘एन्डलेस वायर’ को नाममा । त्यो पनि अब १३ वर्ष भइसकेको छ । बास गितारिस्ट जोन एन्टविस्टलको निधनपछि लामो ब्यान्ड निष्क्रिय रहेको थियो । पछि उनीहरूले ‘होइन, यस्तो भएन’ भनेर एल्बम निकालेका थिए । अब अहिलेको दिन छ, उनीहरू एकैपल्ट नयाँ एल्बम र वल्र्ड टुरको सुरमा छन् । गज्जब हो नि, यो ।


नयाँ एल्बमको नाम पनि जुरेको छैन । तर त्यसमा समावेश हुने गीत भने टाउन्सहेन्ड र डलट्ेरको मनमा बसिसकेको छ । टाउन्सहेन्डले भनेका छन्, ‘धेरै नयाँ परीक्षण गर्ने प्रयास गर्न लागेका छौं । यो हेभ्भी रक त हुने नै छ ।’ सारमा भन्दा ‘द हु’ ले यति लामो समय जस्तो छवि बनाएको छ, गीत पनि उस्तै उस्तै हुनेछन्, धेरै फरक होइन । आखिरमा ब्यान्ड जे जतिका लागि लोकप्रिय रह्यो, त्यसको घेराबाट उनीहरू बाहिर जान चाहँदैन पनि ।


नयाँ एल्बमको भोक पछाडि टाउन्सहेन्डको गज्जब तर्क पनि छ । ब्यान्डका अधिकांश गीतका लेखेक यी गितारिस्ट भन्छन्, ‘हामीले के–के न ठूलो गर्दैछौं भनेर दाबी गर्दैनौं । यो आफूले आफ्नै खुसी र गर्वका लागि निकालिएको एल्बम हुनेछ । लेखक भएपछि केही लेख्दैछु भन्ने आत्मसम्मान पनि चाहिन्छ ।’ सायद ब्यान्डका सबै सदस्यले एउटा तथ्य के पनि अनुभव गरेका छन् भने अब उनीहरू पहिलेको जस्ता रहेनन्, साँच्चै बूढा नै भए ।


त्यसैले त डलट्ेरले भनेका छन्, ‘हामी अब बूढा भयौं । हाम्रो अनुहार पनि अब पहिलेजस्तो रहेन, चमक हरायो । त्यसैले हामी ग्ल्यामरस पनि रहेनौं । तर हामीसँग संगीत भने अझै बाँकी छ । त्यो नै हामी फेरि एकपल्ट प्रस्तुत गर्न चाहन्छौं ।’ यिनै गायकलाई मान्ने हो भने सायद यो एल्बम र वल्र्ड टुर दुवै ब्यान्डको अन्तिम हुनेछ । त्यसैले उनले यो पनि भनेका छन्, ‘सायद हामी अन्तिमपटक देखिने छौं ।’ हुन सक्छ, यो ‘द हु’ को अन्तिम प्रयास हुनेछ ।

twitter : @himeshratna

प्रकाशित : माघ ११, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?