३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोलोन, ह्यान्डबल र जर्मन टिम

विश्व ह्यान्डबल च्याम्पियनसिपको २६ औं संस्करण जर्मनी र डेनमार्कमा भइरहेको छ । कोलोनमा भइरहेको मुख्य चरणका खेल, यसमा दर्शकको उपस्थिति र व्यवहारसँगै लाङ्सेस एरिनाभित्रको माहोल वास्तवमै लोभलाग्दो देखियो ।
राजु घिसिङ

काठमाडौँ — साँझ झमक्कै भइसकेको अवस्था । माइनस चार डिग्री सेल्सियस ।

कोलोन, ह्यान्डबल र जर्मन टिम

उत्तर–पश्चिमी जर्मन सहर कोलोनको उस्तै चिसो सिरेटो झेल्दै लाङ्सेस एरिना प्रवेश गरियो । इन्डोर रंगशालाको माहोलको पारो भने निकै चढेको थियो । बाहिर चिसो छल्नलाई गाह्रो भएको ज्याकेट एरिनाभित्र पुगेपछि खोल्नै पर्‍यो ।


माहोल थियो, ह्यान्डबल विश्व च्याम्पियनसिपको । यसको २६ औं संस्करणको खेल थियो, डिफेन्ङि च्याम्पियन फ्रान्स र स्पेनको । दुई हाफमा भएको ६० मिनेटको खेल रोमाञ्चक रह्यो । फ्रान्स विश्व ह्यान्डबलमा सर्वाधिक ६ पल्टको च्याम्पियन हो र उसले पछिल्ला दुवै संस्करणको ट्रफी कब्जा गरेको थियो । यसपल्ट पनि उपाधिको प्रबल दाबेदार हो । सन्, २००५ र २०१३ को च्याम्पियन स्पेनले फ्रान्सलाई गतिलै चुनौती दिने अपेक्षा गरिएको थियो । तर, प्रतिस्पर्धामा त्यस्तो उच्चतम आकर्षक भने भएन ।


सुरुबाटै आत्मविश्वासी देखिएको फ्रान्सले स्पेनलाई ३३–३० ले पराजित गर्‍यो । यससँगै स्पेनको यो विश्व च्याम्पियनसिपमा शतप्रतिशत जितको यात्रामा पनि पूर्णविराम लाग्यो । रुसमा ६ महिनाअघि सम्पन्न विश्वकप फुटबलमा फ्रान्स सुरुबाटै जस्तो गरी ढुक्कसँग खेलेको थियो, उसको ह्यान्डबल टिम पनि कोलोनमा उस्तै विश्वस्त देखियो । खेलाडी पनि कोही पल पोग्बा त कोही ह्युगो लोरिसजस्तै लाग्ने ।



उपाधि होडका दुई टिमको प्रतिस्पर्धापछि लाङ्सेस एरिनाको माहोल शनिबार झनै तातियो । कोर्टमा उत्रिएका थिए, सहआयोजक जर्मनी र आइसल्यान्ड । सन् १९७८ र २००७ को च्याम्पियन जर्मनी यसपल्ट उपाधि होडमा निकै बलियो मानिएको टिम हो । समूह चरणमा फ्रान्सविरुद्ध बराबरी गरेको जर्मन टिम यो विश्वकपमा अपराजित रहेको छ । उसले आइसल्यान्डविरुद्ध भने त्यस्तो गतिलो खेल देखाउन सकेन । आइसल्यान्डले बेलाबेला जर्मन डिफेन्सलाई ध्वस्त बनाएको थियो । तैपनि खेल जर्मनीले २४–१९ ले जित्दै सेमिफाइनल पुग्ने सम्भावनालाई थप बलियो बनायो ।


खेल प्रतिस्पर्धात्मक वा रोमाञ्चक थियो, त्योभन्दा लोभलाग्दो देखियो– एरिनाभित्रको वातावरण । वास्तवमा ४१ वर्षअघिको विश्व विजेता जर्मन खेलाडी जोचिम डेकार्मको ६५ औं जन्म दिन खुबै लोभलाग्दो गरी मनाइएको थियो । उनलाई ह्विलचियरमा कोर्टको बीचमा लगेर सबैले तालीसाथ ह्याप्पी बर्थडे गीत गाउँदै केक काट्न लगाइएको थियो । वास्तवमा त्यो महान् खेलाडीप्रतिको विशेष सम्मानको नमुना हो ।


पहेंलो, कालो र रातो जर्मन झन्डामा अंकित रङ हुन् । र, यी तीन जर्मन रङले लाङ्सेस एरिनालाई रंगीन बनाइएको थियो । खेलाडीको सम्मान, आफ्नो टिमको समर्थनमा लगाइने नारा र विपक्षी टिमको राम्रो कुरामा गुन्जिने तालीको गडगडाहट वास्तवमै लोभलाग्दो थियो । यस्तै दृश्य नेपालको खेल मैदानमा देख्न पाइएको छैन । यसलाई जर्मनको खेल संस्कृति भएको जुन्के मिर्कोले बताए ।


‘आफ्नो टिमलाई आदरपूर्वक सम्मान गर्ने, हौसला बढाउन नारा लगाउने र विपक्षी खेलाडी, टिम र समर्थकलाई सम्मान गर्ने जर्मनीको परम्परागत संस्कृति नै हो,’ म्युनिखबाट पाँच घण्टा बढी कार हाँक्दै कोलोनमा जर्मनीको खेल हेरेका मिर्कोले भने, ‘जर्मनीमा ह्यान्डबल निकै लोकप्रिय छ । त्यसैले ह्यान्डबलका नाम चलेका खेलाडीले फुटबल स्टारले जस्तै सम्मान पाउने गर्छन् ।’ जर्मनीविरुद्ध आइसल्यान्डको खेलमा लाङ्सेस एरिनाको पूर्ण क्षमताअनुसार १९,२५० दर्शकले खेल प्रत्यक्ष हेरेका थिए ।


‘ह्यान्डबल मेरो मनपर्ने खेल हो र यसमा आफ्नो टिमलाई समर्थन गर्न पाउँदा निकै खुसी लाग्छ । त्यसैले यहाँ आइपुगेकी छु,’ कोलोनको छिमेकी सहर एसेनबाट आएकी मारेन सिमोनले बताइन् । उनी पूर्णत: जर्मन रङमा थिइन् र पूरा एक घण्टा नै टिमको उत्साहित पार्न सक्रिय थिइन् । व्यवस्थापन प्रविधिको उपयोगमात्र होइन, ‘टाइम ब्रेक’ मा दर्शकलाई आकर्षित गर्ने तरिका पनि निकै रमाइलो देखियो ।


नेपाली झन्डा

लाङ्सेस एरिनाभित्र शनिबार चन्द्र–सूर्य अंकित नेपाली राष्ट्रिय झन्डा पनि देखियो । सँगै हातमा जर्मन झन्डा हल्लाउँदै जर्मन टिमलाई समर्थन गरिरहेका थिए, कपनका बद्री (दामोदर) भट्टराई) । नेपाल ह्यान्डबल संघको पछिल्लो चुनावमा केन्द्रीय सचिवमा एक मतले हारेका उनी हाल संघका युवा तथा विद्यालय कार्यक्रम निर्देशक हुन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षसमेत रहेका उनीसहित ललितपुर जिल्ला ह्यान्डबल संघका सचिव राजु विक्रम थापा, टोखा भगवती क्लबका पूर्वअध्यक्ष मनीष जोशी र चुच्चेपाटी फुटबल क्लबका अध्यक्ष विनोद पुडासैनी विश्व ह्यान्डबल च्याम्पियनसिपको खेल हेर्न कोलोन आइपुगेका रहेछन् ।


‘निकै रमाइलो । यस्तो माहोल हामीले कहिल्यै देखेका थिएनौं,’ भट्टराईले भने, ‘विश्वस्तरीय खेल पहिलोपल्ट हेर्ने अवसर पाएँ । यसबाट हामीले धेरै कुरा सिक्नुपर्ने रहेछ । त्यसका लागि प्रयास गर्ने छौं ।’ उनको टिमले सोमबार जर्मनीले क्रोएसियामाथि २२—२१ को रोमाञ्चक जित हात पारेर अन्तिम चारको यात्रा तय गरेको खेल हेरेको थियो । नेपाली ह्यान्डबल दक्षिण एसियाली स्तरबाट माथि उठ्न नसके पनि उनीहरूले विश्व च्याम्पियनसिपको खेलमा नेपाली झन्डा फहराए । स्पेनले ब्राजिललाई हराएको खेलको आनन्द पनि लिएका उनीहरू ढाका टोपी लगाएर एरिना छिरेका थिए ।


को बलियो ?

ह्यान्डबलको २६ औं विश्वकप डेनमार्कको कोपनहेगन, हेनिङ तथा जर्मनीको कोलोन, म्युनिख, ह्याम्बर्ग, बर्लिनमा १० जनवरी, २०१९ मा सुरु भएको हो । यसमा सहभागी २४ देशलाई चार समूहमा विभाजन गरिएको थियो । र, समूहका शीर्ष तीन—तीन टिम उपाधि होडका लागि छनोट हुँदै मुख्य चरणमा पुगेका थिए । मुख्य प्रतियोगिताकै खेल थिए– जर्मनीविरुद्ध आइसल्यान्ड र फ्रान्सविरुद्ध स्पेन । समूहका पुछारका तीन—तीन टिम प्रेसिडेन्ट कपका लागि खेलिरहेका छन् ।


मुख्य चरणमा पुगेका १२ टिमलाई पनि दुई समूहमा बाँडिएको छ । समूह १ मा जर्मनी, फ्रान्स, क्रोएसिया, स्पेन, ब्राजिल, आइसल्यान्डले खेलिरहेका छन् भने अर्को समूहमा डेनमार्क, स्वीडेन, नर्वे, इजिप्ट, हंगेरी, ट्युनिसियाले प्रतिस्पर्धा गरिरहेका छन् । मुख्य चरणको अन्तिम बाँकी छँदा डेनमार्कले शतप्रतिशत जित हात पार्ने एक्लो टिमका रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । फ्रान्स र जर्मनी पनि अपराजित छन् र दुवैले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान पक्का गरे । मुख्य चरणमा समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा अवसर पाउने छन् ।


विश्वकपमा कुल ७० खेल हुँदैछन् । यसमा अहिलेसम्म प्रतिखेल औसत नौ हजार बढीले एरिनामा प्रत्यक्ष खेल हेरेको तथ्यांक अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ) ले सार्वजनिक गरेको छ । फ्रान्स, जर्मनी, डेनमार्क, स्वीडेनलाई उपाधिका दाबेदार मानिएको छ । फाइनल २७ जनवरीमा हेनिङस्थित जेस्की बैंक बोक्सेनमा हुनेछ । त्यसअघि दुवै सेमिफाइनलको प्रतिस्पर्धा २५ जनवरीमा ह्याम्बर्गस्थित बारक्लज एरिनामा हुनेछन् ।

twitter: @rghising

प्रकाशित : माघ ११, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?