२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धूवाँको लत

युवा पुस्ताले भ्यापलाई चुरोटको लत छाड्ने साधनका रुपमा बुझिरहेका छन् । उत्पादकहरु भ्यापले चुरोटले भन्दा कम हानि गर्ने दाबी गर्छन् । भ्याप दाबी गरिएजस्तो सुरक्षित छ कि छैन, त्यो कतैबाट पुष्टि भएको छैन । यो चुरोटको लत छाड्ने साधन हो त ?
नारायण घिमिरे

काठमाडौँ — संसारकै एक कमजोरी बनिरहेको छ– चुरोट, सिँगार र हुक्का सेवन अर्थात् स्मोक ।

धूवाँको लत

यसले निम्त्याएको स्वास्थ्य समस्याले संसारभरि नै मानिसको जीवनयापनको लागत (कस्ट अफ लिभिङ) बढाइरहेको छ । यसको नयाँ विकल्पका रूपमा भित्रिएको छ– भ्याप । यो विकल्प नेपालमा पनि सहजै बनिसकेको छ । नेपालकै अनलाइन स्टोर सर्च गर्दा पनि यसको व्यापकता अनुमान गर्न सकिन्छ । नेपालमा ५ हजारदेखि माथिका भ्यापहरू उपलब्ध छन् ।


विशेषगरी युवा पुस्ताले यसलाई चुरोटको लत छाड्ने साधनका रूपमा अथ्र्याएका छन् । यसका उत्पादक कम्पनीहरू यसलाई चुरोटले भन्दा कम हानि गर्ने दाबी गर्दै आएका छन् । तर, भ्याप दाबी गरिएजस्तो सुरक्षित भने छैन । तर, यो चुरोटको लत छाड्ने साधन हो त ?


फुड फ्लेवरलाई सुर्तीको झोलसँग मिसाएर वा नमिसाईकन उपकरणको सहयोगमा बनाइएको धूवाँजस्तो देखिने कुहिरोलाई अंग्रेजीमा इलेक्ट्रोनिक भ्यापर भनिन्छ । तमाखु पिएजस्तै इलेक्ट्रोनिक भेपरको सेवन गर्नुलाई इलेक्ट्रोनिक भ्यापिङ (छोटकरीमा भ्याप) भन्ने गरिन्छ । भ्यापका लागि बनाइएको सुर्तीको रससहित वा रहितको फ्लेवरको झोललाई जुस वा लिक्विड भन्ने गरिन्छ ।


जुसलाई वाफमा परिवर्तन गर्ने उपकरण विभिन्न थरीका हुने हुँदा प्रकारअनुसार इलेक्ट्रोनिक लाइटर, ई–लाइटर, ई–टर्च, ई–पेन, ई–सिसा, ई–हुक्का, मड, भ्याप किट्स आदि नाम दिइएको हुन्छ । सर्को तान्दा आउने सेताम्मै कुहिरो धूमपानको तलतल मेट्न सहयोगी हुने भन्दै यसको प्रयोग बढ्दो छ । संसारमा जुसको बिक्रीवितरण चुलिएसँगै यो कत्तिको सुरक्षित छ भन्ने सवाल पनि उठ्ने गरेका छन् । यसको उत्तर त्यति सहज भने छैन ।


उत्पादकहरूको दाबी छ, भ्यापमा प्रयोग हुने वस्तु खाद्य पदार्थमा पनि प्रयोग हुन्छन्, त्यसैले यो सुरक्षित छ । भ्यापमा प्रयोग हुने जुस वा लिक्विडमा सामान्यतया उच्च गुणस्तरका कन्सन्ट्रेटेड फ्लेवरको झोल हुने हुनाले तुलनात्मक रूपमा सुरक्षित मानी चुरोट, सिसा (हुक्का) आदि अम्मलको विकल्पका रूपमा संसारभर माग भएको र बिक्रीका लागि अनुमति दिइएको हो । अमेरिकाको खाद्य तथा ड्रग नियन्त्रण नियोग (यूएस–एफडीए) ले ई–भ्यापिङको प्रयोग भर्खरै सुरु भएकाले यो कत्तिको हानिकारक छ भनी यकिन गर्न समय परिपक्व नभइसकेको जनाएको छ ।


जुसमा समेत प्रयोग हुने खाद्य पदार्थमा प्रयोग गर्न अनुमति दिइएका फ्लेवर सामान्यतया खानका लागि सुरक्षित भनी सिफारिस गरिएका कच्चा पदार्थ हुन् । तिनलाई खानामार्फत खाने प्रयोजनका लागि मात्र गरिएका परीक्षणका आधारमा सामान्यतया सुरक्षित भनी प्रमाणित गरिएको हो तर श्वासप्रश्वास प्रणालीमार्फत ई–फ्लेवरको सेवन सुरक्षित छ वा छैन भनी हालसम्म खासै परीक्षण भएको छैन । त्यसैले एफडीएले निकोटिन भएका र नभएका दुवै ई–भ्यापिङ मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चेतावनीसमेत दिएको छ ।


हाल बजारमा भ्यापिङका लागि धेरै प्रकारका ई–भ्यापराइजर पाइन्छन् । प्रथम पटक बनाइएको इलेक्ट्रिकल भ्यापिङ लाइटर चुरोटजस्तै देखिने गरी बनाइएको थियो । तर, यो ‘युज एन्ड थ्रो’ प्रकृतिको भएकाले कालान्तरमा महँगो पर्न गएकाले दैनिक प्रयोगलाई ध्यानमा राखी एकपटक भ्यापराइजर किनेपछि ई–जुस भरेर पटकपटक प्रयोग गर्न सकिने पाइप र विविध खाले ई–भ्यापराइजर बनाइएको हो । यी उपभोक्ताका लागि कसरी सजिलो र किफायती हुन्छ भन्ने मनोविज्ञानमा आधारित डिजाइन हुन् ।


चुरोटका पारखीलाई चुरोटजस्तै गरी पिउन मिल्ने ई–सिगरेट्स पेन, सिसा वा हुक्काका सौखिनलाई ई–सिसा वा ई–हुक्का अनि बिँडी वा सिँगारप्रेमीलाई ई–सिँगारको विकल्प दिई बजारमा उपभोक्ताको रुचिअनुसारको भ्यापराइजर छनोट गर्ने व्यवस्था उपलब्ध गराइएको छ । बजारमा पाइने भ्याप (लाइटरजस्ता डिजाइन वा प्रकृतिमा भए पनि सबैको प्रविधि उस्तैउस्तै छ ।
भ्यापमा भ्यापराइजरको एकातर्फ जुस राखिन्छ भने अर्कोतर्फ तताउने र त्यसलाई स–सानो वाफमा परिवर्तन गर्ने हिटिङ क्वाइलजडित भ्यापराइजर हुन्छ । सर्को तान्दा जुस भ्यापराइजर हुँदै मुखसम्म पुग्ने व्यवस्था गरिएको हुन्छ । जसले गर्दा लिक्विड बाक्लो सेतो कुहिरो धूवाँ बन्छ ।


हिजोआज चुरोट, तमाखु र सिँगारको विकल्पमा भ्यापिङलाई लिने गरिन्छ । सुरुमा निर्धारित मात्राको सुर्तीको रस मिसाइएको (निकोटिन एक्स्ट्रयाक) जुस प्रयोग गरिन्छ । यो विधिमा जुसमा निकोटिनको मात्रा क्रमश: घटाउँदै लगेर अन्त्यमा निकोटिनबिनाको जुस पिउने बानी बसाली सुर्तीजन्य लागूपदार्थ सेवनबाट छुटकारा लिने तरिका अपनाइन्छ ।समग्रमा हेर्दा भ्याप पूर्ण स्वस्थ होइन कि परम्परागतको धूमपानभन्दा कम हानिकारक विकल्प मात्र हो । धूमपानको लत लागेकाहरूलाई डोज घटाउँदै लगेर अन्त्यमा छुटकारा दिलाउने तरिका पनि हो, भ्याप ।


चुरोटमा साँच्चैको धूवाँ मुख र फोक्सोमा पुग्ने तर भ्यापमा वाफ वा भ्यापर मुख हुँदै फोक्सोमा पुग्ने भएकाले सुर्तीको धूवाँका कारण हुने दमलगायतका रोग भ्यापमा तुलनात्मक रूपमा कम हुने मानिन्छ । सामान्यतया सुर्तीको निकोटिनसहित डिजाइन गरिएको जुसमा निकोटिनको मात्रा २० माइक्रोग्राम प्रतिमिलिलिटर राख्ने गरिन्छ । बच्चालाई हानि पुर्‍याउन निकोटिनको मात्रा १० माइक्रोग्राम काफी हुन्छ भने जवानका लागि ३०–६० माइक्रोग्राम प्रतिएमएल ।


यदि भ्यापिङपछि छाती वा घाँटी पोल्ने, चिलचिलाउने वा खोकी लाग्ने लक्षण छ भने त्यो फ्लेवर प्रयोग गर्नु हुँदैन । बजारमा पाइने प्राय: फ्लेवरको फर्मुला गोप्य हुन्छ । भ्यापका पारखीलाई जुस फ्लेवरमा तल दिइएका पदार्थ भएको अवस्थामा सकेसम्म प्रयोग नगर्न संसारभरि नै सल्लाह दिइँदै आइएको छ ।

१) डाइएसिटाइल बटर फ्लेवरमा पाइने कम्पाउन्ड हो । दूधको बटरमा प्राकृतिक रूपमै डाइएसिटाइल हुन्छ । यदि कुनै फ्लेवरमा यो प्राकृतिक रूपमा होइन कि फ्लेवर कम्पाउन्डिङका क्रममा अन्यत्रबाट पछि मिसाइएको छ भने त्यसलाई एडेड डाइएसिटाइल भनिन्छ । एडेड डाइएसिटाइलले फोक्सोलाई हानि गर्छ ।


२) कृत्रिम रूपमा बनाइएको एसिटोइन पनि भ्यापराइजेसन प्रक्रियामा डाइएसिटाइलमा परिवर्तन हुने हुँदा यो पनि प्रयोग गर्नु हुन्न ।


३) कृत्रिम रूपमा तयार पारिएको एसिटाइल प्रोपोनायलको असरबारे मुसामा गरिएको परीक्षण शंकास्पद पाइएकाले यसलाई पनि निषेध गर्नु बुद्धिमानी मानिन्छ ।


४) कौमारिन भन्ने यौगिक क्यासिया, सिनामन र अन्य बिरुवामा पाइन्छ । यसले मिर्गौलामा पार्ने असरका कारण खानामा प्रयोग गर्न प्रतिबन्ध छ । तैपनि यो टोबाको फ्लेवरमा मज्जैले प्रयोग हुने गर्छ र हालसम्म निषेध समूहमा छैन । त्यसैले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।


५) एसिटिक एसिडले आँखा, छाला र श्वासप्रश्वास नलीमा खसखस गराउँछ त्यसैले यो भएको लिक्विड प्रयोग नगर्नु राम्रो हुन्छ ।


६) आफूलाई राम्रो गरिरहेको छैन भने सस्ता भ्यानिला वा भ्यानिलिन प्रयोग गरिएका र फुडका सेन्थेटिक कलर हालिएका जुस पनि प्रयोग गर्नु हुन्न ।


भ्यापको पनि असल र खराब पक्ष छन् । आज भ्याप क्रेज संसारमै असामान्य रूपमा बढिरहेको छ । यसबाट नेपाली बजार पनि अछुतो छैन । संसारभर सुर्तीयुक्त र सुर्तीरहित भ्यापको प्रयोग यति तीव्र बनिरहेको छ कि भविष्यमा चुरोट उद्योगहरूलाई यसले विस्थापित गर्ने अनुमान छ ।

–लेखक क्यानडामा खाद्य वैज्ञानिक हुन् । उनी जुस फ्लेवरको अनुसन्धान र विकासमा संलग्न छन् ।

प्रकाशित : माघ १८, २०७५ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?