कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्लास्टिकबाट “पेट्रोल”

प्लास्टिकबाट तेलचाहिँ कसरी निकालिन्छ ? पाइरोलाइसिस विधिबाट । पाइरोलाइसिस भनेको कुनै एउटा वस्तुलाई तताएर अर्को वस्तुमा रुपान्तरण गर्नु हो । नाष्टसँग पाइरोलाइसिस मेसिन छ जसको काम प्लास्टिकबाट तेल निकाल्नु हो ।
गोविन्द पोखरेल

काठमाडौँ — भारतीय नाकाबन्दीपछि ‘हट केक’ बनेको तेल उत्खनन यतिबेला सेलाएको छ ।

प्लास्टिकबाट “पेट्रोल”

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले प्लास्टिकबाट तेल उत्पादन गर्न सकिने प्रविधिको विकास गरेपछि तेलमा भएको परनिर्भरता केही हदसम्म घटाउन सकिने नाष्टको दाबी छ । खेर गएको प्लास्टिकबाट तेल उत्पादन गर्ने हो भने नेपालमा खपत हुने तेलको ७ प्रतिशत तेल स्वदेशमै उत्पादन गर्न सकिन्छ ।


नाष्टले हालसम्म ४० लिटर तेल प्लास्टिकबाट उत्पादन गरेर देखाएको छ । नाष्टका प्रविधि विभागका प्रमुख एवं वैज्ञानिक डाक्टर रवीन्द्र ढकालको भनाइलाई आधार मान्ने हो भने काठमाडौंबाट दैनिक १२ हजार लिटर इन्धन (डिजेल/पेट्रोल) प्लास्टिकजन्य फोहोरबाट उत्पादन गर्न सकिन्छ । २० टन क्षमताको एउटा प्लान्ट स्थापना गर्ने हो भने दैनिक १२ हजार लिटर डिजेल/पेट्रोलजन्य इन्धन दैनिक रूपमा उत्पादन गर्न सकिन्छ ।


दाँत माझ्ने ब्रसदेखि मुटुमा राखिने पेसमेकर प्लास्टिकबाट निर्मित छन् । प्रयोग गर्न सजिलो, नकुहिने, बाल्दा हानिकारक ग्यासहरू निस्कने भएपछि नाष्टले प्लास्टिकको उचित व्यवस्थापनका लागि अनुसन्धान गरेको हो । प्लास्टिकको झोलालाई सरकारले निषेधित घोषणा र वाग्मती सरसफाइ अभियान क्रममा निकालिएको प्लास्टिक कसरी व्यवस्थापन गर्ने भन्ने विषयले चर्चा पाएसँगै नाष्टले यो काम अघि बढाएको थियो । र, नाष्टले नतिजा निकाल्यो, प्लास्टिकबाट तेल ।


प्लास्टिकबाट तेलचाहिँ कसरी निकालिन्छ ? पाइरोलाइसिस विधिबाट । पाइरोलाइसिस भनेको कुनै एउटा वस्तुलाई तताएर अर्को वस्तुमा रूपान्तरण गर्नु हो । नाष्टसँग पाइरोलाइसिस मेसिन छ जसको काम प्लास्टिकबाट तेल निकाल्नु हो । यो मेसिन मुलुकका स्थानीय तहहरूले प्रयोग गर्न सके स्थानीयस्तरबाटै तेल उत्पादन गर्न सकिन्छ ।


पाइरोलाइसिस मेसिनले अक्सिजनको अनुपस्थितिमा प्लास्टिकलाई पगालिदिन्छ । पाइरोलाइसिसका क्रममा निस्कने ग्यासलाई पाइपको माध्यमबाट संकलन गरी पानीमा लगेर डुबाइन्छ । जसका कारण ग्यास बाहिरी वातावरणमा जान पाउँदैन । सर्वप्रथम रियाक्टरमा प्लास्टिक राखिन्छ । करिब ४५० डिग्री सेन्टिग्रेटको तापमा प्लास्टिकलाई तताइन्छ । तताएको २० मिनेटदेखि आधा घण्टामा वाफ निस्किन सुरु गर्छ । वाफलाई पाइपको माध्यमबाट पानीमा संकलन गरिन्छ । ३५० डिग्री हुन थालेपछि तेल आउन सुरु हुने ढकालले बताए । वाफका रूपमा रहेको तेललाई पानीको सम्पर्क गराइन्छ । तेल पानीभन्दा हलुंगो भएकाले तैरिन्छ । अनि २ देखि ३ घण्टामा तेलको एउटा तह बनिन्छ । त्यसपछि तेल निकालिन्छ ।


नाष्टसँग दुईवटा पाइरोलाइसिस मेसिन छन् । एउटा जापानको इको पार्टीले प्रदान गरेको र अर्काे ३० लाखको लागतमा चीनबाट खरिद गरेर ल्याएको । सानो मेसिनले १ केजी क्षमताको र ठूलो मेसिन १० केजी क्षमताको । मेसिनहरूमा प्लास्टिकबाट उत्पादित तेल नै प्रयोग हुने गरेका छन् । तेल उत्पादनका लागि प्रयोग गरिने मेसिनले उत्पादित तेलको ४० प्रतिशत इन्धन आपैंm खपत गर्ने ढकालले बताए ।


नाष्टले प्लास्टिकबाट उत्पादित तेल नेपाल आयल निगमको प्रयोगशालामा लगेर परीक्षण गरिसकेको जनाएको छ । निस्किएको तेल फर्नेस तेलभन्दा धेरै गुणा राम्रो देखिएको छ । उद्योगहरूलाई फर्नेस तेलको विकल्पमा प्लास्टिकबाट निकालिएको तेल प्रयोग गर्न नाष्टले सुझाव दिएको छ । यो तेल भारतबाट ल्याइएका फर्नेस तेलभन्दा सस्तो र गुणस्तरीय रहेको नाष्टले जनाएको छ ।


नाष्टले यो प्रविधि मुलुकका सबै स्थानीय तहरूमा हस्तान्तरण गर्न चाहेको छ । नाष्टले मुलुकका विभिन्न स्थानीय तहहरूमा खेर गएको प्लास्टिकबाट तेल उत्पादन गर्ने प्रविधिको प्रयोग गर्न आग्रह गरेको छ । निजी क्षेत्रसँगको साझेदारीमा यो कार्य सम्भव भएको नाष्टले जनाएको छ । ४ करोड खर्चिएर ५ टन प्लास्टिक अट्ने क्षमताको ‘पाइरोलाइसिस’ मेसिन ल्याउने हो भने दैनिक ६ हजार लिटर तेल उत्पादन गर्न सकिन्छ ।


सबैखाले प्लास्टिकबाट तेल उत्पादन गर्न सकिँदैन । प्लास्टिक बन्ने तत्त्वको आधारमा प्लास्टिक ७ प्रकारका हुन्छन् । हामीले प्रयोग गर्ने पानीको बोतल र पाइपहरूमा प्रयोग हुने प्लास्टिकबाट तेल निकाल्न सकिँदैन । यस्ता प्लास्टिकहरू पुन: प्रयोग गर्न सकिन्छ । पोलिइथिलिन, पोलिथिनका झोलाहरू, पोलिप्रोपाइलिन, पोलिस्टिरनजस्ता प्लास्टिकहरूबाट तेल उत्पादन गर्न सकिन्छ ।


नाष्टले प्रदेश नम्बर ३ मा मात्रै वार्षिक २ अर्ब रुपैयाँ प्लास्टिकबाट उत्पादित तेल बेचेर आम्दानी गर्न सकिने दाबी गरेको छ ।

[email protected]

प्रकाशित : माघ १८, २०७५ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?