कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महँगा स्मार्टफोन हतार नगरौं

हेलो शुक्रबार

काठमाडौँ — महँगो स्मार्टफोनको अर्थ हो, अहिलेको समयमा सबैभन्दा चल्तीका फिचर वा प्रविधि भएको मोबाइल ।

देखाउनका लागि मात्रै होइन, आफ्ना लागि काम लाग्ने फिचर भएकाले पनि उपभोक्ताहरु हजारौं रूपैयाँ खर्चेर स्मार्टफोन किन्छन् । यसमा कुनै व्यक्तिविशेषका लागि उपयोगी फिचरहरु हुन्छन् । केहीलाई स्मार्टफोनलाई डेस्कटपमा जोडेर कम्प्युटर जसरी चलाउने फिचर मनपर्छ भने केहीलाई महँगो स्मार्टफोनमा रहने क्यामराको नयाँ प्रविधि मन पर्छ ।


नेपालमा पनि चल्तीका सबै ब्रान्डमा महँगा स्मार्टफोन उपलब्ध छन् । तर, साँच्चिकै बजारमा चल्तीका स्मार्टफोनमध्ये सबैभन्दा महँगो बोक्ने रहर छ भने अहिले नहतारिँदा राम्रो हुन्छ । सम्भवत: अबको स्मार्टफोनले रुप फेर्ने बेला भएको छ । फाइभजी प्रविधि, फोल्डेबल फोन र एआईको विकासमा दिनानुदिन प्राप्त सफलताले निकट भविष्यमा आउने स्मार्टफोनहरु साँच्चिकै फरक अनुभूति दिने खालका हुने अनुमान छ ।फेब्रुअरी अन्तिम साता स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा विश्वभरका स्मार्टफोन निर्माताले आफ्नो क्षमताले भ्याएसम्मका नयाँ स्मार्टफोन सार्वजनिक वा घोषणा गर्नेछन् । उक्त अवसरमा सामसुङले आफ्नो ग्यालेक्सी एसटेन, एचडीएमआई ग्लोबले नोकिया प्योरभ्युसहित हुवावे र ओप्पोले समेत नयाँ स्मार्टफोन सार्वजनिक गर्नेछन् ।आखिर महँगा स्मार्टफोन केही महिनामै त्योभन्दा उत्तमखाले स्मार्टफोन भित्रियो भने पक्कै पनि रमाइलो लाग्दैन । अहिले महँगा स्मार्टफोन किन्न हुन्न भन्ने केही कारण :


क्वालकमको नयाँ प्रोसेसर


प्रोसेसर स्मार्टफोनको आत्मा हो । अहिले चल्तीका अधिकांश स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८४५ प्रोसेसर प्रयोग गरिएको छ । अहिले सबैभन्दा महँगा मानिएका ग्यालेक्सी एस नाइन होस् वा वानप्लस सिक्सटी सबैमा यही प्रोसेसर छ । तर, हाइइन्ड फोनका लागि यो प्रोसेसर इतिहास बन्दैछ । क्वालकमले अब स्न्यापड्रयागन ८५५ चिपसेट सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । क्वालकमको नयाँ चिपसेट पर्फर्मेन्स, ब्याट्री बचत र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगका हिसाबले उन्नत हुने अनुमान छ । यो सन् २०१९ मा सार्वजनिक हुने केही महँगा स्मार्टफोनमा प्रयोग हुनेछ । यसले फाइभजी प्रविधिलाई पनि सपोर्ट गर्नेछ । यसबाहेक स्क्रिनमा हुने फिंगर प्रिन्ट, उच्चकोटिका क्यामेरा र मोबाइलमा खेलिने गेमका लागि पनि यो चिपसेट लाभदायी हुनेछ । महँगा मोबाइलमा प्रयोग भइरहेको प्रोसेसर नै अपडेट हुने भएपछि अघिल्ला स्मार्टफोन प्रयोगकर्ताको रुचिकर नहुन सक्छ ।


क्यामेरा प्रविधि


राम्रो क्यामेराका लागि महँगा स्मार्टफोन किन्नेले पनि केही समय कुर्नु राम्रो हुन्छ । २०१९ को मध्य वा त्यसपछि सार्वजनिक हुने स्मार्टफोनमा ४८ मेगापिक्सेल र सुधारिएको क्यामेरा सेन्सर सामान्य बन्दै जाने अपेक्षा छ ।अहिले नै भ्युट्वान्टी, रेडमी नोट सेभेनजस्ता स्मार्टफोनमा ४८ मेगापिक्सेलको क्यामेरा प्रयोग हुन थालिसकेको छ । तर, सन् २०१९ को मध्यतिर मध्यम मूल्यका फोनमा पनि बढी मेगापिक्सेल र उच्चकोटिको क्यामरा सेन्सर प्रयोग बढ्नेछ जसका कारण क्यामराको लागि मात्रै महँगो मूल्य तिर्नुपर्ने बाध्यता नहुन सक्छ । साथै, यसै वर्ष प्रयोग हुने महँगा मूल्य पर्ने स्मार्टफोनमा फरक–फरक प्रयोजनका लागि उपयोगी हुने भिन्न ४ वा ६ वटासम्म रेअर क्यामरा पनि प्रयोग हुने अपेक्षा गरिएको छ ।


फाइभजी रेडी स्मार्टफोन


एप्पलले आइफोनमा अझै एक वर्ष फाइभजी सपोर्ट गर्ने प्रविधि नहुने घोषणा गरिसकेको छ । तर, एप्पललाई पछि पार्ने होडमा अन्य ब्रान्डहरू तल्लीन छन् । यही वर्ष फाइभजी फोन बजारमा ल्याउने अपेक्षा गरिएको छ । यसमा वानप्लस, साओमी र सामसुङ अघि हुन सक्ने अनुमान गरिएको छ । फाइभजी प्रविधि अहिले परीक्षणको प्रारम्भिक चरणमा रहे पनि सुरुवाती अवस्थामै फाइभजी फोनको अनुभव लिन चाहनेले अहिले नै महँगो स्मार्टफोनमा लगानी गर्दा पछुताउनुपर्ने हुन सक्छ । फाइभजी नेटवर्क नभए पनि फाइभजी रेडी स्मार्टफोनले फोरजीको नेटवर्कमा पनि फरक अनुभूति गराउन सक्छ ।

फोल्डेबल फोन


फोल्डेबल फोनको चर्चा हुन थालेको धेरै वर्ष भए पनि सामसुङले सन् २०१८ मा प्रोटोटाइप फोल्डेबल फोन सार्वजनिक गर्‍यो । तर, यसको व्यापारिक संस्करण २०१९ देखि विश्वव्यापी हुने अनुमान छ । सामसुङसहित हुवावे, ओप्पो र साओमीले पनि फोल्डेबल फोन बजारमा पठाउने तयारी गरेका छन् । तर, फोल्डेबल फोन साँच्चिकै प्रयोगकर्ताका लागि उपयोगी हुने र उपभोक्ताले मन पराउँछन् भन्नेमा शंका छ । किनकि अहिलेसम्म सार्वजनिक भएको डिजाइन हेर्दा यसले प्रयोगकर्तालाई आकर्षित गर्छन् जस्तो लाग्दैन । तर, फोल्डेबल फोनको उत्सुकता र कौतुहलता भएकालाई यो बजारमा आउनासाथ किन्न मन लाग्न सक्छ ।


आर्टिफिसियल इन्टेलिजेन्स


गुगलले गत वर्ष सार्वजनिक गरेको आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण एन्ड्रोइड पाईमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई प्राथमिकता दिएको छ । एन्ड्रोइड पाइका प्रयोगकर्ताहरूले एड्याप्टिभ डिस्प्ले, ब्राइटनेस र प्रयोगको अवस्थाअनुसार कार्यक्षमता घटबढ हुनेजस्ता सुविधा पाइरहेका छन् । यो वर्ष गुगलले एन्ड्रोइड क्यू सार्वजनिक गर्ने अपेक्षा छ । त्यसमा आर्टिफिसियल इन्टेलिजेन्सको रूप झन् सुधारिन्छ भन्नेमा शंका छैन ।यो उदाहरण मात्रै हो, साओमी, ओप्पो, हुवावेजस्ता ब्रान्डका स्मार्टफोनमा एआई अभिन्न बन्न थालेका छन् । यस्ता स्मार्टफोनको क्यामराले अवस्थाअनुसार सेटिङ परिवर्तन गर्ने, दृश्य पहिचान गर्नेजस्ता स्वचालित काम गर्न थालिसकेका छन् । सन् २०१९ मा सार्वजनिक हुने औसत वा महँगा मूल्यका स्मार्टफोनमा यो फिचर थप सुधारिएर आउने अपेक्षा छ ।

[email protected]


प्रकाशित : फाल्गुन ३, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?