३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छद्म पोर्न

कान्तिपुर संवाददाता

काठमाडौँ — इमा वाट्सन, केटी पियरी, टेलर स्विफ्ट, स्कार्लेट जोहान्सनजस्ता चर्चित सेलेब्रिटीका पोर्न भिडियो इन्टरनेटमा छ्याप्छ्याप्ती भेटिन्छन् । तर, ती वास्तविक होइनन्, डिपफेक प्रविधि प्रयोग गरी निर्माण गरिएका हुन् ।

छद्म पोर्न

एक पोर्न भिडियो सुरु हुन्छ । एकजना युवती सरासर कोठाभित्र पस्छिन् । कोठामा एक अधबैंसे पुरुष पहिले नै बसिरहेका हुन्छन् । ती दुईबीच कामुक क्रियाकलाप सुरु हुन्छ । यस्तै क्रिया अगाडि बढिरहँदा दर्शकले आनन्द त उठाउँछन् । तर, त्यसमा प्रयोग भएको एक प्रविधिको मेलोमेसो भने कमैले मात्र पाउँछन् ।


इन्टरनेटमा अचेल भेटिने अधिकांश पोर्न भिडियो सक्कली हुन्छन् । तर, तिनमा प्रयोग भएका अनुहार भने सक्कली नहुन सक्छन् । कसैको शरीरमा अरू नै कसैको अनुहार ल्याई जोड्ने र यस्ता भ्रामक भिडियो बनाउने यस प्रविधिलाई ‘डिपफेक’ नाम दिइएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्गत पर्ने जेनरेटिभ एडभर्सियल नेटवर्क (जीएएन) प्रविधि प्रयोग गरी यस्ता भिडियो उत्पादन गर्न सकिन्छ ।


सन् २०१७ मा अमेरिकी विमर्श वेबसाइट रेडिटमा स्टार वार्सकी एक अभिनेत्री डेजी रिड्लेको नक्कली पोर्न भिडियो सार्वजनिक भएपछि डिपफेकमाथि मानिसको रुचि बढ्न थालेको हो । त्यसको केही समयपछि वन्डर वुमनकी अभिनेत्री ग्याल गदोट र उनका भाइबीच यौन क्रियाकलाप देखाइएको एक भिडियोले त इन्टरनेटमा एक प्रकारको तहल्का नै मच्चायो ।


इमा वाट्सन, केटी पियरी, टेलर स्विफ्ट, स्कार्लेट जोहान्सनजस्ता चर्चित सेलेब्रिटीका यस्ता भिडियो अहिले इन्टरनेटमा छ्याप्छ्याप्ती उपलब्ध छन् । तर, ती वास्तविक होइनन्, डिपफेक प्रविधि प्रयोग गरी निर्माण गरिएका हुन् । ‘क्याप्टेन अमेरिका’, ‘लस्ट इन ट्रान्सलेसन’ जस्ता चलचित्रबाट ख्याति कमाएकी स्कार्लेट जोहान्सन यस विषयमा खुलेर बोल्नेमध्येमा पर्छिन् । सुरुमा आफूलाई त्यस्ता भिडियोले मानसिक रूपमा असर पारे पनि विस्तारै त्यसतर्फ आफूले ध्यान दिन छोडेको अभिव्यक्ति उनले दिएकी थिइन् । तर, सबैले यी वास्तविक हुन् भन्ने नबुझिदिनाले कतिमा भने यसले समस्या पनि पैदा गर्न सक्ने उनको ठम्याइ छ ।


सन् २०१८ को जनवरीमा ‘फेक एप’ नामको डेस्कटप एप्लिकेसन आयो । एक व्यक्तिको अनुहार अर्काको शरीरमा जोडी छद्म भिडियो निर्माण गर्न यसले धेरै हदसम्म सहज बनायो । एआईको टेन्सरफ्लो नामक फ्रेमवर्कमा निहित रही कार्य गर्ने यस एप्लिकेसनले प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको अनुभूति त गरायो, तर यसको प्रयोगको सिकार भएका व्यक्तिलाई भने चरित्र हत्याको प्रत्याभूति गरायो ।


रंगकर्मीमात्र होइन, राजनीतिज्ञ पनि डिपफेकको सिकार बनेका छन् । जर्मनीकी शीर्षस्थ राजनीतिज्ञ एन्जेला मेर्केलदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिल्यै नदिएका भाषण उनीहरूको अनुहार प्रयोग गरी बनाइएका छन् । केलाई आधिकारिक र केलाई छद्म मान्ने भनी यसले चिन्ता पैदा गरेको छ ।


डिपफेक प्रयोग गरी बनाइएका भिडियोहरूको संख्या दिनदिनै बढ्दै गइरहेका हुनाले सामाजिक सञ्जाल ट्वीटरले त्यसमाथि अंकुश लगाउन त्यस्ता भिडियो हटाउने र ती पोस्ट गर्ने अकाउन्टलाई समेत ब्लक गर्ने जनाएको छ । अर्को एप्लिकेसन ‘डिस्कर्ड’ ले कुनै संवादमा यस्ता भिडियो भेटे ती संवाद नै बन्द गरिदिन्छ । सबैभन्दा ठूलो पोर्नोग्राफी वेबसाइट पोर्नहबले यस्ता भिडियो हटाउने प्रतिबद्धता बारम्बार जनाइरहे पनि अहिलेसम्म त्यो पूरा गर्न नसकेको आरोप छ । सन् २०१८ को सेप्टेम्बरमा गुगलले आफ्नो प्रतिबन्धको सूचीमा यस्ता भिडियोलाई राख्यो जसपश्चात् जोकोहीले पनि यस्ता भिडियो भेटेका खण्डमा रिपोर्ट गर्ने प्रावधान भित्रियो ।


फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उपलब्ध हुने कसैको फोटोको चरम दुरुपयोग गरी बनाइने यस्ता भिडियो प्राय: महिलामाथि केन्द्रित हुन्छन् । सूक्ष्मभन्दा सूक्ष्म विवरणको ख्याल राखी बनाइने यस्ता भिडियो वास्तविक होइनन् भनी किटान गर्न जोकोहीलाई पनि गाह्रो हुन्छ ।


प्रकाशित : फाल्गुन ३, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?